Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

तिहारमा पोखिएको क्रुर क्यान्सरको पीडा

अत्यन्तै ठूलो पीडा दिएर गए दुई वर्षयताका दशैँ र तिहारले। जमरा पहेँलपुर भएर उमि्रएन, दहीमा टीका राम्ररी भिजेन। मखमली, गोदाबरी, सयपत्री बोटमै ओइलाए, माला बनेन। तिहार त वर्षेनी आउँछन्, आउलान्। तर गलामा प्रेमपूर्वक मखमलीको माला लगाइदिने र दैलोमा ओखर फोडेर जिम भगाइदिने ममताकी खानी मेरी दिदीले ४० वर्षको अल्पायुमै संसार छोडेर गएपछि दुईवर्ष यताका चारवटा दशैँ तिहारमा मनभित्र बत्ती बलेन, अध्यारै भएर गयो। दिदीले छोडेर जानुभएको पनि आज दुई वर्ष बितेछ, तर महिना दिनमात्र पुगेजस्तो पनि लाग्दैन।
 भाग्य वा आयु लेख्छ रे भनिने भावीको कलम पनि कसैकसैलाई त निकै पक्षपाती पो हुँदोरहेछ। सबैलाई किन बराबर नलेख्दोहो उसले? उसले आफ्नै भाग्य वा आयु कस्तो र कति लेख्दो हो? यतिखेर म, मेरा वृद्ध बाआमा, भिनाजु र साना भाञ्जाभाञ्जीलाई परेकोजस्तो पीडाले उसलाई छोयो कि छोएन होला? चराचर जगतलाई समान हुनुपर्ने भनिएको भगवानको न्यायको तराजु पनि यतिखेर हामीलाई किन यस्तो असमान भएको होला? आखिर यी सबै बेदनालाई प्रकृतिको नियमले बाँधिनेरहेछ र आकासै खसेपनि या धर्ती नै भासिए पनि सहेरै बस्नुपर्दोरहेछ।
 
भरतपुर क्यान्सर अस्पतालले रक्त क्यान्सरको आशङ्का गरेपछि दिदीलाई त्यही निहूँले हामीबाट लुटेर लान्छ भन्ने त्रासमा रहेको हाम्रो परिवारले तर यति चाँडै यस्तो अनिष्टको कल्पना भने गरेका थिएनौँ। एउटा सञ्चारकर्मीको रुपमा समाचार लेख्ने वा पढ्ने क्रममा क्यान्सरका पनि विभिन्न ‘स्टेज' हुन्छन् भन्ने सुनेको मैले उक्त अस्पतालमा दिदीलाई उपचारमा संलग्न डाक्टरलाई सोधेको थिएँ। तर मैले मेरो जीवनमा सुन्नु परेको सबैभन्दा रुखो शब्द र हाउभाउमा ती डाक्टरले जवाफ दिए  ‘रगतको पनि केको स्टेज, यो त शिरदेखि पाउसम्म एकैछिनमा पुगिहाल्छ नि।'
 
