Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

यसरी बन्छ, नेपाल सुन तस्करीको ट्रान्जिट (चार वर्षको तथ्यांकसहित )

काठमाडौं– राजधानीको कोटेश्वरबाट ०७० असारमा केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको ‘३५ किलो सुन’ निकै ठूलो विवादको भुमरीमा फस्यो । गएको चार वर्षयता एकैपटक समातिएको सबैभन्दा ठूलो परिमाणको अवैध सुनबारे व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा पटक–पटक चर्चा पनि भयो । सोही ‘३५ किलो सुन सुराकी प्रकरण’ को फाइल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान घेरामा छ ।

पछिल्लो समय अवैध सुन ओसारपसारको धन्दा मौलाउँदै गएको पाइन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग खुला सीमा भएका जिल्लाबाट बरामद भएको सुनको विवरणले अवैध सुन ओसारपसारको धन्दा मौलाएको तथ्यलाई प्रमाणित गरेको छ ।
विभिन्न विदेशी मुलुकबाट तस्करले ल्याउने अवैध सुन ठूलो परिणाममा नेपाली बजारमा खपत हुने गरेको पाइन्छ । नेपाली बजारबाहेक तस्करले खुला सिमानाको फाइदा उठाउँदै भारतीय बजारसम्म त्यस्ता सुनका डल्ला पुर्याउने गरेको पाइएको छ ।
त्रिभुवन विमानस्थल, तातोपानी भन्सार, मकवानपुर र तराईका केही जिल्लाबाट ठूलो परिमाणमा सुन बरामद गर्दै आएको प्रहरीले ०६९ सालदेखि हालसम्म त्रिभुवन विमानस्थलबाट मात्रै ८६ जना सुन तस्करलाई पक्राउ गर्न सफल भएको छ ।
एयरपोर्टमा सुनसहित समातिनेमध्ये धेरैजसो सुन तस्करले दुबई–कतारको बाटो हुँदै सुन ल्याउने गरेको प्रहरी स्रोतको भनाइ छ । यसरी अवैध सुन ओसारपसारको प्रमाणसहित समातिनेमा उल्लेख्य संख्यामा भारतीय तथा चिनियाँ नागरिक हुने गरेको प्रहरीले जनाएको छ ।
गएको ०७० पुसमा काठमाडौंबाट झापा जाँदै गरेका भारतीय नागरिक आनन्द कुमारको विमानस्थलमा ‘हेन्ड ब्यागेज’ चेकिङ एरियामा करिब डेढ किलो सुनसहित पक्राउ परेका थिए ।
सोही महिना दुबईबाट काठमाडौं आएका भारतीय नागरिक मुहम्मद सानोद ६ किलो सुनसहित पक्राउ परे । पक्राउ पर्नुअघि उनी चेकजाँच एरिया क्रस गर्न सफल भइसकेका थिए ।
त्यस्तै, ०७० माघमा दुबईबाट काठमाडौं आएका भारतीय नागरिक विक्रम कुमार विसनदास जुत्ताभित्र लुकाएको साढे दुई किलो सुनसहित समातिएका थिए । ०७० माघमै सारजाहाबाट काठमाडौं आएका भारतीय नागरिक ओमप्रकाश विश्वकर्मा, किलीराज सिंह र रितिराज सिंह १७ किलो सुनसहित विमानस्थलबाट समातिएका थिए । त्यस्तै, ०७० चैतमा दुई किलो सुनसहित बालकृष्ण अग्रवाल प्रहरिको फन्दामा परे ।
०७१ वैशाखमा विमानस्थलबाट सुनसहित समातिने भारतीय नागरिकमा सुन्दुराव मालिक, आजाद सिंह, अब्दुल रफ चुमान, साफी फैजा, साजत अनुवार, लक्ष्मी सोनी र राजकुमार सोनी रहेका छन् । उनीहरूको साथबाट पाँचदेखि सात किलोसम्म सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्रिभुवन विमानस्थलपछि तातोपानी भन्सार अखडा
