Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मण्डलामा सिरु मारानी मञ्चन हुँदै

भाद्र १०, २०७२- 
मण्डला नाटकघरमा भदौ ११ गत,े शुक्रबारदेखि नाटक सिरु मारानीको मञ्चन हुने भएको छ । मण्डलामा अभिनय सिकिरहेका चौथो ब्याच अन्र्तगतका विद्यार्थीहरुको ‘स्टुडेन्ट प्रोडक्शन’स्वरुप तयार पारिएको  नाटक सिरु मारानीलाई नाट्यकर्मी तथा चलचित्र अभिनेता दयाहाङ राईले निर्देशन गरेका हुन् । मण्डला थिएटर नेपालद्वारा सञ्चालन हुने अभिनय प्रशिक्षण कार्यक्रम थिएटर ल्यावको चौथो संस्करण अन्र्तगतका २० जना कलाकारहरुको साथमा मण्डलाका केही पुराना कलाकारहरुले नाटकमा सहभागिता जनाउनेछन् । 

पाका रंगकर्मी तथा लेखक सरुभक्तद्वारा ६० को दशकमा लेखिएको नाटक सिरु मारानीमा एउटी नारीले आफूमाथि जवरजस्ती लादिएको कर्तव्यको सट्टामा आफ्नो नारीधर्म बचाउन गरेको संघर्षको कथा छ । लोकशैलीमा लेखिएको नाटक मूलत: प्रेमकथामा आधारित छ । कुनै एउटा गाउँमा माछा मारेर आफ्नो जीविकोपार्जन गर्ने एउटा माझीको जालमा एकदिन अनौठो प्रकारको माछा पर्छ । माझीले कहिल्यै पनि त्यस्तो माछा देखेको हुँदैन । घर पुगेर आफ्नो पेरुङ्गोबाट त्यो माछा निकाल्दा माछा एक अनिध्य सुन्दरीमा रुपान्तरण हुन्छिन् । सुन्दरी श्रापित नागराजकुमारी हो भन्ने कुरा माझीले सुन्दरीबाटै थाहा पाउँछ । सुन्दरीसँग माझीले घरजम गर्छ । उनीहरुबाट एक छोरी जन्मिन्छे – सिरु । छोरी जन्म पश्चात सुन्दरी नागलोक नै फर्किन्छे । त्यतीबेला एकजना अन्धा भविष्यवक्ताले सिरु चक्रवर्ती महाराजकी रानी हुने कुरा भविष्यवाणी गरिदिन्छन् । 
सिरु १६ वर्षकी हुँदा गाउँकै ढाक्रेको छोरोसँग प्रेममा पर्छे । तर सिरुको विहे चक्रवर्ती महाराजसँग नै हुन्छ । चक्रवर्ती महाराजले आफनो युवराज छोरासँग उमेर र जवानी साटफेर गरेको सिरुले दरवार पुगेपछि थाह पाउँछे । ‘आफ्नो पति को हो ?’ भन्ने दुविधामा सिरु पर्छे । उसले आफ्नो दुविधाको समाधान खोज्दा चक्रवर्ती राजाको दरबार तहसनहस हुन्छ । 

भदौं ११ गते शुरु हुने नाटक सिरु मारानी तीन सातासम्म मण्डला नाटकघरमा सोमबारबाहेक हरेक दिन साँझ ५:१५ बजेदेखि नियमित प्रदर्शन गरिनेछ । मण्डला थिएटर नेपालका निर्देशक राजन खतिवडाको परिकल्पनामा तयार भएको नाटकको लागि बुद्धि तामाङले प्रकाश संयोजन गरेका छन् । सवा दुई घण्टा लामो नाटकमा आधा सुरको प्रत्यक्ष संगीत रहनेछ । नाटकमा बिजय बराल, निशा कार्की, सोमनाथ खनाल, जीवन भट्टराई, अनुप न्यौपाने, सन्दिप पौडेल, शारदा अधिकारी, प्रेमवर्षा खड्का, बिनिता गुरुङ, खुशी लामिछाने, रियर राई, रोहित पौडेल, विज्ञान गजुरेल, सन्दिप श्रेष्ठ, मिलन कार्की, दिलजंग गुरुङ, बिशाल डोटेल, सुरज श्रेष्ठ, सिजन दाहाल र सागर खातीको अभिनय रहनेछ । 
News From:Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/