Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भारतले नाकाबन्दी गरेकै छैन : पूर्व उपराष्ट्रपति झा

फोटो :फाइल फोटो
विराटनगर : पूर्व उपराष्ट्रपति परमानन्द झाले भारतले नेपालमा नाकाबन्दी गर्दै नगरेको दाबी गरेका छन् । विराटनगरस्थित आफनै निवासमा बुधबार संचारकर्मी संगको कुराकानीमा पूर्व उपराष्ट्रपति झाले भारतले नेपालमा नाकाबन्दी गरेको भनी अनावश्यक हल्ला पिटाइएको जिकिर गरे । 
 
‘नेपालमा भारतले नाकाबन्दी गरेको भनेर अनआवश्यक हल्ला गरिएको छ । तर, त्यो सत्य हैन,’ उनले भने, ‘मधेसीको अधिकार संविधानमै संस्थागत गर्न भइरहेको आन्दोलनलाई सरकार र संविधान जारी गर्ने राजनैतिक दलहरुले नसुन्दा मधेसी जनताले नाकाबन्दी गरिदिएका हुन् ।’ 

मुलुकमा नाकाबन्दी भएपछि मात्र सरकारले मधेसमा आन्दोलन भइरहेको रहेछ भन्ने कुरा थाहा पाएको दाबी गर्दै उनले भारतले नाकाबन्दी गरेको हो भनेर गलत हल्ला फिँजाएर आन्दोलनलाई तुहाउने खेल भइरहेको बताए । 
 
‘भारतले अघोषित नाकाबन्दी गरेको हल्ला फिँजाउदा मधेसी जनताको नाकाबन्दी हटेर अधिकारका लागि भइरहेको मधेस आन्दोलन तुहिन्छ भन्ने सोची राजनैतिक तवरबाट सरकार लागि प¥यो,’ झाले भने, ‘यस मामिलामा भारतलाई नमुछी आन्तरिकरुपमा समस्याको समाधान खोजेको भए उत्तम हुने थियो ।’
 
सरकारले मधेसीलाई अधिकार नदिन मुलुकको आन्तरिक समस्यामा भारतलाई महत्व दिनु बेकार भएको उनको आरोप छ । 
 
भारत गएका मधेसवादी दलका नेताहरु फर्किएपछि मुलुकमा झन अप्ठेरो र असहज स्थिति उत्पन्न हुने खतरा बढेर गएको उनको भनाइ छ ।
 
‘मधेसवादी दलका नेताहरु भारतमा पुगेर फर्किएपछि मुलुकमा झन जटिल अवस्था उत्पन्न हुन्छ,’ झाले भने, ‘मधेसी दलले भारत समक्ष आन्दोलनको औचित्य राखिसकेका कारण सरकारलाई झन अप्ठेरो पर्छ ।’ 
 
लामो समयदेखि जारी मधेसी मोर्चाको आन्दोलनलाई भारतसमक्ष गलत व्याख्या गरेर आन्दोलनलाई बद्नाम गराउन खोएिका कारण मधेसवादी दलका नेताहरु आफूहरुको आन्दोलनको औचित्य प्रष्ट पार्नमात्र भारत गएको उनको तर्क छ । 
 
मधेसवादी दलका नेता भारत जानु गलत नभएको तर सरकारका परराष्ट्रमन्त्री कमल थापा आन्तिरक समस्याको समाधान गर्नकै लागि भनेर दुई पटक भारत जानु गलत भएको झाको भनाइ छ । 
 
सीमांकनको समस्या सबैभन्दा जटिल रहेको बताउँदै उनले मुुलुकलाई थप अप्ठेरो पर्नबाट जोगाउन प्रदेशको संख्या थपघट गर्नुपर्ने आवश्यकता रहेको दावी गरे । 
 
जनताले उठाएको मागलाई समयमै सम्बोधन गर्ने कसरत नहुँदा मुलुकले नाकाबन्दी जस्तो जटिल परिस्थितीको सामना गर्नु परेको जिकिर गरे ।
 
उनले सदियौंदेखि मेधसप्रति गरिंदै आएको हेपाहा व्यवहार र प्रवृत्तिले मधेस आन्दोलन उब्जिएको दावी गरे । 
 
‘विगतमा भएका सहमति र सम्झौताका आधारमा संविधान जारी गरेर मधेसीलाई हेप्ने प्रवृत्तिको अन्त्य गरेको भए आन्दोलननै हुँदैन थियो,’ झाले भने । 
 
सहमतिमा संविधान जारी गर्नु पर्ने बेलामा मधेसलाई अधिकार विहिन बनाएर बहुमतिय आधारमा संविधान जारी हुनुनै गलत भएको उनको टिप्पणी छ ।
 
संविधान जारी गर्ने बेलामा दलहरुले अझै १० देखि १५ दिनसम्म फर्खेर सहमतिवाट संविधान जारी गर्ने प्रयास गर्दा निकास निस्किने प्रशस्त सम्भावना रहेपनि दलहरुकै वेवास्ताका कारण मुलुकमा ठूलो संकट उत्पन्न भएको झाको दाबी छ । 
 
‘संविधान जारी भएको एक महिना नबित्दै संसोधनको प्रस्ताव ठूलो दल काँग्रेसले ल्याउनु भनेको संविधान अपूर्ण भयो भन्ने कुराको पुष्टी हो,’ उनले भने, ‘अपूर्ण संविधान मुलुकको हितमा नहुने सन्देश मधेस आन्दोलनले दिइसकेकाले यस अघि भएका कमिकमजोरीलाई सच्याएर संशोधन गरी संविधानलाई पूर्ण बनाउनु मुलुकका लागि हितकर हुन्छ ।’  
News from annapurnapost.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/