Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

आमिर कपिलवस्तुमा

कपिलवस्तु, आश्विन २२ - नेपाल आएका बलिउडका नायक आमिर खान  एक कार्यक्रममा सहभागी हुन कपिलवस्तु आएका छन् । उनी  यनिसेफले सञ्चालन गरेको पोषण सम्बन्धी कार्यक्रममा यहाँ सहभागी भएका हुन् ।
जिल्लाको पकडी हेल्थपोष्टमा आयोजना गरिएको उक्त कार्यक्रममा आमिरले करीब १ घण्टा समय बिताएका थिए ।  उनले आमा समूह र महिला स्वयंसेविकाको कुपोषित बालबालिकाको उपचार गर्ने तरिका र विधि अवलोकन गरे । उनी अहिले लुम्बिनि प्रस्थान गरेका छन् । आमिरले त्यहाँ खाना खाएपछि मायादेवी मन्दिरको अवलोकन गरी अपरान्ह्र ३ बजे राजधानी फर्कने छन् ।
दुईदिने नेपाल भ्रमणका लागि उनी मंगलबार दिउँसो साढे एक बजे आएका हुन्। छ सुरक्षागार्डसहित आएका अभिनेता राजधानीको द्वारिकाज होटलमा बसेका थिए ।
टेलिभिजन टक शो 'सत्यमेव जयते' को अर्को संस्करणको तयारीमा जुटिरहेका आमिरलाई युनिसेफले ल्याएको हो । यसअघि पनि युनिसेफकै कार्यक्रमका लागि अमेरिकी गायिका/नायिका सेलेना गोमेज नेपाल आएकी थिइन्। सेलेना र आमिर दुवै युनिसेफको सद्भावना दूत हुन्।
नेपालमा राम्रो फ्यान फलोअर्स भएका ४९ वर्षीय आमिर अभिनयको विविधताका लागि प्रख्यात त छन् नै, सामाजिक कार्यका लागि पनि उत्तिकै सक्रिय मानिन्छन्। 'सत्यमेव जयते' मार्फत पनि उनले यस्तै सामाजिक मुद्दालाई राष्ट्रियकरण गर्ने प्रयास गर्छन्।

बालकलाकारका रूपमा 'यादों की बारात' मार्फत् बलिउडमा पाइला चालेका आमिर 'कयामत से कयामत तक' मार्फत् प्रभावशाली अभिनेतामा दर्ज भए। हालसम्म चार राष्ट्रिय र सात फिल्मफेयर अवार्ड जितेका उनको खातामा व्यावसायिक रूपमा पनि अधिकांश फिल्म हिट छन्। उनको पछिल्लो फिल्म 'धूम ३' ले पनि कीर्तिमानी व्यापार गरेको थियो।अभिनयमा विविधता पस्कन माहिर उनी 'तारे जमीं पर' देखि निर्देशनमा पनि जबरजस्त इन्ट्री मारेका थिए। उनी प्लेब्याक सिंगर र स्क्रिप्ट राइटर पनि हुन्।
हात हालेको विधामा सफलता चुम्न सिपालु यी अभिनेता सन् २००६ मा नर्मदा बचाउ आन्दोलनमा सक्रिय लागिपरेका थिए भने सन् २०११ मा जनलोकपाल विधयक आन्दोलनका लागि अन्ना हजारेको खुलेर साथ दिएका थिए।
आफूलाई शिक्षा र खाद्यान्नका कार्यक्रममा लागि पर्न रुचाउने बताउँदै आएका आमिर नेपाल भ्रमण पनि युनिसेफले सञ्चालन गरिरहेको पोषण सम्बन्धी कार्यक्रमका लागि रहेको बताइएको छ। तीन वर्षदेखि उनी युनिसेफसँग आबद्ध रही काम गरिरहेका छन्।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/