Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

फुटबलमा जुट्दै पूर्वेली

पुस ११, २०७२- फुटबल विकासमा लागिपरेका इलामेहरूको एउटा समूह एक सातासम्म प्रायोजक र सहयोगीसँगको भेटघाटपछि राजधानीबाट शुक्रबार गृहजिल्ला फर्केको छ । पुराना–नयाँ खेलाडी अनि खेलका लागि मरिहत्ते गर्ने पदाधिकारी सम्मिलित टोली माघ दोस्रो साता हुने माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताका लागि सहयोग जुटाउन अभियानमा लागेको छ ।
व्यवस्थित र भव्य रूपमा प्रतियोगिता सञ्चालन गर्ने क्रममा सहयोग जुटाउने अभियानमा आफूहरू लागेको माई भ्याली स्पोर्टिङ क्लबका अध्यक्ष धीरेन चेम्जोङ बताउँछन् । फुटबल भनेपछि हुरुक्कै हुने इलामका दर्शकमाझ गत वर्ष सफलतासाथ प्रतियोगिता आयोजना गरिसकेको क्लबले देश तथा विदेशमा रहेका इलामे अनि खेलप्रेमीबाट सहयोग जुटाइरहेको छ ।
स्थानीयस्तरको पहलबाट पूर्वमा हुने फुटबल प्रतियोगिताको यो एउटा उदाहरण हो । गत वर्षझैं यसपालि पनि पुसदेखि यो वर्षको अन्तिमसम्म राष्ट्रिय, क्षेत्रीय अनि स्थानीयस्तरका उल्लेख्य प्रतियोगिता हुँदैछन् ।

यसमा खेलाडीमात्र होइन स्थानीय बासिन्दाको पनि उत्तिकै सहयोग र साथ रहने गरेको छ । राष्ट्रिय टिमका चर्चित खेलाडी, केही विदेशी टिम अनि क्षेत्रीय रूपमा चर्चामा रहेका क्लबहरू समेतको सहभागितामा हुने प्रतियोगिताका कारण यो वर्षको अन्त्यसम्मै पूर्व फुटबलमय हुने भएको छ । केही प्रतियोगिता सुरु भइसकेका छन् ।
स्थानीय प्रतिभालाई अवसर दिने एवं राष्ट्रियस्तरका खेलाडी र टिम सहभागी गराएर प्रतियोगिता आयोजना भइरहेका छन् । धरानको बूढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप, इलाममा हुने माई भ्याली आमन्त्रण गोल्डकप, विराटनगरको विराट गोल्डकप, सहिद भीमनारायण गोल्डकप प्रतिष्ठित प्रतियोगितामा पर्छन् ।
यी प्रतियोगितामा राष्ट्रिय टिमहरू अनि विभागीय टिमहरूको सहभागिता हुने गरेको छ । यीबाहेक स्थानीयस्तरमा हुने क्षेत्रीय र जिल्लागत प्रतियोगिता स्थानीय प्रयासमा हुँदै आएका छन् । सामान्यतया: राजधानीमा मात्र केन्द्रित हुने फुटबल विस्तारै पूर्वमा पनि छाउन थालेको छ ।
विराटनगरमा माघ २१ देखि विराट गोल्डकप हुने भएको छ । यसको तयारी थालिएको आयोजक समिति अध्यक्ष राजेन्द्र राउतले बताए । उपाधि विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी पाउने यो प्रतियोगितामा सहभागी हुने सबै टिमले नगद प्रोत्साहन पुरस्कार दिने व्यवस्था मिलाइएको छ ।
विराट गोल्डकपमा गत वर्षको उपाधि त्रिभुवन आर्मी क्लबलाई हराउँदै झापा ११ ले हात पारेको थियो । ‘दुईवटा विदेशका टिमसहित १० वटा टिमको सहभागिता हुनेछ,’ राउतले भने, ‘हामीले यसपालि अझ व्यवस्थित रूपमा प्रतियोगिता सञ्चालन गर्न तयारी थालिसकेका छौं ।’
लामो समयदेखि सुस्ताएको फुटबललाई जगाउँदै गतवर्ष इलाममा सुरु भएको दोस्रो माई भ्याली आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता माघ १५ देखि २५ गतेसम्म इलाम सदरमुकामस्थित टुँडिखेलमा हुनेछ । गत वर्ष प्रतियोगितामा राष्ट्रिय टिमहरू सहभागी थिए ।
गत वर्षको ३ लाख रुपैयाँसहितको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले हात पारेको थियो । थ्री–स्टारले उपविजेतामा चित्त बुझाएको थियो ।
सुनसरीको धरानमा हुने अर्को प्रतिष्ठित फुटबल प्रतियोगिता बूढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप पनि फागुन दोस्रो सातातिर गर्ने तयारी भइरहेको छ । धरान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताका लागि देश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुट्दै आएको छ ।
यो प्रतियोगिताको १८ औं संस्करण हुनेछ । १७ औं संस्करणको ३ लाख ५० हजार रुपैयाँसहितको उपाधि विभागीय टिम एपीएफ टिमले हात पारेको थियो । मनाङ मर्स्याङ्दी क्लबले उपविजेतामा चित्त बुझाएको थियो ।
मोरङको डाँगीहाटमा गत साताबाट दोस्रो नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा स्थानीय क्लब र क्षेत्रीय टिमहरू सहभागी रहेको आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ । यसैगरी झापाको काँकडभिट्टामा प्रथम काँकडभिट्टा गोल्डकप हुँदैछ ।
पुस १८ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पूर्वका फुटबल क्लबहरूको सहभागिता हुने जनाइएको छ ।
पाँचथरको फिदिममा पुस २५ देखि माघ २ सम्म सातौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता हुने निश्चित भएको छ । यसमा पनि पूर्वका टिमहरूको सहभागिता हुने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।
 पूर्वमा हुने हरेकजसो फुटबल प्रतियोगितालाई व्यवस्थित पार्न लामो समयदेखि सक्रिय हुँदै आएका दिलीप राईका अनुसार पुस पहिलो सातादेखि यो वर्षको अन्तिमसम्मै पूर्व फुटबलमय हुने भएको छ ।
सुनसरीमा गोधूलि क्लब धरानको आयोजनामा पुस २५ देखि माघ ९ गतेसम्म १६ औं गोधूलि रनिङ सिल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । मोरङकै इन्द्रपुरमा फागुन १ देखि ८ गतेसम्म सगरमाथा स्पोर्टिङ क्लबको आयोजनामा केबीआरयू अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल हुने निधो भएको छ ।
यसका लागि आयोजकले तयारी सुरु गरिसकेका छन् । धनकुटामा सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी भइरहेको छ । मिति निश्चित नभए पनि फागुन तेस्रो साता गर्ने योजना रहेको आयोजक सहिद भीमनारायण प्रतिष्ठानले जनाएको छ ।
News from Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/