पुस ११, २०७२- फुटबल विकासमा लागिपरेका इलामेहरूको एउटा समूह एक सातासम्म प्रायोजक र सहयोगीसँगको भेटघाटपछि राजधानीबाट शुक्रबार गृहजिल्ला फर्केको छ । पुराना–नयाँ खेलाडी अनि खेलका लागि मरिहत्ते गर्ने पदाधिकारी सम्मिलित टोली माघ दोस्रो साता हुने माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताका लागि सहयोग जुटाउन अभियानमा लागेको छ ।
व्यवस्थित र भव्य रूपमा प्रतियोगिता सञ्चालन गर्ने क्रममा सहयोग जुटाउने अभियानमा आफूहरू लागेको माई भ्याली स्पोर्टिङ क्लबका अध्यक्ष धीरेन चेम्जोङ बताउँछन् । फुटबल भनेपछि हुरुक्कै हुने इलामका दर्शकमाझ गत वर्ष सफलतासाथ प्रतियोगिता आयोजना गरिसकेको क्लबले देश तथा विदेशमा रहेका इलामे अनि खेलप्रेमीबाट सहयोग जुटाइरहेको छ ।
स्थानीयस्तरको पहलबाट पूर्वमा हुने फुटबल प्रतियोगिताको यो एउटा उदाहरण हो । गत वर्षझैं यसपालि पनि पुसदेखि यो वर्षको अन्तिमसम्म राष्ट्रिय, क्षेत्रीय अनि स्थानीयस्तरका उल्लेख्य प्रतियोगिता हुँदैछन् ।





