Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

साझा बसमा स्मार्ट–कार्डको सुरुवात!

यात्रुले कसरी प्रयोग गर्ने ?
नेपालमै पहिलो पटक साझा बसले आफ्ना यात्रुहरुलाई लक्षित गर्दै स्मार्ट–कार्डको थालनी गरेको छ। बसमा चढ्दा पैसा बोक्नु नपर्ने र सोही स्मार्ट कार्डबाट पैसा चुक्ता हुने गरी यो व्यवस्था पहिलो पटक नेपालमा थालनी गरिएको हो। 
 
साझा यातायातको कार्यालय पुल्चोकमा एक कार्यक्रमकाबीच स्मार्ट कार्डको उद्घाटन तथा परीक्षण गरिएको छ। कार्ड परीक्षणको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, नेपाल बैंकका सीईओ देवेन्द्रप्रताप शाह र भारतीय नुस्पेका सीईओ हर्मित सिङ सेठीले संयूक्त रुपमा उद्घाटन गरे। नेपाल बैंकको सहकार्यमा यो कार्डको थालनी गरिएको हो।
सो अवसरमा साझा यातायातका अध्यक्ष दीक्षितले नेपालमा नयाँ प्रविधिको सुरुवात गरिएको जानकारी दिँदै नेपालको प्रविधि क्षेत्रमा नौलो आयाम थपिएको उल्लेख गरे।
 
 सो अवसरमा भारतीय नुस्पेका सीईओ सेठीले अन्य विकसित देशहरुमा पनि यो प्रविधि प्रचलनमा रहेको र नेपालमा पनि यसको सुरुवात गराउन पाउँदा आफूलाई खुसी लागेको बताए। 
त्यस्तै नेपाल बैंकका सीईओ शाहले यातायातका क्षेत्रमा थपिएको नयाँ प्रविधि अन्य क्षेत्रले पनि अवलम्वन गर्न सक्ने धारणा राखे। 
 
नयाँ बसपार्क–नारायणगोपालचोक–लगनखेल रुटमा चल्ने बा १ ख २२१७ नं.को बसबाट थालनी गरिएको यो परीक्षणको केही साताभित्रै अन्य साझाका सबै बसहरुमा थालनी गरिने साझाका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए। उनका अनुसार १६ वटै बसहरुमा यो प्रविधि प्रयोग गरिनेछ। 
 
नयाँ बसपार्क–नारायणगोपाल चोक–लाजिम्पाट–शहिदगेट– त्रिपुरेश्वर–लगनखेल रुटमा १० वटा साझा बसहरु संचालनमा छन् भने एयरपोर्ट–गौशाला–शहिदगेट–त्रिपुरेश्वर–कालिमाटी–कलंकी रुटमा ६ वटा बसहरु संचालनमा छन्। 
कार्ड कसरी प्रयोग गर्ने ?
यो स्मार्ट कार्डको मूल्य २ सय रुपैयाँ तोकिएको छ। यसभित्र ५० रुपैयाँ ब्यालेन्सका रुपमा यसका उपभोक्ताले पाउँदछन्। यसका लागि उपभोक्ताले कुनै बैंकिङ खाता खोल्नु पर्दैन। रकम सकिएपछि हाल प्रचलनमा रहेको मोवाइल रि–चार्ज कार्ड कोरेर मोवाइलमा व्यालेन्स हालेजस्तैगरी कार्डमा रकम थप्न सकिनेछ। 
 
कार्डलाई बेला बेलामा नवीकरण गर्नुपर्ने झन्झट पनि हुँदैन। यसले गर्दा एटीएमलगायत अन्य कार्डभन्दा पनि यो सुविधायूक्त कार्ड रहेको सम्वन्धित अधिकारीहरु बताउँछन्। 
 
यदि बीचमा कार्ड हराएमा भने त्यति नै रकम खर्चिएर नयाँ कार्ड बनाउनुपर्छ। हराएको कार्ड भने अन्य जो कोहीले प्रयोग गर्न सक्दछ। साझा बसमा चढ्दा पछाडिको ढोकामा राखिएको डिभाइसमा कार्ड देखाउने र झर्दा अगाडिको ढोकानजिकको डिभाइसमा कार्ड देखाएपछि यात्रा गरेको दुरीअनुसारको भाडा कार्डमार्फत काटिनेछ। 
 
यसैबीच मोवाइलमा विशेष एप्लिकेसन डाउनलोड गरेपछि साझाको बस आफ्नो रुटमा कहाँ गुडिरहेको छ भन्ने कुरा समेत यात्रुहरुलाई थाहा हुने र सोहीअनुसार यात्रुहरु घरबाट निस्कन सकिन्छ। यसका लागि समेत जडित यो प्रविधि उपयोगी हुने भारतीय नुस्पेका सीईओ हर्मित सिङ बताउँछन्। 
 
यात्रुले प्रविधिमार्फत तिरेको यो भाडा नेपाल बैंकमा साझा यातायातको खातामा जम्मा हुन्छ। डिभाइस राखेको खण्डमा यो स्मार्ट कार्डको प्रयोग विभिन्न सुपर मार्केटहरुमा पनि प्रयोग गर्न सकिने अधिकारीहरु बताउँछन्। 
 
प्रविधिको दुनियाँमा एउटा सकारात्मक कदमको थालनी भएकोमा यो प्रविधि अन्य क्षेत्रमा पनि प्रयोग हुन सकेमा समग्र कारोवार थप व्यवस्थित बन्ने अपेक्षा गर्न सकिन्छ। 


Ą
https://www.flickr.com/photos/spklg/15211044551/