हङकङ (बीबीसी), आश्विन १३ -
साता लामो तनावपछि हङकङ प्रहरीले मुख्य सरकारी भवनबाहिर प्रदर्शन
गर्नेहरूलाई अश्रु ग्यास प्रहार गरी तितरबितर पारेको छ । प्रहरीको घेरा
तोडेर अगाडि बढ्न खोजेका प्रदर्शनकारीहरूलाई 'पिपर स्प्रे' प्रयोग गरी
भगाउन खोजेको थियो ।
सन् २०१७ को चुनावमा चीन सरकारले तोकेकामध्येबाट हङकङ प्रशासक छान्ने
भन्ने नियमविरुद्ध प्रदर्शन सुरु भएको हो । हङकङका प्रमुख कार्यकारी सिवाई
लियोङले प्रदर्शनलाई अवैध भन्दै योजनाअनुसार नै चुनाव अगाडि बढ्ने बताए ।
विरोध प्रदर्शन सुरु भएयताको पहिलो सार्वजनिक वक्तव्यमा लियोङले 'समाजका
मानिसहरूको कुरा गम्भीरतापूर्वक सुनिने' बताए । तर अवैध प्रदर्शनविरुद्ध
चाहिँ दृढ कदम चालिने उल्लेख गरे ।
हङकङ सरकारको मुख्यालय भवनअगाडि धर्ना दिनका लागि प्रदर्शनकारीहरूले अगाडि
बढ्न खोज्दा प्रहरीसँग मुठभेड भएको थियो । सोही क्रममा उनीहरूले
सामुन्नेको सडकमा यातायात अवरुद्ध गरेका थिए ।
प्रदर्शनकारीको भीड अश्रु ग्यासले भाग्ने, तर फेरि र्फकने क्रम चलिरह्यो ।
प्रहरीले हातहातमा पिपर स्प्रे बोकेर लखेट्न खोजे पनि प्रदर्शनकारीले छाता
र मास्क प्रयोग गरी भिडेका थिए । साँझ पर्दा सम्म तनाव कायम रह्यो ।
विद्यार्थीहरूले सुरुमा हङकङमा प्रजातान्त्रिक सुधारको माग गर्दै सुरु
गरेको हड्तालले साताबीचमा बृहत् रूप लिएको हो । हजारौं प्रदर्शनकारीले
सरकारी मुख्यालयसामु गएको सप्ताहन्तदेखि धर्ना सुरु गरेका हुन् ।
शनिबार रात 'अकुपाई सेन्ट्रल' नामक अर्को विरोध अभियानका नेताले
विद्यार्थीहरूको धर्नामा मिसिने घोषणा गरेपछि प्रदर्शन बाक्लिएको हो । उक्त
अभियानका तर्फबाट जारी वक्तव्यमा लियोङले राजनीतिक सुधार गर्न नसकेको
उल्लेख छ । उनको अभिव्यक्तिलाई प्रदर्शनकारीहरूले पत्याएका छैनन् । जब कि,
उनीहरूले सरकारी पक्षसँग वार्ताको माग गरेका छन् ।
बृहत् अभियान
अकुपाई सेन्ट्रलले खासमा आगामी बुधबार केन्द्रीय व्यापार क्षेत्रलाई कब्जा
गर्ने योजना बनाएका थिए । तर उनीहरूले त्यसलाई संशोधन गरी विद्यार्थी
आन्दोलनसँग मिसिने निर्णय गरे । विद्यार्थीहरूले शुक्रबार अबेर चर्को
प्रदर्शन सुरु गरेका थिए । सोही क्रममा प्रहरीले विद्यार्थी नेता जोसुवा
वोङसहित ६० जनालाई पक्रेको थियो ।