- अश्विनी कोइराला
श्रावण ३०, २०७२-
नायिका करिश्मा मानन्धर आजभोलि चलचित्रमा फाट्टफुट्ट मात्र देखा पर्छिन् । तैपनि उनी सञ्चारमाध्यमहरूमा छाइरहन्छिन् । यो वर्ष उनी नेपाली चलचित्रमा आबद्ध भएको ३० वर्ष लाग्दैछ । यस आधारमा उनको उमेर कति होला, सहजै अनुमान गर्न सकिन्छ । तैपनि उनमा २० वर्षे ठिटोलाई लठ्याउने सौन्दर्य छ । यो रूपको मोह कति उत्कर्षमा छ भने सामाजिक सञ्जालमा उनका तस्बिर मन पराउनेहरूको संख्या सयौं पुग्छ । कुनै गाउँतिर पुगिन् भने उनलाई हेर्न गाउँ नै उर्लन्छ । करिश्मासँगै चलचित्रमा आएका कतिपय नायिका अहिले हजुरआमा भएर आफ्ना नाति-नातिनीलाई चलचित्रमा आफ्नो उपस्थितिको कथा सुनाउँदै होलान् । करिश्मा भने रूपकै कारण वर्तमान नायिकाझैं अल्लारे जीवन बाँचिरहेकी छिन् ।





