आश्विन १९, २०७२- भदौ २३ देखि सुरु हुने स्नातकोत्तर अन्तिम वर्षको परीक्षाका लागि राजधानीसम्म कसरी पुग्ने चिन्ताले गाँजिसकेको थियो । विराटनगरमा प्रस्तावित संविधानविरुद्ध आन्दोलन चर्किंदै गईरहेकोले कुन बेला र के हुने टुंगो नरहेकोले मेरो मनोदशा अस्थिर थियो । यहाँदेखि कुनै पनि रात्री वा दिवाकालीन बस नचलेकोले विमान चढ्नै पर्ने बाध्यता थियो । जीवन भरीको कमाईको मुख्य भाग खर्चेर उमेरले ४० कटेपछि आम सञ्चार तथा पत्रकारिता विषय पढ्ने धोको राखेको हुनाले जाँच नदिई सुख्खै थिएन ।
केही निकट मित्रले गीता पढ्ने उमेरमा ‘पत्रकारिता किन पढ्नु पर्यो त ?’ भनेर कटाक्ष पनि गरिरहे । तर, दुई वर्षदेखि गीता र पत्रकारिताको अध्ययनसँगै गरिएको हुनाले यस्तो कठिन घडीमा पनि आत्मबल कायमै थियो । अन्तत: सहकर्मीहरुको सहयोगले सरकारी विमान सेवाको सबभन्दा सस्तो टिकट पाउन साता दिन अगाडीदेखि कसरत गर्न थालियो । धेरैले उड्नै टुंगो नभएका सरकारी हवाइजहाजको टिकट नकाट्न सुझाव दिए । निजिक्षेत्रबाट सञ्चालित विमान सेवाको महंगो टिकट खरिद गर्ने आँट आइरहेको थिएन ।
तुलनात्मक रुपमा सस्तो भनिएको नेपाल एयरलायन्सको टिकट बुकिंग गर्न पनि मलाई हम्मे परिरहेको थियो । आफन्तबाट ऋण काढेरे विमान चढ्न गइरहेको थिएँ ।
लामो प्रतिक्षापछि बडो मुश्किलले काठमाडौं जानलाई १९ भदौंको टिकट पाइयो । विहान ९ बजेको उडान थियो । विमानस्थलसम्म कसरी पुगिएला ? भन्ने चिन्ताले रात अनिँदो बित्यो । पेसाले स्वास्थ्यकर्मी भाइसँग गुडाउनसम्म मिल्ने खालको स्कुटी रहेछ । भाईले बिहान ७ बजेतिर हो भन्ने मात्रै पुर्याइदिन सक्छु, दिउसो त निजि सवारी साधनमा समेत लाठा हानिरहेको सुनायो ।
मनमनै ‘हरे कृष्ण, हरे कृष्ण’ भन्दै स्कुटीको पछिल्तिर झोला च्यापेर बसियो । यतिखेर ईश्वरलाई सम्झिने कारण चाहिँ दुइटा थिए, एउटा भाइको स्कुटर जतिखेर र जहाँ पनि बन्द हुने खाल्को छ । अर्को, आन्दोलनकारीले कुरै नसुनी र नबुझीबीच बाटोबाटै फर्काइदिएमा के गर्ने ? जेहोस्, कुनाकुनाको बाटो हुँदै विहान साढे सात बजे विराटनगर विमानस्थल पुगियो ।
झन्डै साढे तीन घण्टाको प्रतिक्षापछि ११ बजे हाम्रो विमान पनि उड्ने घोषणा भयो । भित्र लगेर बसाएपछि त खुशीले गदगद भएँ । बडो मुश्किलले १०/१२ जना अट्ने सानो र चिटिक्क परेको जहाज ठ्याक्कै १ घण्टापछि काठमाडौं विमानस्थल ओर्लन लाग्ने क्रममा तलतिर हेर्दा यहाँको सडकहरुमा मनग्यै गाडीहरु कुदिरहेको देखिए । विमानबाट ओर्लेर बाहिर आएपछि प्रस्थान र आगमन कक्ष बाहिरको मार्गमा सदाझैं लहरै ट्याक्सीहरु थिए ।
उस्तै चहल पहल थियो । विमानस्थल बाहिर आउँदा सडकहरुमा आवागमन सामान्य थियो । बजार मजाले खुलेको थियो । म एकै दिन एकै भूगोलभित्र दुई परिवेश देखिरहेको थिएँ– अशान्त विराटनगर र शान्त काठमाडौं । ट्याक्सीभित्रै परिचय आदान प्रदानको क्रममा चालकले मलाई सोधे, ‘सर, उता त बेहाल छ नि, कसरी हल निस्केला ?’
