Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

आन्दोलनमा भाग लिने भारतीयलाई गोली हानीदिने सरकारको नीति हो र? : मधेसी मोर्चा

नयाँ संविधानमा असहमति जनाउँदै आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग वार्ताको औचित्य सकिएको बताएको छ। तराई–मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) को केन्द्रीय कार्यालय विजुलीबजारमा सोमबार पत्रकार सम्मेलन गर्दै मोर्चाका नेताहरुले सरकारको रबैयाका कारण देश मुठभेडतर्फ जान लागेको बताए। पत्रकार सम्मेलनमा बोल्दै तमलोपाका नेता हृदय त्रिपाठीले वार्ताकै क्रममा सरकारले  ३/४ दिनदेखि सेना परिचालन गर्ने, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई बढी क्रियाशील बनाउने र निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरिरहेको सूचना आफूहरुले पाएको उल्लेख गर्दै सोमबार वीरगञ्जमा भएको घटनाले सो कुरा पुष्टि भएको बताए। उनले भने ‘अहिलेका प्रधानमन्त्री र गृहमन्त्री नै वार्ता विथोल्न लागेका देखिन्छ।’
वीरगञ्जमा सोमबार प्रहरीको गोली लागि मारिएका व्यक्ति भारतीय भएकोबारे सोधिएको प्रश्नमा मोर्चाको एक घटक सदभावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णले आन्दोलनमा भारतीय सहभागिता स्वभाविक भएको बताए। ‘भारतीय नागरिक आन्दोलनमा सहभागी भए गोली हानी दिने सरकारको नीति हो र?’ कर्णले भने, ‘नेपाल र भारतमा आउजाउ गर्न पासपोर्ट र भिसा चाँहिदैन।’ ‘रोटी बेटीको सम्बन्ध भएकाले हामीलाई गोली हान्दा भारतीयलाई पनि दुःख लाग्छ’, उनले थपे।
कर्णले वीरगञ्जमा सोमबार बिहान प्रहरीले धर्नामा बसेका आन्दोलनकारीलाई अमानवीय तरिकाले हटाएको र उनीहरुको टेन्टमा आगो लगाई दिएको बताए।
‘वीरगञ्जमा तिसौं हजार मान्छेको भीडमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको छ’
कर्णले भने, ‘आजको घटनाले मधेसी जनतामा आक्रोश बढेको छ।’ 
उनले २०६२/०३ सालको आन्दोलनमा पनि भारतीय सहभागिता रहेको भन्दै भारतीयहरु आन्दोलनमा सहभागी हुँदैमा त्यसलाई घुसपैठ भन्न नमिल्ने बताए।
हिजोसम्म सरकारसँगको वार्ता सकारात्मक ढंगमा अघि बढिरहे पनि सोमबार वीरगञ्जमा भएको घटनाले वार्ताको औचित्य सकिएको भन्दै मोर्चाले अब फेरि वार्ताको वातावरण बनाउन पनि सरकारले भूमिका खेल्नु पर्ने पनि बताएको छ।  केपी ओली नेतृत्वको  वर्तमान सरकारले पनि यसअघिको सरकारले झैं आन्दोलनलाई दमन गर्ने नीति लिए त्यसले समस्या समाधान हुनुभन्दा देश मुठभेडतर्फ जाने चेतावनी पनि मोर्चाले दिएको छ।
लाचार बने गृहमन्त्री
तमलोपाका नेता हृदयश त्रिपाठीले वीरगञ्ज घटनाबारे सरकारका गृहमन्त्रीसँग कुरा गर्दा उनले लाचारी देखाएको बताए। ‘मैले गृहमन्त्री शक्तिबहादुर बस्नेतसँग घटनाबारे कुरा गरेको थिएँ, तर उहाँले आफूलाई धेरै कुरा थाहा नभएको बताउनु भयो’ त्रिपाठीले भने ‘भर्खर भर्खर मन्त्री भएकाले उहाँलाई कहाँबाट के कसरी भइरहेको छ भन्ने थाहा रहेनछ।’
उनले आफूहरुले सरकारी वार्ता टोलीका सदस्यहरु र सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालसँग पनि घटनाबारे कुरा गरेको बताए। ‘प्रचण्डले मिलाउने कोशिश गर्छु भन्नु भएको थियो तर गृहमन्त्रीसँग कुरा गर्दा मैले त्यस्तो पाइनँ’, उनले भने।
From: setopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/