अट्रेलिया- डेभिलियर्सको शानदारमा शतकमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध २ सय ५७ रनको विजयी हात पारेको छ। टस जितेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाउँदै ४ सय ८ रन बनायो। जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले ३३.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रनमात्र बनाउन सक्यो।
जिम्बावेविरुद्ध विस्फोटक ब्याटिङ गरेको क्रिस गेल ३ रनमै आउट भएपछि वेस्ट इन्डिजको ब्याटिङ कमजोर बनेको थियो। त्यसपछि आएका मार्लोन समुयल्स पनि शून्यमै आउट भए। वेस्ट इन्डिजका लागि जासोन होल्डरले सर्वाधिक ५२ रन बनाए। त्यस्तै द्वाएने स्मिथले ३१ र डेनेश रामधीनले २२ रन बनाए।
दक्षिण अफ्रिकाका लागि इमरान ताहिर एक्लैले ५ विकेट लिए। यसअघि डेभिलियर्सले ६६ बल खेल्दै १७ चौका र ८ छक्काको मद्दतले अविजित १ सय ६२ रन बनाए। हासिम अमलाले ६५ रन बनाए। त्यस्तै दु प्लेसिसले ६२ र रिली रोसोउले ६१ रन बनाए।
त्यस्तै क्रिस गेल र अन्द्रे रुसेलले दुई दुई विकेट लिए।
डे भिलियेर्सले १ सय ४० रनको साझेदारीमा पहिलोपटक १७ चौका र ८ छक्का प्रहार गरे।
- डे भिलियर्सले वर्ल्डकप इतिहासमा दोस्रो पटक सबैभन्दा छिटो शतक बनाए। उनले ५२ बलमा शतक बनाएका हुन्।
- ३ हजार रन बनाउने डे भिलियर्स १५औं कप्तानको रुपमासमेत नाम लेखाए।
- डे भिलियर्स विश्वकपमा वेस्ट इन्डिजविरुद्ध तीन पटक खेलेका छन्। उनी तीनै खेलमा शतक बनाए।
- डे भिलियर्सले सबैभन्दा छिटो १५० रन बनाउने इतिहास रचेका छन्। यसअघि जयासूर्याको नाममा सबैभन्दा छिटो १ सय ५० रन बनाउने रेकर्ड थियो।
Source: Nagariknews