‘कुनै निश्चित भेषभुषा, भाषा, लवज र रंगमा नअल्झि एक अर्कालाई नेपाली मानी सरकार विश्वासपूर्वक अघि बढेमा केही घण्टामा समस्या समाधान हुन्छ,’ मैंले भनें, ‘छरछिमेकतिर संकेत गर्दै आफ्नै मधेसवासी जनतामाथि शंका गरिरहेमा वर्षौंसम्म यसरी नै मुलुक अस्थिर भइराख्छ ।’
साँझ पख नयाँबानेश्वर चोक पुग्दा बजार, व्यवसाय र आम जनजीवन सहज ढंगले अगाडी बढिरहेको पाएँ । सबैजना व्यस्त देखिए । तराईकै एक मुख्य केन्द्र विराटनगर र मुलुकको राजधानी काठमाडौंबीचको अन्तर केलाइरहेको थिएँ । एक छिन त मलाई पनि लाग्यो की राजधानीकालाई मधेसको पीडासँग मतलब नै रहेनछ । तर, मेरो बुझाई गलत रहेछ । स्थानीयसँग गफ गर्दै जाँदा उनीहरुको चिन्ता प्रष्टै झल्क्यिो । बन्द लम्बिएमा मधेससँग देश पनि ठप्प हुने उनीहरुले भनिरहेका थिए ।
बाहिरबाट हेर्दा यहाँ सबथोक अगाडि बढिरहेको देखिए पनि अधिकांशलाई मधेसमा भइरहेको प्रदर्शन, कलह र हिंसाबारे चासो थियो । परापूर्वकालदेखि नेपाल भूमिसँग जोडिएका यी वास्तविक नेपालीहरुले मधेस विद्रोहको बेला पनि यस्तै चिन्ता प्रकट गरेका थिए । निहित स्वार्थकालागि भारतकै दार्जिलिंग, सिक्किम, असम, मेघालय, मणिपुर र बिहारबाट आएर भर्खरै नेपाली बनेकाको मैले यहाँ कुरा गरिरहेको छैन । न त भुट्टान र म्यानमारबाट भागेर आई राजनीतीक दल खोली मुलुक हाँक्ने दम्भ बोकेका दोहोरो चरित्रका नेताहरुको कुरा गरिरहेको छु । म नेपाली हुँ, यहाँ मात्र नेपालीको कुरा गरिरहेको छु ।
हिजोअस्ति मात्र व्यापार र रोजगारको क्रममा तराई प्रवेश गरेकाहरुले आन्दोलन चर्काएका हुन की भन्ने केहीले राजधानीमा शंका व्यक्त गरे । सीमा जोडिएका कारणले यता, उता र जता विरोध प्रदर्शन भएपनि यस्तो शंका, उपशंका र भ्रम उत्पन्न हुनु वा गराउनु नौलो होइन । ‘यो स्वाभिमानी र देशभक्त मधेसी जनताको आन्दोलन हो, मधेसी दल निमित्त मात्र बनेका हुन्, यसमा भारतीय वा अन्य कुनै विदेशीको संलग्नता देखेको छैन,’ मैले स्थलगत अनुभव सुनाउँदा उनीहरु थोरै भए पनि काठमाडौंको संकीर्ण सोचबाट बाहिरिए । साँच्चिकै भन्दा तराई, पहाड, हिमाल वा उपत्यका जहाँ सुकैका होस्, नेपाली जनता यति कमजोर भइसकेका छैनन् कि आफ्नो भूमिमा भारतीय वा बिहारीले आन्दोलन गरेर बस्दा चुप लागेर बसुन् ।