Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

स्मार्ट’ आन्दोलन

भाद्र २१, २०७२- केही सातादेखि भारतको गुजरातमा चलेको पटेल समुदायको आन्दोलन रोक्न त्यहाँको राज्य सरकारले कर्फ्यू र सेना परिचालन मात्र पर्याप्त ठानेन । उसले गुजरातको ठूलोमध्येको एक सहर अहमदाबादमा मोबाइल इन्टरनेट नचल्ने बनायो, जहाँ पटेल समुदायको आन्दोलन उत्कर्षमा थियो । मोबाइल इन्टरनेटमा रोक लगाउनुको सोझो अर्थ थियो– सर्वसाधारणमाझ लोकप्रिय मोबाइल एप ‘ह्वाट्सएप’ को पहुँच नदिनू । आन्दोलनकारीले सूचना आदानप्रदानका लागि ह्वाट्सएपको व्यापक प्रयोग गरेका थिए, त्यस आन्दोलनलाई कतिले ह्वाट्सएप आन्दोलनकै नाम समेत दिएका छन् ।

अगस्ट २५ मा पक्राउ परेका आन्दोलनका नेता हार्दिक पटेलले आन्दोलनकारीलाई ह्वाट्सएप मार्फत भोलिपल्ट बन्दको आह्वान गरेपछि राज्यले यस्तो जुक्ति निकालेको थियो । तर, भारतको गुजरात राज्यमाकेत्रै यस्तो प्रतिबन्ध लगाउने पहिलो निकाय भने होइन । 

सन् २०१० मा ट्युनिसियाबाट सुरु अरब आन्दोलनका क्रममा सोसल मिडिया र मोबाइल इन्टरनेटको व्यापक प्रयोग भएको थियो । ट्युनिसियाबाट सुरु भएर इजिप्ट, लिबिया, यमन, सिरिया र बहराइनमा भएको निरंकुशताविरोधी प्रदर्शनमा सोसल मिडिया र मोबाइल इन्टरनेटको प्रयोगलाई ‘कलेक्टिभ एक्टिभिजम’ को उदाहरण मानिन्छ । आन्दोलनका बेला ट्युनिसिया र इजिप्टमा ट्विटर र फेसबुकमाथि नै प्रतिबन्ध लगाइएको थियो । आन्दोलनकारीले आदानप्रदान गर्ने सूचनामा कडाइ गर्न यस्तो प्रतिबन्ध लगाइएको हो ।

अरब आन्दोलनमा फेसबुक, ट्विटरको प्रभावबारे ‘दुबई स्कुल अफ गभरमेन्ट’ ले गरेको एक अनुसन्धानमा सहभागी इजिप्ट र ट्युनिसियाका १० आन्दोलनकारीमध्ये ९ जनाले विद्रोहका क्रममा फेसबुक प्रयोग गरेको जवाफ दिएका थिए । अरब आन्दोलनमा आन्दोलनकारी आफैंले फेसबुक र ट्विटरमा सेयर गरेका तस्बिर, भिडियो र जानकारी अन्तर्राष्ट्रिय मिडियाको लागि ‘स्कुप’ मसला बने ।
आन्दोलनकारीले यस्ता सोसल मिडिया चलाउन थालेपछि यसका प्रयोगकर्ताको संख्याले स्थानीय मिडियाका पाठक, स्रोता र दर्शकलाई उछिन्यो । आन्दोलनको तीन महिनामा ट्विटरमा इजिप्ट ह्यासट्याग मात्रै साढे एक अर्बपटक मेन्सन भएको थियो । लिबिया ह्यासट्याग झन्डै १० लाख, बहराइन ह्यासट्याग ६ लाखभन्दा बढीपटक प्रयोग भएको थियो । सोसल मिडियामा प्रयोग भएका अरबका अधिकांश आन्दोलन आफ्नो उद्देश्यमा सफल पनि भएका छन् ।
 
विश्वभर हुने आन्दोलनमा सोसल मिडिया र मोबाइल एप्लिकेसनहरू लोकप्रिय बन्दै गएको छ । मानिसलाई आन्दोलनबारे जानकारी, आन्दोलनकै बेलामा तस्बिर र भिडियो प्रवाह गर्न सकिने भएकाले यसको प्रभावकारिता बढेको हो । सत्ता र शक्तिलाई चुनौती दिन थालेपछि स्वाभाविकै हो– यसमा सरकारी अंकुश पनि पर्न थालेको छ ।

