Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको खुलासा

झापा– नेपाली भाषा बोल्न त परको कुरा, बुझ्नसमेत नसक्ने तिब्बती शरणार्थीलाई ललितपुर जिल्ला प्रशासनले नेपाली नागरिकता दिएको फेला परेको छ । सरकारले नेपाली नागरिक भनेर दिएको त्यही प्रमाणलाई आधार बनाउँदै ती व्यक्तिले निर्वाध सुन तस्करी धन्दा चलाइरहेको पनि खुलेको छ।
नेपाली नागरिकताधारी तिब्बती शरणार्थी पक्राउ परेलगत्तै नेपालको पूर्वी प्रवेश नाका काँकडभिट्टालाई मुख्य ट्रान्जिट बनाएर पछिल्लो समय सुन तस्करी मौलाएको तथ्य पनि सँगसँगै खुलेको छ। भारत पश्चिम बंगालको सिलिगुढी सहरबाट झापाको काँकडभिट्टा नाकाहुँदै कारोबारीहरुले नेपालमा अवैध रुपमा सुन भित्र्याइरहेको पाइएको छ । यसअघि दुई महिना अघि मात्रै भारत बाघडोग्राको विमानस्थलमा तीन जना भारतीय नागरिक ठूलो परिमाणमा सुनसहित पक्राउ परेका थिए।
त्यसबेला उनीहरुको साथमा रहेको २० केजी सुन नेपालको राजधानी काठमाडौं पठाउन लागिएको बयान ती अभियुक्तले दिएका थिए। 'पछिल्लो समयमा सुन तसकरीको मुख्य रुट सिलिगुढी–काँकडभिट्टा–काठमाडौं भएको तथ्यहरु खुल्दैछ' जिल्लाका एक जना सुरक्षा अधिकारी भन्छन् 'अबको साता दिनमा धेरै नयाँ कुरा बाहिर आउने आशामा छौं।'

मंगलबार दिउँसो झापाको भद्रपुर विमानस्थलबाट एक जना युवक १० केजी सुनसहित पक्राउ परेपछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट यस्तो तथ्य खुलेको हो। तिब्बती नागरिक भएर पनि नेपाली नागरिकता लिएर सुन ओसारपसारमा लामो समयदेखि सक्रिय रहेका ती युवकले यसअघि पनि पटक–पटक राजमार्गबाटै सुन राजधानीसम्म पुर्याउने गरेको प्रहरीलाई बयान दिएका छन् । १० केजी सुनसहित झापा प्रहरीको फन्दामा परेका तिब्बती शरणार्थी युवकले ललितपुर जिल्लाबाट नागरिकता लिएको भेटिएको छ । उनको साथबाट बरामद भएको सुन नेपाली बजार भाउ अनुसार ४ करोड ८१ लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। मंगलबार दिउँसो नै सुनसहित मान्छे समातेको प्रहरीले समातिएको धातु सुन नै हो भनेर बुधबार मात्रै प्रमाणित गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले सुनसहित पक्राउ परेका १९ वर्षीय तेन्जिङ सिरुप नाम बताउने तिब्बती युवकलाई बुधवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उनले ताप्लेजुङको हाङदेबा गाविस –१ लाई जन्मस्थान देखाई ललितपुरबाट २०७१ बैशाख ३ गते २८–०१–०७१–०००२ नम्बर भएको नागरिकता सोनाम गुरुङको नाममा लिएको फेला परेको छ। उनको साथबाट प्रहरीले एक÷एक केजीका १० टुक्रा सुन, २० हजार नेपाली रुपैयाँ र १ हजार ४० भारु पनि बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए ।

नेपाली भाषा बोल्नै नजान्ने तेन्जिङ हिन्दी र अंग्रेजी मात्र बोल्न सक्छन। नेपाली भाषा बुझ्न पनि उनलाई ज्यादै गाह्रो पर्ने प्रहरीले जनाएको छ । तर, ललितपुर जिल्ला प्रशासनले उनलाई नेपाली नागरिक भएको प्रमाण चाहिँ दिएको छ । भारत सिलिगुढीका राजेश भन्ने व्यक्तिले उनलाई काठमाडौमा बस्ने भाईलाई सुन जिम्मा लगाउन भनी आफूलाई अह्राएको उनले बताएका छन् । काँकडभिट्टाबाट राजधानीसम्म सुन पुर्याएबापत उनले प्रति किलो भारतीय रुपैयाँ ५ हजार पाउने शर्त थियो । तराईमा यातायात बन्द भएकाले हवाइजहाजबाट जान भनेर पठाएको उनले बयान दिएका छन् ।

मंगलबार दिउँसो २ बजेर ५ मिनेटको बुद्ध एयरलाइन्सबाट काठमाडौ हिँडेका तेन्जिङलाई भद्रपुर विमानस्थलका सुरक्षाकर्मीले नियमित चेकजाँचका क्रममा पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख ज्ञवालीले जानकारी दिए । उनले लगाएको जुत्ता भित्र कालो प्लाष्टिकमा बेरेर टेप लगाएर सुन लुकाएका थिए । प्रहरी जवान घनश्याम राईले शंका लागेर जुत्ता खोल्न लगाउँदा उनलाई सुनसहित पक्राउ गर्न प्रहरी सफल भएको हो। पक्राउ परेका तेन्जिङसंग नेपाली नागरिकता भएकोले प्रहरीले उनको बिषयमा थप अनुसन्धान गरिरहेको र उनलाई क्षेत्रीय राजश्व कार्यालय इटहरी बुझाउने प्रहरीले जानकारी दिएको छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/