Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

यसकारण संविधान निर्माणमा आँखा चिम्लेर हामफालेँ : प्रचण्ड

काठमाडौं– अधिकतम लचकता र पहलकदमीसहित नयाँ संविधान निर्माणमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड यतिबेला चर्चामा छन् । ‘जनताका प्रतिनिधिले पहिलोपटक जनताको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान घोषणा गर्दै छन्, जसले पहिलोपटक नेपाली जनतालाई सार्वभौम भनेको छ’, यो कुरामा प्रचण्ड उत्साही देखिन्छन्, खुसी देखिन्छन् र असन्तुष्टको माग सम्बोधन गर्ने रोडम्याप खोज्दैछन् ।
प्रचण्डलाई असोज ३ गते पछि देशले नयाँ मोड लिने विश्वास छ । जोखिम मोलेर प्रचण्डले किन यो कदम चाले, अव देश कता जान्छ ? नयाँ संविधानपछि तराई–मधेशको आन्दोलन कसरी सम्बोधन हुन सक्छ ? बुधवार विहान डिस्कवरी न्युज नेटवर्क (डिएनएन) का लागि रातोपाटी प्रधान सम्पादक ओम शर्मा र विधान श्रेष्ठसँग कुराकानी गरेका छन् ।
यस्ता छन् अन्तर्वाताका मुख्य १८ बुँदा १–असोज ३ लामो समयदेखिको नेपाली जनताको सपनाले मूर्तरूप लिएको ऐतिहासिक दिन हुनेछ । मलाई लाग्छ, असोज ३ पछि देशले नयाँ मोड लिनेछ । यो आमनेपाली जनताका लागि निकै ठूलो गर्व र खुसीको क्षण हुनेछ । २–मधेस र तराईमा आन्दोलन भइरहेको छ, यसमा हाम्रो नैतिक समर्थन छ । आन्दोलनका जायज मागप्रति हाम्रो सदैव नैतिक समर्थन रहन्छ । आन्दोलनका क्रममा तराई र मधेसमा जनताले ज्यान गुमाएकोप्रति हाम्रो गहिरो दुःख छ । ३–जनताका प्रतिनिधिले पहिलोपटक जनताको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान घोषणा गर्दै छन्, जसले पहिलोपटक नेपाली जनतालाई सार्वभौम भनेको छ । ४–नयाँ संविधानमा केही छैन र जनजाति मधेसीलाई केही पनि दिएन भन्नु मलाई धेरै नै ठूलो झुट र जनतालाई भ्रमित पार्ने कसैको डिजाइन त होइन भन्ने लागेको छ । ५–मलाई के लाग्छ भने वार्ताद्वारा नै समस्या समाधान गर्नुपर्छ । मधेसका जनता उत्तेजित हुनुपर्ने र आत्तिइहाल्नुपर्ने अवस्था छैन । सप्तरीदेखि पर्सासम्मको प्रदेश हुनु ठूलो कुरा हो । पहिचान कसैले पायो भने त्यो मधेसी जनताले पाएका छन् । यो कुरा बुझेकाले बुझाइदिनुपर्छ । उल्टो पाएको कुरा जनतालाई नभनेर चिन्तित र उद्वेलित बनाइदिने काम गर्नु हुँदैन । ६–मधेसको संवैधानिक आयोग पनि भएको छ । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरेका छौं, यो यहाँका जनताका लागि महत्त्वपूर्ण कुरा हो । ७–संविधान घोषणा भएपछि तत्काल वार्तामा बसेर समाधान गर्नुपर्ने हुन्छ । म विश्वास दिलाउन चाहन्छु, हामी असन्तुष्टि सम्बोधन गरेर, समस्या समाधान गरेर देशमा राष्ट्रिय एकताको वातावरण बनाएर, परिवर्तन संस्थागत गरेर, विकासमा जाने वातावरण बनाउँछौं भन्ने विश्वास छ । ८–थारु समुदायले त हामी कुनै हालतमा उता गएर शरणार्थी शिविर बनाउँदैनौँ भनिसकेका छन् । मधेसी जनताले पनि काठमाडौंमा आफ्नो हक लिने कुरा छोडेर अर्को देशमा गएर शिविर बनाउँछन् भन्नेमा मलाई विश्वास लाग्दैन । ९–यो स्थितिमा भारतले आफ्नो क्षेत्रमा शरणार्थी शिविर बनाउँछ भनेर म कल्पना पनि गर्न सक्दिनँ । आज विश्वकै एउटा शक्ति बन्न खोजेको भारतले यस्तो कच्चा काम गर्ला