प्रजातन्त्र माग्दै अघिल्लो वर्ष हङकङमा भएको आन्दोलनलाई रोक्न सरकारले मोबाइल, इन्टरनेटमा प्रतिबन्ध लगाएको थियो । तर, आन्दोलनकारीहरू यत्तिमै रोकिनेवाला थिएनन् । त्यही बेलामा अमेरिकी कम्पनी ओपन गार्डेनले ‘फायर च्याट एप’ भर्खरै सार्वजनिक गरेको थियो । यसको विशेषता के भने, यसमा म्यासेज पठाउन इन्टरनेट आवश्यक थिएन । प्रयोगकर्ताले ब्लुटुथको माध्यमबाट वरपरको मोबाइलमा बिनाइन्टरनेट सन्देश पठाउन सक्थे । 
कन्सर्टमा सहभागी हुने युवालाई लक्षित एप अधिकारको आन्दोलनकर्मीहरूले प्रयोग गरेर नयाँ सम्भावनाको पाटो खोलिदिएपछि निर्मातामध्येका एक मिका बोनोलिल पनि दंग थिए । हङकङको आन्दोलनमा आफ्नो एप प्रयोग भएको हेर्न उनी आफैं त्यहाँ पुगेका थिए । आन्दोलन दबाउन मोबाइल इन्टरनेटमा प्रतिबन्ध लगाइए पनि रोक्न नसकिने सन्देश एपको प्रयोगले दिएको थियो ।
यसै वर्ष इक्वेडरमा भएको ट्याक्स विरोधी आन्दोलनमा पनि फायरच्याट प्रयोग भयो । सरकारले मोबाइल इन्टरनेटमा कडाइ गरेपछि उनीहरूले हङकङेली आन्दोलनकारीको सिको गरे । हङकङ र इक्वेडरको आन्दोलनमा फायरच्याट मार्फत सन्देश आदानप्रदान भएको भरमा हजारौं मानिस सहभागी भएका थिए ।

आन्दोलनमा सहभागिताका लागि आह्वान गर्न होस् वा आन्दोलन चलिरहेको बेला सूचना आदान प्रदान गर्न, अन्य परम्परागत सञ्चारमाध्यमभन्दा सोसल मिडिया र मोबाइल एप प्रभावकारी देखिन्छन् । किनकि यसमा तत्काल सन्देश प्रवाह गर्न सकिन्छ र चाहनेजत्तिले तुरुन्त सूचना पाउन सक्छन् । यसका लागि स्मार्टफोन नै काफी हुन्छ ।

यस्ता प्रविधिको प्रयोग सधैं आन्दोलनको लागि मात्रै हुन्छन् भन्ने पनि छैन् । सामाजिक सद्भाव र भ्रातृत्व जगाउने काममा पनि यसको प्रयोग हुन सक्छ । जस्तो– कैलाली टीकापुरमा ७ जना सुरक्षाकर्मी मारिएपछि राजधानीको माइतीघर मण्डलामा आयोजित श्रद्धाञ्जलि सभामा झन्डै २ हजार ५ सय सहभागी भएका थिए । श्रद्धाञ्जलि सभाका सबै सहभागी फेसबुक ग्रुपमा निम्तोमा त्यहाँ पुगेका हुन् । फेसबुकको ‘फेसेस अफ नेपाल इन फोटोग्राफी’ र ‘मेन्स रुम नेपाल ग्रुप’ ले आफ्नो फेसबुक पेज मार्फत सहभागी हुन आह्वान गरेका थिए । लगत्तै, २९ अगस्टमा सद्भाव फैलाउने उद्देश्यले विविधतामा एकता नाम दिएर माइतीघर मण्डलामै गरिएको एक हजार दीप प्रज्ज्वलनका सहभागी पनि फेसेस अफ नेपाल इन फोटोग्राफीको आह्वानमा सहभागी भएका थिए ।

भारतस्थित सोसल मिडिया एनालिटिक कम्पनी सिम्लिफाई ३६० का संस्थापक भूपेन्द्र खनाल आन्दोलनको बेला हिंसा भड्काउन पनि सोसल मिडियाको प्रयोग भएको बताउँछन् । ‘सत्य तथ्य बाँड्न पनि प्रयोग भएको छ तर सोसल मिडिया मार्फत बाँडिएका सत्य स्वतन्त्र रूपमा पुष्टि हुँदैन,’ उनी भन्छन् । आन्दोलनका बेला ट्विटर, फेसबुक, ह्वाट्सएप मार्फत हिंसा भड्काउने खालका हल्ला फैलाउन प्रयोग हुन सक्ने भएकाले समस्या समाधान नहुन्जेल मोबाइल इन्टरनेटमा प्रतिबन्ध लगाउनु जायज लाग्छ उनलाई ।
एजेन्सीहरूको सहयोगमा आन्दोलनमा सहभागिताका लागि आह्वान गर्न होस् वा आन्दोलन चलिरहेको बेला सूचना आदान–प्रदान गर्न, अन्य परम्परागत सञ्चारमाध्यमभन्दा सोसल मिडिया र मोबाइल एप प्रभावकारी देखिन्छन् । किनकि यसमा तत्काल सन्देश प्रवाह गर्न सकिन्छ र चाहने जतिले तुरुन्त सूचना पाउन सक्छन् । यसका लागि स्मार्टफोन नै काफी हुन्छ ।
(एजेन्सीकाे सहयाेगमा)
Ą
https://www.flickr.com/photos/spklg/15211044551/