Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

ओलीको कडा प्रहार : भारतीय व्यवहार अकल्पनीय र अमानवीय

फोटो :देशवासीलार्इ सम्बोधन गर्दै प्रधानमन्त्री ओली । तस्बिर : उमा विष्ट 
आइतबार बेलुका देशबासीको नाममा सम्बोधन गर्दै ओलीले  भने, 'अहिलेको एक्काइसौं शताब्दीमा पनि एउटा सार्वभौम राष्ट्रले संविधान जारी गर्दा नाकाबन्दी सामना गर्नु पर्ला भनेर कल्पना पनि गरिएको थिएन।तर अहिले अकल्पनीय पीडा भोग्नुपरेको छ।'
 
ओलीले लोकतान्त्रिक विधिबाट उत्कृष्ट संविधान बनाउँदा नाकाबन्दीजस्तो अकल्पनीय पीडा भोग्नुपरेको बताउँदै भने, 'युद्धका बेला पनि नहुने संकट अहिले नेपालले बेहोर्नुपरेको छ।'

प्रधानमन्त्रीले देशवासीलार्इ गरेको सम्बोधन सुन्नुहोस्
ओलीले दक्षिणी सिमामा भएको नाकाबन्दीले स्वतन्त्र राष्ट्रको पञ्चशीलको सिद्धान्त भूपरिपवेशिष्ठ राष्टको पारवाहन सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनको उलंघन भएको बताए। उनले अघोषित नाकाबन्दी अन्त्य गरेर युगौंदेखिको दुईदेशबीचको सम्बन्धमा प्रतिकुल असर नपार्न भारतीय पक्षसँग आग्रह गरेका छन् ।
 
न्यूनतम मानवीयता पनि देखाइएन
उनले दसैंतिहार र छठजस्ता चाडपर्वका बेला पनि इन्धन र दैनिक उपभोग्यवस्तुहरुको आपूर्ति रोकेर भारतीय पक्षले अमानवीयता प्रदर्शन गरेको आरोप लगाए। उनले भने, चाडपर्वमा पनि जनताको चुल्हो बाल्न र सद्भाव आदान प्रदान गर्न पाएनन्। यस्तो जटिल अवस्थामा पनि जनताले देखाएको सुझवुझ र सहनशीलता प्रति सम्मान प्रकट गर्दछु ।'

उनले भने, नाकाबन्दी लगाएर औषधीजस्ता अति आवश्यक वस्तुहरुको आपूर्ति पनि रोकियो। न्यूनतम मानवीयता पनि देखाइएन। उनले व्यापार संहिताको सामान्य सिद्धान्तको पनि भारतले  उलंघन भएको उनले बताएका छन्।
 
भारतले आयात निर्यात अवरोध गर्दा नेपालमा गम्भीर मानवीय संकट उत्पन्न भएको बताउँदै भने, इन्धन औषधिसहितका ट्रक भारतीय सीमामा रोकिएका छन् । 
 
रगत संकलन गर्ने प्याकेटको कमीले सुत्केरी र सल्यक्रिया गर्ने विराममी जोखिममा छन् । पोषणयुक्त खानको अभावमा बालबालिकाको जीवन खतरामा परेको छ । अस्पताल नै बन्द हुने अवस्था आएको छ ।'
 
आँखा खुल्नुपर्छ, पाठ सिक्नुपर्छ 
प्रधानमन्त्री ओलीले नाकाबन्दी कारण भोग्नुपरेको सकसबाट अब नेपालीका आँखा खुल्नुपर्ने र पाठ सिक्नुपर्ने बताए। उनले भने, अब हाम्रो आँखा खुल्नुपर्छ, पाठसिक्नुपर्छ । आत्मनिर्भर र स्वाधिन अर्थतन्त्रको निर्माणमा हामी सबै जुट्नुपर्छ।
 