उनले दिदीकै अगाडि यस्तो जवाफ दिएपछि मैले मनथाम्न सकिन र अनुरोध गरेँ –यहाँले पढ्नुभएको चिकित्सा विज्ञानको शब्दकोशमा बिरामी र तिनका आफन्तसँग बोल्ने नरम र सान्त्वनायुक्त शब्द पनि थिए कि डाक्टर साहेब? प्राय त्यस अस्पतालमा अन्यत्रबाटै बिरामी ‘रेफर' भएर जान्छन्। भरतपुर क्यान्सर अस्पतालको गेटबाट भित्र छिर्ने प्रायः सबै बिरामी आफ्नो जीवन र मानौ कि संसारदेखि नै हारेर आएका जस्ता नै हुन्छन्।  तर ती चहराइरहेका मनलाई मलम लगाउने बोली त्यहाँका चिकित्सकहरूबाट बिरलै सुन्न पाइन्छ। चिकित्सा विज्ञान पढाई महँगो र चिकित्सकलाई पैसा छाप्ने मेसिनको रुपमा नेपाली समाजले नै प्रस्तुत गरेर होला हिजोआज चिकित्सक र बिरामीबीचको सौहार्दता र भावनाको स्थान पनि पैसा र मेसिनले नै लिइदिएको छ। चिकित्सा पेसा समाजको बिलासी वस्तुका रुपमा विकसित हुँदैजाँदा बिरामीसँगको सुमधुर बोलीले बिरामीको आधाआधी रोग निको हुनसक्छ भन्ने विश्वास चिकित्सकमै घटदै जान थालेको आभास हुन्छ। तर मेरी दिदी कौशिलाको उपचारमा संलग्न भई तीन वर्ष आयु तन्काउने काममा खटिनु भएका चिकित्सकहरुको मेहनतलाई मैले हृदयदेखि नै सम्मान गरेको छु।
 
निःसन्तान हुनुको भन्दा सन्तान गुमाउँदाको पीडा बढी असह्य हुँदोरहेछ। दुईवर्षयतादेखि शोकमा डुबेकी मेरी आमाको छटपटिले मलाई त्यो आभास भइरहेको छ। सानी भाञ्जी सबिनाको रुवाईको पीडा त अहिलेसम्म नेपाली शब्दकोशमा रहेका कुनै पनि शब्दले व्यक्तगर्न सम्भव छैन। यो देख्दा लाग्छ मेरी दिदी जस्तै अल्पायुमै संसार छोडेर जाने प्रियजनहरुका आमाबुबाले कसरी रात काटिरहेका होलान? तिनका लालाबालाहरूलाई ममतामयी मातृत्व बिर्सन कति कष्ट सहनु परिरहेको होला? हो, क्यान्सर साँच्चिकै यो धर्तीको सबैभन्दा क्रुर र पीडादायी हुँदोरहेछ।
 
यो क्रुरताको मात्रा नेपाली समाजमा हिजोआज निकै बढेको आभास पनि भइरहेको छ। यसको शिकार बनेका व्यक्तिको संख्या केही वर्षयता निकै धेरै मात्रामा आइरहेको सुनिन्छ। यसको सङ्क्रमण र बिमार फैलाउने कीटाणुको मापन गर्ने प्रविधि आधुनिक चिकित्सा विज्ञानसँग भएपनि त्यसले बिरामी र उनका आफन्तलाई दिने पीडाको मापन गर्ने मेसिन भने यो संसारमै कतै पाइँदोरहेनछ। त्यसैले मेरी आमा अहिले मृत्युसँग प्रश्न गरिरहनुभएको छ– कालको मानिस छनोटको आधार केहो हो भनेर। मेरी दिदीलाई अल्पायुमै क्यान्सरको निहूँ पारेर लाने मृत्युलाई उहाँले अविवेकी, अज्ञानी, अबुझ र निर्दयी भनिरहनुभएको छ। मृत्यु जस्तो क्रुर, परपीडक र कठोर वस्तु यस संसारमा अरु केही रहेनछ।
 
