Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

रूपको मोह

- अश्विनी कोइराला

श्रावण ३०, २०७२- 
नायिका करिश्मा मानन्धर आजभोलि चलचित्रमा फाट्टफुट्ट मात्र देखा पर्छिन् । तैपनि उनी सञ्चारमाध्यमहरूमा छाइरहन्छिन् । यो वर्ष उनी नेपाली चलचित्रमा आबद्ध भएको ३० वर्ष लाग्दैछ । यस आधारमा उनको उमेर कति होला, सहजै अनुमान गर्न सकिन्छ । तैपनि उनमा २० वर्षे ठिटोलाई लठ्याउने सौन्दर्य छ । यो रूपको मोह कति उत्कर्षमा छ भने सामाजिक सञ्जालमा उनका तस्बिर मन पराउनेहरूको संख्या सयौं पुग्छ । कुनै गाउँतिर पुगिन् भने उनलाई हेर्न गाउँ नै उर्लन्छ । करिश्मासँगै चलचित्रमा आएका कतिपय नायिका अहिले हजुरआमा भएर आफ्ना नाति-नातिनीलाई चलचित्रमा आफ्नो उपस्थितिको कथा सुनाउँदै होलान् । करिश्मा भने रूपकै कारण वर्तमान नायिकाझैं अल्लारे जीवन बाँचिरहेकी छिन् ।


रूपको मोह नेपाली चलचित्रमा मात्र होइन, हलिउड र बलिउडमा पनि उस्तै छ । बलिउड नायिका रेखा, हेमामालिनीहरूले ७० वर्षे उमेरमा पाइला टेक्न थाले पनि उनीहरूको सौन्दर्य चर्चा सेलाएको छैन । यी दुवै नायिकाको सौन्दर्यसँग सम्बन्धित पुस्तक त प्रकाशित भएका छन् नै, उनीहरूको स्वास्थ्य र सौन्दर्य टिप्स धेरैजसो हिन्दी-अंग्रेजी सञ्चारमाध्यमका लागि पठनीय सामग्री सावित हुने गरेका छन् । मानिसहरूले आज पनि उनीहरूले गर्ने योग, खानपान एवं दिनचर्यालाई पछ्याउने गरेका छन् । उनीहरूसँगै आएका अन्य नायक-नायिकाको दिनचर्या र खानपानको चर्चा नहुनु तर हेमामालिनी र रेखाको चर्चा हुनुको कारण के हो ? विश्लेषकहरू भन्छन्, ' खानपान र जीवनशैली नै उनीहरूको सौन्दर्य यथास्थितिमा रहनुको प्रमुख कारण हो । त्यसैले पनि उनीहरूको जीवनशैली सबैको चासोको विषय भएको छ ।' यो विश्लेषण गएको वर्ष ५० नाघेका भारतीय सेलिब्रेटीहरूबीच गरिएको थियो जसमा रेखा र हेमामालिनीको सौन्दर्यलाई सदावहार आकर्षणका रूपमा दर्शकले पहिलो पंक्तिमा राखेका थिए ।

अझ हलिउडमा एन्जिलोना जोली, जुलिया रोबर्टस, जेनिया लुम्ले, पामेला एन्डरसनहरूको सौन्दर्य गाथा त हरेक दिनजसो चर्चा हुन्छ । टिप्पणीकारहरूले केसम्म भनेका छन् भने यिनीहरूको सौन्दर्य चर्चाबिना संसारका संचारमाध्यमहरूमा चमक नै आउँदैन । सुन्दा अनौठो लागे पनि यो कुरा सत्यको निकै नजिक छ । गएको वर्ष सौन्दर्यका विषयमा गरिएको एउटा सोधले देखाएको परिणामले पनि यही भन्छ । उक्त सर्वेक्षणमा हरेक सञ्चारमाध्यमको मास्कहेडको छेउमा एउटी सुन्दर महिलाको तस्बिर नराख्ने हो भने उक्त पत्रिकाको बिक्रीमा २२ प्रतिशतसम्म गिरावट आउने दाबी गरिएको छ ।