अवैध सुनको ओसारपसारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सिन्धुपाल्चोकको तातोपानी भन्सार कहलिएको छ । ०७० सालमा मात्रै तातोपानी र त्यस आसपासको स्थानबाट प्रहरीले ४६ किलो अवैध सुन बरामद गरेको थियो । तातोपानी भन्सार निकासी गेट र त्यस आसपासबाट अवैध सुनका डल्लासहित प्रहरिको फन्दामा पर्नेमा न्यून संख्यामा नेपाली नागरिक तथा अधिकांश चिनियाँ नागरिक रहनेछन् ।
०७० मंसिर १९ गते १६ किलो सुनसहित सिन्धुपाल्चोकका मार्मिङ तामाङ, चिनियाँ नागरिक झोउ पेई तथा ली जुयन समातिएका थिए । उनीहरू तिब्बतर्फबाट नेपाल प्रवेश गर्दै थिए ।
०७० पुस पहिलो साता खासाबाट काठमाडौंतिर पैदल हिँडेका चिनियाँ नागरिक वाङ मु दुई किलो सुनसहित पक्राउ परेका थिए । ०७० माघको पहिलो साता नेपाल आउँदै गरेका चिनियाँ नागरिक चेन रोङ्जी तातोपानी भन्सार निकासी गेटमा समातिँदा उनको साथबाट आठ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
०७० फागुन दोस्रो साता चिनियाँ नागरिक छिरिजियान्चाओ तिब्बतीयन कर्ना छिरिङ शेर्पाको टाटा सुमोमा १० किलो सुन लुकाएर काठमाडौं आउँदै गर्दा बाह्रबिसेबाट समातिए ।
तातोपानीबाट अवैध सुन ओसार्न अधिकांश चिनियाँ नागरिक संलग्न भए पनि उनीहरूकै सहयोगीका रुपमा केही नेपाली तस्कर तथा गाडीचालक पक्राउ पर्ने गरेका छन् ।
०७० फागुन पहिलो साता तातोपानी–५ लार्चाबाट चालक दीपक श्रेष्ठ र सवारी धनी छिरिङ फिन्जो लोप्चन एक किलो सुनसहित समातिएका थिए । उनीहरू समातिएको केही दिनपछि लार्चाबाटै चिनियाँ नागरिक ज्यापिङ हे एक किलो सुनको थैलोसहित समातिएका थिए ।
एयरपोर्ट र तातोपानीबाट उम्केपछि कता जान्छ सुन ?
त्रिभुवन विमानस्थल र तातोपानी भन्सारबाट अनेक सेटिङपछि उम्कन सफल सुनका थैला केही काठमाडौंमा खोलिन्छन् । काठमाडौंमा खपत नहुने सुनलाई भारतीय बजारसम्म पुर्याउनुअघि तस्करले काठमाडौंका विभिन्न भागमा लुकाइछिपाई राख्ने गरेको पाइन्छ । यसै क्रममा राजधानीका चक्रपथ, नक्साल, कोटेश्वरलगायत स्थानबाट त्यस्ता अवैध सुन फेला पर्ने गरेको प्रहरीका एक उच्च अधिकारीले बताए ।
०७१ मंसिरमा काठमाडौंको नक्साल भगवतीबहालमा लुकाइछिपाई राखेको अवस्थामा १५ किलो अवैध सुन फेला परेको थियो । ०७१ पुसमा लोकन्थली र थिमी नगरपालिकाबाट ६ किलो सुनसहित दश अभियुक्त पक्राउ परेका थिए । ०७१ माघमा सुन व्यवसायको केन्द्र मानिने राजधानीको न्युरोडमा तीन किलो अवैध सुन फेला परेको थियो ।
त्यसैक्रममा २६ असार ०७० मा कोटेश्वरमा फेला परेको ३५ किलो अवैध सुन तेस्रो मुलुकमा पुर्याउने तयारी गर्दै गर्दा तस्कर प्रहरीको फन्दामा परेका थिए । राजधानीमा समातिएको निकै ठूलो परिणामको सो सुनको मूल्य १४ करोड ७९ लाखभन्दा बढी पर्छ । एयरपोर्ट र तातोपानीबाट उम्केका सुन केही समय यसरी काठमाडौंमै लुकाइछिपाई राखिने र त्यसपछि तेस्रो मुलुकमा लैजाने काममा सुन तस्कर सक्रिय रहने गरेको पाइन्छ ।
Gold-smuggling-per-districtबाग्लुङदेखि वीरगन्जसम्म फैलिएको जालो
सुन तस्करीको जालो धौलागिरी अञ्चलको बाग्लुङ हुँदै वीरगन्ज तथा पूर्वी नेपालको विराटनगरसम्म फैलिएको छ । ०७० मा थोरै परिणाममा बाग्लुङ नगरपालिकाबाट अवैध सुन फेला परेको थियो ।
