Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मधेसी नेतालाई भारतको सुझाव: काठमाडौं फर्केर तत्काल वार्तामा बस

फोटो :फाइल फोटो
काठमाडौं : भारतले वार्तामा बसेर निकास खोज्न मधेसी मोर्चाका  नेतालाई सुझाव दिएको छ।

भारतको निमन्त्रणामा नयाँदिल्ली गएका मधेसी मोर्चाका नेतासँगको भेटवार्तामा भारतीय अधिकारीहरुले यस्तो सुझाव दिएका हुन्। मोर्चाका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोभल र विदेश सचिव एस जयशंकरसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। 

डोभल र जयशंकर दुवैले मधेसी नेताहरुलाई काठमाडौंं फर्केर तत्काल वार्तामा बस्न र त्यहाँबाट निकास नयाँ ढ‌ंगले अघि बढ्न सुझाव दिएका छन्।  भेटवार्तामा मधेसी नेताहरुले नेपालमा भारत विरोधी भावना फैलिनुमा प्रधानमन्त्री केपी ओलीलाई जिम्मेवार रहेको आरोप लगाएका छन्।  सुशील कोइराला नेतृत्वको अघिल्लो सरकारले संसद्मा पेस गरेकै संविधान संशोधन प्रस्ताव आफूहरूलाई मान्य नहुने भनाइ पनि उनहरुले भारतीय अधिकारसमक्ष राखेका छन्। 
 
भेटमा डोभलले मधेस आन्दोलनका कारण भारत पनि समस्यामा परेको बताएका थिए भने जयशंकरले काठमाडौं गएर एक चरण सरकारसँग वार्तामा बस्न र नभए नयाँ ढंगले अघि बढ्न मोर्चाका नेतालाई सुझाव दिएका थिए। डोभलले मंगलबार साँझ भएको भेटमा मधेसलाई नयाँ संविधानबाट अन्याय भएकोप्रति आफूहरू प्रस्ट रहेको बताएका थिए।
नेपाल सरकारले संसद्मा पेस गर्ने भनेको संविधान संशोधनसम्बन्धी प्रस्ताव मान्य छ कि छैन भनी उनले मोर्चाका नेतालाई सोधेका थिए। प्रत्युत्तरमा मोर्चाका नेता महन्थ ठाकुरले सुशील कोइराला नेतृत्वको अघिल्लो सरकारले संसद्मा पेस गरेकै संशोधन प्रस्तावमा आफूहरू सहमत नभएको बताएका थिए।
 
ठाकुरले मधेसी समुदायलाई सत्तासीन दलहरूले दोस्रो दर्जाको नागरिकका रूपमा मान्दै आएकाले अझै पनि संकटको निकास निस्कन नसकेको आरोप लगाएका थिए। मोर्चाका अर्का नेता महेन्द्र यादवले नेपालमा भारतविरोधी भावना फैलिनुमा प्रधानमन्त्री केपी ओलीलगायत सत्ता गठबन्धन नै दोषी रहेको बताएका थिए।
 
उनले सरकार मधेसी समुदायका मागप्रति अझै पनि गम्भीर नरहेको बताएका थिए।भेटमा डोभालले नेपालमा भारतविरोधी भावना बढ्नु हितकर नरहेको बताए। 'आन्दोलन कसरी अघि बढाइरहनुभएको छ र सरकारसँगको वार्ता कहाँ पुगेको छ भन्ने उहाँको मुख्य चासो थियो,' सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अन्नपूर्णसँग भने।
 
मोर्चाका नेताले भारतीय विदेश सचिव जयशंकरसमक्ष भारतको साथ र सहयोग नभए आफूहरूको आन्दोलन कमजोर हुने भन्दै भारतको निरन्तर सहयोग र समर्थनको अपेक्षा गरेको बताएका थिए। जयशंकरले मधेसीका माग पूरा होस् भन्ने भारतको सदिच्छा रहेको बताएको जानकारी महतोले दिए।
 
मधेसका मागहरू सम्बोधन हुनुपर्छ भनेर हामीले प्रस्ट रूपमा परराष्ट्र मन्त्री कमल थापाजीलाई भनिसकेका छौं । काठमाडौं गएर एक चरण वार्तामा बस्नुस्, भएन भने नयाँ ढंगले अघि बढ्नुस्।
-एस जयशंकर, भारतीय विदेश सचिव
 
 
मोर्चाका नेताहरूले सीमांकन हेरफेर तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने बुँदामा सत्तापक्षले सहमति नजनाए आन्दोलन थप चर्काउने जानकारी गराएका थिए। जबाफमा जयशंकरले भनेका थिए, ‘मधेसका मागहरू सम्बोधन हुनुपर्छ भनेर हामीले प्रस्ट रूपमा परराष्ट्र मन्त्री कमल थापाजीलाई भनिसकेका छौं। काठमाडौं गएर एक चरण वार्तामा बस्नुस्, भएन भने नयाँ ढंगले अघि बढ्नुस्।'
 
मधेसी नेताहरूले नयाँ संविधान मधेसी समुदायका लागि पूर्ण रूपमा विभेदकारी रहेको आरोप लगाउँदै आफ्ना माग पूरा नहुन्जेल लड्न तयार रहेको बताएका थिए।'परराष्ट्रमन्त्री कमल थापाजी अघिल्लो साता आएर भारतीय नेतृत्वलाई मधेस आन्दोलनबारे भ्रम छरेर जानुभएको रहेछ,' महतोले भने, 'हाम्रा तर्फबाट आफ्ना भनाइ प्रस्ट राख्यौं।'
 
महतोले काठमाडौं फर्किएपछि सत्ताधारी दलसँग वार्तामा पुनः बस्न आफूहरू तयार रहेको पनि बताए।उनले अन्तरिम संविधानमा सुनिश्चित गरिएका मधेसका हकअधिकारसमेत हनन भएको भन्दै गुनासो पोखेका थिए। 
 
विदेश सचिव जयशंकरले नेपालको राजनीतिक समस्याको समाधान राजनीतिक रूपमा हुनुपर्छ भन्नेमा भारत प्रस्ट रहेको दोहोर्‍याएको महतोले जानकारी दिए।
मोर्चाका नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेट्न पाएका छैनन्। 
 
नेपालका लागि भारतीय राजदूत रन्जित रे र भारतीय विदेश मन्त्रालयका अधिकारीले मोर्चाका नेता बुधबार नेपाल फर्किनुअघि मोदीसँग भेट गराउन प्रयास गरिरहेका छन् । राजदूत रे मधेसी नेताहरूको भ्रमणकै लागि नयाँदिल्ली पुगेका हुन्।

News of annapurnapost.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/