लामो समयसम्म नेपालको दुर्गम जिल्लामा बसेर गरिब नेपालीको स्वास्थ्य सेवामा समर्पित चित्रप्रसाद वाग्ले चिकित्सक स्वयम्लाई लग्यो क्यान्सरले। वाग्लेलाई अरु १० वर्ष यो घातक सङ्क्रमणले नछोइदिएको भए गाउँघरका सयौ बिरामी मृत्युको मुखबाट जोगिने थिएहोला। मृत्युले अर्का स्रष्टा जगदिश घिमिरेको दरिलो आत्मबललाई पनि यसै महिना घुँडा टेकाएरै छोड्यो। क्यान्सरको किटाणुसँग जुधिरहेका नेपाली नागरिकका पे्ररणाका रुपमा जिउनुभएको थियो उहाँ। आत्मबलले जस्तोसुकै रोगलाई पनि जित्न सक्छ भन्ने उहाँको ‘अन्तरमनको यात्रा' कृति मेरी दिदीका लागि पनि केहीसमय आयु तन्काउने सहारा बनेको थियो। उहाँहरुको यात्राको पन्ध्र दिनको मात्र फरक पर्‍यो। नत्र आजसम्म बाँचिरहनु भएको भए घिमिरेको निधनले मेरी दिदीको आत्मबल पनि निकै घटाउँथो होला? अन्ततः रोगलाई जित्ने उहाँको आत्मबललाई पनि क्यान्सरले जितेरै छाड्यो। अरु १० वर्ष मात्र जगदिश दाईलाई यसले नलगिदिएको भए उहाँको अन्तरमनले नेपाली साहित्यमा कति लामो यात्रा गर्थ्यो होला?
 
लक्ष्मीप्रसाद देवकोटा जस्ता महामानवलाई ५० वर्षमै लिएर जाने मृत्यु र उसको सहयोगी क्यान्सरको कठोरताको झन के कुरा गर्नु! साहित्यक लेखनमा संसारमै उचाई ग्रहण गर्ने यात्रामा अघि बढिरहँदा उहाँको त्यो अलौकिक र तेजिलो तागतलाई छुन कत्तिपनि डर र लाज नलागेको क्यान्सरलाई? क्यान्सरबाट उहाँको निधन र असह्य भएर प्राणत्यागका लागि आर्यघाटमा लगेको बेला समेत बिदाई भेटका लागि पुगेका साथीहरूसँग देवकोटाले रुँदै मलाई विष ल्याइदेउ न भनेर गरेका अनुनयका समाचारहरु पनि कात्तिक महिनामा निकै छाउछन्। यसले पनि देखाउछ क्यान्सरको कठोरता।
 
उहाँलाई अरु १० वर्षमात्र नलगिदिएको भए नेपाली साहित्यले लाग्छ संसारै चुम्थ्योहोला। हामी भाषा र साहित्यमा संसारकै कति धनी हुन्थ्याँै होला? मान्छे रोज्ने मापदण्ड नै नहुँदा यो मृत्यु थप बेइमान र कठोर बन्दै गएको छ। यससँग कुनै दया र भावना नै छैन। त्यसैले यसले मानिसलाई सजिलै लान सकियोस भनेर क्यान्सर जस्तो घातक सङ्क्रमणको सहारा लिन थालेको आभास हुन्छ। नेपालमा पनि यसको सङ्क्रमणमा डरलाग्दो मात्रामा वृद्धि भइरहेको छ। त्यसैले क्यान्सरको सङ्क्रमण भइसकेपछि यसको रोकथाम खोज्नु भन्दा पनि रोग लाग्न नदिने चेतनालाई जनस्तरमासम्म पुर्‍याउने काममा सरकारका स्वास्थ्य कार्यक्रम लक्षित हुनु जरुरी छ। चिकित्सकहरूले आफूकहाँ आउने हरेक बिरामीलाई कम्तीमा पनि १ मिनेट समय क्यान्सर र यसको रोकथामका लागि दिन सकेमा मृत्युको पीडाबाट मेरीदिदीजस्ता यस देशका नागरिकले अल्पायूमै जानुपर्ने थिएन होला। 
 