०७१ साउनमा स्याङ्जाको वालिङ नगरपालिकाबाट करिब दश लाख मूल्य बराबरको सुन प्रहरी इन्स्पेक्टर विजयराज पण्डितलगायत प्रहरीले सुराकी दिएको भन्दै स्याङ्जा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको सुराकीको हवालामा यसरी बरामद हुने सुनहरू पटक–पटक विवादको घेरामा तानिने गरेका छन् । सुराकीबापतको कमिसनका कारण पक्राउ परेका अवैध सुन अर्को विवादको भुमरीमा फस्ने गरेको पाइन्छ ।
०७० कात्तिकमा प्रहरीले वीरगन्जबाट तीन किलो सुन बरामद गर्दा सुनसँगै वीरगन्जका राजकुमार दारुका र हरेन्द्र यादव पक्राउ परेका थिए । दारुकाले यादवलाई सुन बेच्दै थिए भने, यादव त्यही सुन भारतीय बजारसम्म पुर्याउने योजनामा थिए । सोही वर्षको पुसमा बाराका दिनेश चौधरी चार किलो सुनसहित वीरगन्जबाट समातिए । त्यस्तै, काठमाडौंबाट वीरगन्ज पुगेको सुन भारततर्फ पठाउने तयारी गर्दै गर्दा पर्सा बगही गाविसका सन्दीप सर्राफ वीरगन्ज–१७ बाट समातिए ।
०७० माघको तेस्रो साता टाटा सुमोमा वीरगन्जतिर जाँदै गरेका जितेन्द्र शाह बाराको सिमरामा पक्राउ परे, उनको साथबाट प्रहरीले एक किलो सुन बरामद गरेको थियो ।
०७० मा सुन तस्करले जनकपुर नगरपालिकालाई पनि आफ्नो जक्सन बनाएको पाइन्छ । सोही सालको चैत अन्तिम साता जनकपुर नगरपालिकाबाट ६ किलो सुन बरामद भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विराटनगरका चन्द्रशेखर महतो, अमरकुमार महतो र कैलाश सोनी दुबईबाट सुन बोकेर विराटनगर जाँदै थिए । उनीहरू ०७० पुस २८ गते करिब आठ किलो सुनसहित मोरङको हात्तीमुढा गाविसबाट समातिए ।
०७० असोजको तेस्रो साता बर्दियाको कालिका–५ मा आधा किलो सुन फेला परेको थियो । सो सुन बोकेका बर्दियाकै देउडाकला–४ बस्ने विहारीलाल थारु पक्राउ परेका थिए । सोही वर्ष पाल्पा र रुपन्देहीबाट पनि थोरै परिणाममा सुनका थैला बरामद भएका थिए ।
अर्को खतरनाक जक्सन मकवानपुर
सुन तस्करले मकवानपुरलाई मायावी जक्सन बनाएसँगै क्षेत्रीय प्रहरी कार्यालय हेटौंडालाई भने टाउको दुःखाइको विषय बन्दै गएको छ । हेटौंडामा अवैध सुनको ओसारपसार बढेसँगै प्रहरीले पनि आफूलाई थप सक्रिय बनाउँदा ठूलो परिमाणमा सुन बरामद गर्न सफल भएको बताइएको छ । आर्थिक वर्ष ०६९÷७० मा करिब १९ किलो सुन बरामद गरेको क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले ०७०÷७१ मा ३९ किलो र ०७१/७२ मा ८४ किलो सुन बरामद गर्न सफल भएको थियो । ०७२/७३ मा एक किलो सुन बरामद गरिएको क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
सुनसँगै फैलिएको चाँदीको अवैध धन्दा
अवैध सुन तस्करीसँगै चाँदीको कारोबार पनि हुने गरेको पाइन्छ । प्रहरी स्रोतका अनुसार सुनको तुलनामा सामान्य रूपमा तस्करी हुँदै आएको चाँदीको बरामद परिमाण निकै कम रहेको छ ।
आर्थिक वर्ष ०७०/७१ मा क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले चार सय २८ किलो चाँदी बरामद गरेको थियो । यो परिमाण हालसम्म बरामद भएकोमध्ये सबैभन्दा ठूलो भएको प्रहरी स्रोतको भनाइ छ । ०७१÷७२ मा एक सय ७४ किलो चाँदी बरामद गरेको मकवानपुर प्रहरीले ०७२/७३ मा २९ किलो चाँदी समातेको थियो ।
