कपिलवस्तु, आश्विन २२ - नेपाल आएका बलिउडका नायक आमिर खान एक कार्यक्रममा सहभागी हुन कपिलवस्तु आएका छन् । उनी यनिसेफले सञ्चालन गरेको पोषण सम्बन्धी कार्यक्रममा यहाँ सहभागी भएका हुन् ।
जिल्लाको पकडी हेल्थपोष्टमा आयोजना गरिएको उक्त कार्यक्रममा आमिरले करीब १ घण्टा समय बिताएका थिए । उनले आमा समूह र महिला स्वयंसेविकाको कुपोषित बालबालिकाको उपचार गर्ने तरिका र विधि अवलोकन गरे । उनी अहिले लुम्बिनि प्रस्थान गरेका छन् । आमिरले त्यहाँ खाना खाएपछि मायादेवी मन्दिरको अवलोकन गरी अपरान्ह्र ३ बजे राजधानी फर्कने छन् ।
दुईदिने नेपाल भ्रमणका लागि उनी मंगलबार दिउँसो साढे एक बजे आएका हुन्। छ सुरक्षागार्डसहित आएका अभिनेता राजधानीको द्वारिकाज होटलमा बसेका थिए ।
टेलिभिजन टक शो 'सत्यमेव जयते' को अर्को संस्करणको तयारीमा जुटिरहेका आमिरलाई युनिसेफले ल्याएको हो । यसअघि पनि युनिसेफकै कार्यक्रमका लागि अमेरिकी गायिका/नायिका सेलेना गोमेज नेपाल आएकी थिइन्। सेलेना र आमिर दुवै युनिसेफको सद्भावना दूत हुन्।
नेपालमा राम्रो फ्यान फलोअर्स भएका ४९ वर्षीय आमिर अभिनयको विविधताका लागि प्रख्यात त छन् नै, सामाजिक कार्यका लागि पनि उत्तिकै सक्रिय मानिन्छन्। 'सत्यमेव जयते' मार्फत पनि उनले यस्तै सामाजिक मुद्दालाई राष्ट्रियकरण गर्ने प्रयास गर्छन्।





