फोटो :फाइल फोटो
विराटनगर : पूर्व उपराष्ट्रपति परमानन्द झाले भारतले नेपालमा नाकाबन्दी गर्दै नगरेको दाबी गरेका छन् । विराटनगरस्थित आफनै निवासमा बुधबार संचारकर्मी संगको कुराकानीमा पूर्व उपराष्ट्रपति झाले भारतले नेपालमा नाकाबन्दी गरेको भनी अनावश्यक हल्ला पिटाइएको जिकिर गरे ।
‘नेपालमा भारतले नाकाबन्दी गरेको भनेर अनआवश्यक हल्ला गरिएको छ । तर, त्यो सत्य हैन,’ उनले भने, ‘मधेसीको अधिकार संविधानमै संस्थागत गर्न भइरहेको आन्दोलनलाई सरकार र संविधान जारी गर्ने राजनैतिक दलहरुले नसुन्दा मधेसी जनताले नाकाबन्दी गरिदिएका हुन् ।’
मुलुकमा नाकाबन्दी भएपछि मात्र सरकारले मधेसमा आन्दोलन भइरहेको रहेछ भन्ने कुरा थाहा पाएको दाबी गर्दै उनले भारतले नाकाबन्दी गरेको हो भनेर गलत हल्ला फिँजाएर आन्दोलनलाई तुहाउने खेल भइरहेको बताए ।
‘भारतले अघोषित नाकाबन्दी गरेको हल्ला फिँजाउदा मधेसी जनताको नाकाबन्दी हटेर अधिकारका लागि भइरहेको मधेस आन्दोलन तुहिन्छ भन्ने सोची राजनैतिक तवरबाट सरकार लागि प¥यो,’ झाले भने, ‘यस मामिलामा भारतलाई नमुछी आन्तरिकरुपमा समस्याको समाधान खोजेको भए उत्तम हुने थियो ।’