०७१ असारमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– १ बाट दुई सय ९० तोला चाँदीको कचौरासहित काठमाडौं– १५ बस्ने नेवाङ शेर्पा र चुङछिरी शेर्पा पक्राउ परेका थिए । उनीहरूकै साथबाट चार सय १४ तोला चाँदीका पानस लुकाइछिपाई भारत लैजान लागेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
कतिपय अवस्थामा सुन तस्करको प्रि–इन्फर्मेसन पाउँछौं
कमल सिंह बम, प्रहरी प्रवक्ता
spotlight-kamal-singh-bam-interview-28aug-2015अवैध सुन धेरैजसो एयरपोर्ट र भन्सार नाकामा फेला पर्छन् । अन्य मुलुकबाट जहाज हुँदै आउने कतिपय सुन नेपाल आएपछि खुला बोर्डरका कारण तस्करले ल्यान्ड वेमार्फत भारततिर लैजाने गरेको पाइन्छ ।
तस्करहरूको कारोबार एकले अर्कोबारे थाहा नपाउने प्रकारको पनि हुन्छ । कतिपय अवस्थामा मुख्य तस्कर पक्राउ नपर्ने अनि बीचका मान्छे समातिए पनि मुख्य अभियुक्तसम्म प्रहरी नपुग्ने खालको संयन्त्र उनीहरूले निर्माण गरेको पाइन्छ । यस्तो अवस्थामा बीचमा थोरै पैसा लिएर काम गर्ने मान्छेलाई कताबाट सुन आयो, कता जाँदै छ भन्नेबारे थाहा हुँदैन ।
सुन तस्करले कुनै पनि ठाउँलाई ट्रान्जिट बनाउनुमा उनीहरूले टार्गेट गरेको स्थानसम्म पुर्याउनका लागिकुन मार्ग सुरक्षित र सहज छ भन्ने पनि होला । खर्चको हिसाबले पनि उनीहरूले छोटो मार्ग तय गर्ने गरेको पाइन्छ ।
चाइना, अरेबियन मुलुक र खाडीबाट आउने सुन भारतमै खपत हुने हुनाले नेपाललाई ट्रान्जिट बनाएर त्यता लैजाने गरेको हुन सक्छ ।
तस्करहले आफू जुन टेक्निकमा सफल हुँदै आएको छ, त्यही टेक्निक प्रयोग गर्छन् । जब प्रहरीले उसको टेक्निक थाहा पाउँछ त्यसपछि उसले अर्को प्रविधि अपनाउन थालिहाल्छ । त्यसका लागि फल्स बटन बनाउने, क्युरियोका सामान भनेर भित्र सुन हाल्ने देखिएको छ । यस्ता शैली परिवर्तन भइरहन्छन् । तर हामीले कताबाट आएका यात्रुले त्यस्तो कारोबार गर्न सक्छन् भनेर स्टडी गरेका हुन्छौं, उनीहरूलाई हामीले शंकास्पद रुपमा हेरिरहेका हुन्छौं । हामीले त्यस्तो कारोबार गर्ने व्यक्तिको बडी ल्यांग्वेज र अनुहार तथा हेराईले पनि धेरै कुरा थाहा पाउन सक्छौं ।
विमानस्थलमा सिसिटिभी फुटेजबाट मनिटरिङ गर्दा जहाँजबाट झरेदेखि प्यासेन्जरको मुभमेन्ट वाच भइरहेको हुन्छ । साइकोलोजिकल्ली कतिको स्ट्रेस छ, त्यो हेर्र्छांै । अर्को चाहिँ सूचनाले पनि ब्याकअप गरिराखेको हुन्छ । कतिपय अवस्थामा हामीलाई प्रि–इन्फर्मेसन हुन्छ । त्यस्तै, कारोबार र्याकेटका विभिन्न समूहमध्ये एउटाले अर्कोलाई फसाउन सूचना लिक गरिदिएको हुन्छ ।
अवैध सुन विशेषगरी एयरपोर्ट र भन्सार नाकाबाट बरामद हुने गरेको छ । राजमार्गमा पनि इन्फर्मेसनका आधारमा चेकिङ गरेका छौं । चेकपोस्टहरूमा बढी फेला पर्ने गरेको छ ।
(प्रहरी प्रवक्ता एवं डीआईजी बमसँगको कुराकानीमा आधारित)
Published on: Ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/