Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

...अनि मोदीको रुट बदलियो

लन्डन: रोजगारीका लागि सात समुद्रपारिको देश आएर काम गर्नुपरेको छ । मातृभूमिबाट जति टाढा भइयो, उति धेरै देशको माया लाग्दोरहेछ। 
 
नेपालको राजनीतिक अवस्था जुन रूपमा गुज्रिरहेछ, त्यसमा पनि पछिल्लो समय भारतले लगाएको नाकाबन्दीले हामी बेलायतबासी नेपाली थप चिन्तामा छौं। अनि नाकाबन्दी लगाउने भारतप्रति क्रुद्ध
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत आउने सूचना समयमै पाएका थियौं। हामीले नेपालविरुद्ध नाकाबन्दीजस्तो अमानवीय कदम फिर्ता लिन दबाब दिनुपर्छ भन्ने सोच्यौँ । बेलायतमा भएका विभिन्न नेपाली संघसंस्थाले संयुक्त रूपमा प्रदर्शन गर्नुपर्छ भन्ने योजना बन्यो। 
 
फेसबुकमार्फत गरिएको तीन साता तिको प्रयासबाट हामीले लन्डनमा मोदीको विरोधमा निक्कै बाक्लो उपस्थितिमा प्रदर्शन गर्न सक्यौं । यसको संयोजन फोटो पत्रकार एभरेस्ट गौतमले गरेका थिए।
 
बिहीबार दिउँसो १ बजे मोदी डाउनिङ स्ट्रिट आउने कार्यक्रम थियो। हामीले घडी हेर्‍यौं, १ बजिसकेको थियो । तर मोदीको आगमन भएन । १ः१२ बजे टेलिभिजन क्यामेरा पर्सनहरू यताउता दौडेको देख्यौं। 
उनी बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँग वार्ता गर्न टेन डाउनिङ स्ट्रिटबाट आएनन्। उनी जहाँबाट आउँदैछन् भन्ने सूचना पाएका थियौं, हामी त्यही बाटो उनलाई पर्खिरहेका थियौं । उनलाई अर्को बाटोबाट लगिएछ।  (बेलायतमा मोदीविरुद्ध नेपालीको प्रदर्शन(भिडियो)
 
यसरी हाम्रो प्रदर्शनका कारण मोदीको भ्रमणको रुट नै परिवर्तन गरिएछ।विरोध प्रदर्शनमा गैरआवासीय नेपाली संघ (एनआरएन), अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, नेपाली हार्ट फाउन्डेसन, राजनीतिक दलका भ्रातृ संस्थालगायत ३० वटा जति संस्थाले सहभागिता जनाएका थिए।
हामी करिब ६ सय नेपाली प्रदर्शनमा सहभागी थियौं । हाम्रो विरोध प्रदर्शनबाट सर्वसाधारण बेलायतीले समेत नेपालले भोग्नुपरेको वास्तविक समस्याका बारेमा जानकारी पाए। यस्तो अमानवीय कार्यको उनीहरूले पनि भर्त्सना गरेका छन्। 
 
उनीहरूले हाम्रो प्रदर्शनलाई सकारात्मक रूपमा लिएको पायौं।जब मोदी आइपुगेको थाहा पायौं तब हामीले जोडदार रूपमा नारा लगायौं— ‘नेपालमाथि लगाएको नाकाबन्दी फिर्ता लेऊ', 'बेलायती हो ! यदि भारतले नेपालमाथि नाकाबन्दी लगाइरहेमा ऊसँग कुनै व्यापारिक सम्झौता नगर', 'मोदी, तिम्रो कदम अमानवीय र अन्तर्राष्ट्रिय कानुनविपरीत छ' लगायत। (बेलायतमा नेपालीको विरोध देखेर मोदी आश्चर्यचकित)
 
हाम्रा नारा मोदीले पक्कै पनि सुनेका हुनुपर्छ । यसरी नारा लगाइरहँदा हाम्रा हातमा प्लेकार्ड थिए। राष्ट्रिय झन्डा थियो। कतिपय पुरुष साथीहरू राष्ट्रिय पोसाकमा थिए। हामी बेलायतबासी नेपालीहरू चाहन्छौं, राजनीतिक समस्या राजनीतिक रूपबाटै समाधान हुनुपर्छ। 
 
नाकाबन्दीजस्तो अमानवीय कदम चालेर समस्या समाधान हुँदैन। नेपाल सरकारले पनि समस्याको समाधान खोज्नतिर ढिला गर्नुहुँदैन। यो नाकाबन्दीबाट पाठ सिकेर हामी नेपालीहरूले आत्मनिर्भरताको बाटो पनि खोज्नुपर्छ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/