यी बिपी कोइरालालाई लाने निहुँ पनि कालले क्यान्सर नै रोजेको थियो। असल मान्छेलाई चाँडै लानुपर्दा उसले उहिलेदेखि नै क्यान्सरको सहारा लिने गरेको देखिन्छ। मैले २०४८ सालमा एसएलसी परीक्षा दिएर बसेपछि बिपी कोइरालाका कथा र उपन्यास पढ्ने अवसर पाएँ। त्यसताका परीक्षाफल निस्किएर कलेज भर्ना हुनलाई अगभग वर्षदिन नै लाग्दथ्यो। त्यस बाल मस्तिष्कले त्यसै बेलादेखि बिपीलाई एउटा राम्रा साहित्यकारका रुपमा मनन गरेँ। त्यसैले मेरो घरमा उनको तस्बिर लक्ष्मीप्रसाद देवकोटासँग एक साहित्यिक व्यक्तिका रुपमा रहेको छ। यी स्रस्टाहरुलाई यसले अल्पायूमै यसरी चुँडेछ। कति अज्ञानी र अबुझ बनेको होला मृत्यु! देवकोटाजस्ता महान् र अद्वितीय प्रतिभालाई नडराई छुनसक्ने कति कठोर होला त्यो क्यान्सर नामको मुटु? संसारको ठूलो अद्वितीय प्रतिभामा गनिएका उनलाई कसरी नडराई र लाजै नमानी छुन सकेको होला? देवकोटालाई अरु १० वर्षमात्र नछोइदिएको भए हाम्रो नेपाली साहित्यले संसारकै उचाइ चुम्नसक्थ्यो।
 
 
हो, साँच्चिकै अविबेकी क्यान्सर। लाज, डर, ज्ञान केही नभएको। हुनत यिनै दुई महामानवलाई हेरेर यसो मन भुलाउने प्रयास गरिरहेछौँ। तर त्यही अवस्था पनि रहेन हामीलाई त। दिदीले त ४० औँ जन्मदिन मात्र मनाउन पाउनुभयो। आमाको मायाको पूरै अनुभूति नै गर्न सकेनन् भान्जीहरु। अरु कयौँ तिहारहरु बाँकी रहे मेरा। छोटो दाम्पत्य जीवनमात्र भोग्न पाउनु भो भिनाजू। बुढेसकालको सहारा लिनै पाउनुभएन बाआमाले।
 
मेरा यी स्मृतिहरु पनि अब पीडाका खत भएर बस्नेछन्। यी खतमा सायद बस्ने छैनन् खाटा र ओभाउने छैन घाउ। साँझ बिहान चहराइरहेछ र यो जीवनभर नै चहराइरहने छ। दसैँ तिहारताका अझै बल्भि्कने छ यो घाउ र झन बढी पोल्नेछन्। पीडा भुल्न मिल्ने ओखती यो धर्तीमा बनेको भए सहजै किनेर सेवन गर्नुहुन्थ्यो। तर अहिलेसम्म बनेको औषधिले घाउ सुकाउँदैन, बेदना बिर्साइदिँदैन। मनभित्रभित्रै गुम्सिन्छ, हावा खेल्न पाउँदैन र भकभकी पाक्छ। जति धेरै पाक्छ त्यति नै ठूलो ठाउँ लिन्छ यो घाउले मनमित्रै। वनमाराले जेलेझैँ जेल्छ भित्रभित्रै।
 
त्यो बनमारा र यो पीडा हो मनमारा। यसपालिको तिहारमा पनि देश उज्यालो भएको छ, झिलझिला बत्तीहरु बलेका छन्। तर मेरो मनले मेरी दिदीको अभावमात्र भोगिरहेको छ। तिहार त बर्षेनी आउला, आउछ। तर त्यसले मेरो मनका घाउहरु झन बल्झाएर छोड्छ। मेरा बृद्ध आमाबालाई अल्पायूमै आफ्नो सन्तान गुमाउनुपर्नाको पीडालाई झन उधिनेर छोडिदिन्छ। अनि यतिबेला सम्भि्कन्छु देशैभरि आफ्ना दिदीबहिनीलाई अल्पायूमै गुमाएका कैयौँ दाजुभाईहरु पनि त मजस्तै खिन्न मनले उज्यालो बत्ती बालिरहेका होलान्? जे होस, दिदीबहिनी र दाजुभाईबीचका ममताको यो तिहारमा सबैलाई शुभकामना छ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/