भनेर कल्पना गर्नु पनि राम्रो होइन भन्ने मलाई लाग्छ । १०–अहिले पूर्वराजाले के भनेका छन् भन्ने आधिकारिक जानकारी मलाई छैन । तपाईंहरूकै रातोपाटीमार्फत हिजो जुन समाचार बाहिर आयो, घटना क्रम हेर्दा त्यो चाहिँ सत्य हो कि भनेर सोच्ने ठाउँ पक्कै पनि छ । तपाईंहरूले पक्कै पनि सत्य–तथ्य बुझेरै त्यो समाचार लेख्नुभयो होला । ११–मेरो भनाइ के छ भने यसमा दोषी पूर्वराजा पनि छन् । त्यतिबेला होलेरी आक्रमणपछि उनले वार्ताको वातावरण बनाउन छोडेर, अझ संकटकाल लम्ब्याएर सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर जान किन खोजे त ? त्यसकारण त्यसको दोषी त उनी आफैँ छन् । यो कुरा इतिहासले पुष्टि गरिसकेको छ । उनले त्यसमा पश्चाताप पो गर्नुपर्छ, मैले सकिनँ भनेर । १२–उनले गृहयुद्धको धम्की दिने गलत कुरा हो । समस्या समाधान हुन्छ, जनताले मिलेर गर्छन्, गर्नु पनि पर्छ । एउटा राष्ट्रवादीले ‘सबै नेपाली जनता मिलेर जानुपर्छ’ भन्नुपर्ने हो । उल्टै मलाई स्पेस नदिए गृहयुद्ध हुन्छ भन्नुले उनको राष्ट्रवादिता खोक्रो रहेको साबित हुन्छ । १३–म आफैँ अहिले मधेसी जनताको प्रतिनिधिको रुपमा संविधानसभामा छु, मलाई मधेसी जनताले जिताएर पठाएको हो । मधेसी जनताप्रति मेरो गहिरो विश्वास छ । हिजो जनयुद्धकालमा पनि विद्रोह गर्ने प्रेरणा मैले मधेसी जनताबाट धेरै हदसम्म पाएको हुँ । मैले धेरैपटक सार्वजनिक रुपमा भनेको छु– सशस्त्र संघर्षको तयारी धनुषा, सिरहा, महोत्तरीबाट गरिएको हो । १४–विखण्डन गर्न खोज्ने, स्वतन्त्र मधेस भन्नेहरू आत्मघाती हुन् । जनता त्यसको पक्षमा कुनै हालतमा लाग्दैनन् भन्ने विश्वासमै मैले त्यसो भनेको हुँ, मधेसी जनताप्रतिको विश्वास व्यक्त गरेको हुँ । मेरो हृदयमा मधेसी जनताप्रति जुन अपार विश्वास छ, त्यो विश्वासका कारण मैले त्यसो भनेको हुँ । १५–खुसीको कुरा के हो भने, सोह्रबुँदेदेखिको यात्रामा हाम्रो लिडरसिप लेभलमा त्यस्तो मतभेद छैन । कहिलेकाहीँ यसो गरे हुन्थ्यो कि भन्ने खालका सोचहरू आउनु अस्वाभाविक होइन । कतिपय बेला फेरि हाम्रो नेतृत्वमा हुँदै नभएका मतभेद पनि भए भनेर मिडियामा अनावश्यक प्रचार पनि भएको छ । १६–इतिहासको खासखास मोडमा लिडरसिपमा एउटा कन्भिक्सन आयो भने मैले आँखा चिम्लेर हामफाल्ने गरेको छु । अब यो नगर्नु, राष्ट्रको निम्ति, जनताको निम्ति निकै ठूलो अप्ठेरो आउँछ भन्नेमा म पुग्छु, मैले त्यति धेरै दायाँबायाँ हेर्दिनँ । मेरो पार्टी के हुन्छ, मेरा वरिपरिका साथीले के भन्छन्, यसमा मलाई त्यति धेरै चासो हुँदैन । मैले यो गरिछाड्नैपर्छ भन्ने सोच्छु । १७–पछिल्लो अवस्थामा फेरि पनि संविधान नबन्ने, देश झन् ठूलो अन्योल, अराजकता, भुमरीमा फस्ने खतरा देखियो । त्यसमाथि भूकम्पले स्थितिलाई अझ भयावह बनायो । अब यो देशले थप अन्योल, अराजकता सहन सक्दैन भन्ने भएपछि म संविधान निर्माणमा मसक्कै लागेकै हुँ । १८– म अति छिटो एकैचोटि राष्ट्रको प्रधानमन्त्री भएँ । जसले गर्दा मलाई यसलाई कसरी अगाडि बढाउने भन्ने बुझ्न नै समय लाग्यो । अब ती सबैबाट पाठ सिकेर मुलुकलाई अब यसरी लानुपर्छ भन्ने निष्कर्ष बनेको हो ।
Read more in Ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/