उनले स्वाधीन तथा आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा अब जुट्नुपर्नेमा जोड दिएका छन् । उनले कहिल्यै कसैको अधिनमा नपरेको नेपालले विश्व समुदायलाई गुन लगाएको स्मरण गर्दै भने, भूगोलका आधारमा देशहरु साना ठूला हुन्छन् । तर सार्वभौमसत्ता र स्वाधिनता साना ठूलो हुँदैन। नेपालले आफ्नो स्वाधिनता र सार्वभौमसत्ताको सम्मान मात्र चाहेको छ। अरु केही चाहेको छैन।'
 
नाकाबन्दी र आन्दोलनका कारण ७ खर्बभन्दा धेरै क्षति भएको ओलीले बताए । डेड महिनादेखिको नाकाबन्दीले राष्ट्रिय जीवन नै प्रभावित भएको बताउँदै भने, भूकम्पबाट भन्दा पनि नाकाबन्दीले धेरै गुना क्षति पुर्‍याएको छ । यसले जनजीवनलाई आक्रान्त तुल्याएको छ ।
 
अग्रिम रकम भुक्तानी भइसकेको तेल नपठाउने भारतीय आयल निगमको भूमिकाले उसको नियत र व्यापारिक छवि उदांग भएको बताए। भूकम्पले थिलथिलो भएको अर्थतन्त्र नाकाबन्दीका कारण ध्वस्त भएको बताउँदै भने, भन्सारबाट आयात निर्यात ठप्प हुँदा राजस्वमा गिरावट आाएको छ।  
 
संविधान संशोधनबाट मधेसलाई सम्बोधन गर्न तयार 
प्रधानमन्त्री ओलीले संविधान स‌ंशोधन गरेर तराई मधेसको समस्यालाई सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्।उनले संविधानले सबै जाति र समुदायलाई समान अधिकार सुनिश्चित गरेको दाबी गरे । 

उनले संसारको कुनै पनि लोकतान्त्रिक मुलुकको संविधानसँग तुलना गर्दा नेपालको संविधान संसारकै उत्कृष्ट रहेको दाबी गर्दै उनले भने, यसमा जबरजस्ती अपव्याख्या र भ्रम पैदा गर्ने काम भइरहेको छ। उनले केही कमजोरी तथा छुट भए सच्याउन तथा संशोधन गर्न सकिने पनि बताए । 
 
उनले नयाँ संविधानसँगै दस वर्ष लामो शान्तिप्रक्रिया पुरा भएको बताए।  उनले भने, संविधानले सबैलाई समान सम्मान, अवसर र हक दिएको छ । समुदाय विशेष भएकैले संविधानले विभेद गरेको भन्नु गलत हो । 
 
उनले संविधानको कार्यान्वयन र मुलुकसामु रहेको समस्याहरुको समाधानका लागि दलहरुबीच सहमति र सहकार्य आवश्यक रहेको बताए। उनले आन्दोलन स्थगित गरेर सार्थक वार्तामा आउन आन्दोलनरत दलहरुलाई आग्रह गरेका छन्। उनले आन्दोलनले तराई मधेसका जनतालाई झन् पछाडि धकेलेको बताएका छन्।
 
चीनलाई धन्यवाद  
प्रधानमन्त्री ओलीले  संकटका बेला चीनले अनुदानमा इन्धन उपलब्ध गराएर सहयोग र सद्‍भाव देखाएकोमा धन्यवाद दिए। उनले चीनसँग जोडिएका सडकहरुको स्तरोन्नति गर्ने योजनालाई उच्च प्राथमिकतामा राखिने बताउँदै भने भने, 'यो निर्णय कुनै देशविरुद्ध होइन।'
 
उनले अब नेपालले व्यापारलाई विविधतायुक्त बनाउन चाहेको बताए। उनले मित्र राष्ट्र भारतसँग समुद्रसँगको पहुँच र पारवाहन अधिकार हनन नहुने गरी काम गर्न चाहेको बताए ।उनले चीनसँग व्यापारिक सम्बन्धलाई विस्तार गर्नुपर्ने बताएका छन् । 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/