गएको वर्ष ५० वषर्ीया बलिउड नायिका सान्ड्रा बुलकलाई पिपुल म्यागजिनले संस्ाारकै सर्वाधिक सुन्दर महिलाको उपाधि दिँदै भनेको थियो, 'सान्ड्राको सौन्दर्यमा आम मानिस कतिसम्म लठ्ठ पर्छन् भने उनको तस्बिर मोटरसाइकलको आउटलेटदेखि घर सजाउने कामसम्ममा फिट हुन्छ ।'
सौन्दर्यकै बलमा कुनै बेला बलिउड नायिका ऐश्वर्या राय सबैभन्दा बढी पारिश्रमिक लिने नायिका भएकी थिइन् भने नायिका क्याटि्रना क्याफ पनि अभिनयभन्दा सौन्दर्यकै कारण बलिउडमा जमेकी हुन्, अर्थात् रूपको मोह नेपाली नायिका करिश्मादेखि कटि्रना र बलिउडको सान्ड्रासम्म फैलिएको छ ।
तमाम सुन्दरीहरू एकनासले संसारभरका मानिसको मनमा बसेका छन् । अति गरिब मुलुकका नागरिकदेखि अति धनाढ्य मानिस बस्ने सहरसम्म सौन्दर्यको जादु उस्तै छ । प्रत्येक वर्ष महिला सौन्दर्यकै विषयमा अध्ययनमूलक लेख प्रकाशित गर्ने पिपुल म्यागजिन भन्छ- 'रूपको जादुबाट कोही बच्न सक्दैन ।'
रूपको आम्दानी 
संसारमा सौन्दर्यका कारण सर्वाधिक आम्दानी गर्ने युवतीहरूको संख्या हजारौं छ । हलिउड, बलिउड मात्र होइन, अन्य भाषाका चलचित्र, मोडल एवं खेलाडीहरूले पनि सामान्य कलाकार वा खेलाडीको तुलनामा बढी आम्दानी गर्छन् । रूस, स्पेन, अस्ट्रेलिया, जापान र चीनजस्ता मुलुकमा पनि रूपवतीहरूले गर्ने आम्दानीको तुलनामा कम रूपवतीले गर्ने आम्दानी झन्डै आधाजस्तो हुन्छ । 'रूपवती हुनेबित्तिकै कुनै पनि कलाकार, खेलाडी, मोडल वा राजनीतिक नेता नै किन नहुन्, उनीहरूको ग्ल्यामर स्वतः बढेर जान्छ ।' पिपुल लेख्छ, 'उही स्तरका कलाकार, खेलाडी, मार्केटिङ म्यानेजर मात्र होइन, फुटपाथमा गीत गाउनेहरूबीच पनि मानिसहरूले रूपलाई नै महत्त्व दिन्छन् । त्यसैले उनीहरूको आम्दानी अत्यधिक हुन्छ ।' पश्चिमका क्यान्डाइस स्वानपोल, क्यारोलिन मर्फी, डोउजोन क्रोज, नातालिया भोडियानोभा, केट मोस, लारा स्टोन, अलेक्जेन्ड्रा अम्ब्रोसियो, एडि्रयाना लिमा, मिरान्डा केर, गिसेल बन्डचेन जस्ता मोडल रुपकै कारण सुपरमोडलमा दरिएका हुन् । यिनीहरू मोडलिङमा लागेर प्रचुर पैसा कमाउने असामान्य सुन्दरी हुन् । टेनिस खेलाडी मारिया सारापोभा पनि त्यस्ती खेलाडी हुन्, जसको खेल हेर्न नै दर्शक ओइरिन्छन् । दर्शकहरूले उनी उपस्थित हुने कोर्टमा पुग्न अन्य खेलाडीको तुलनामा दोब्बर मूल्य तिर्नुपर्छ । सारापोभा हारून् कि जितून्, त्यसमा दर्शकको खासै चासो हुँदैन । उनले खेल्ने खेलमा दर्शकको चाप कम गर्न खेलकुद व्यवस्थापनले उक्त प्रतिस्पर्धालाई नै महँगो बनाउनुपर्छ । सारापोभाजस्ता दर्जनौं रूसी तथा अमेरिकी सुन्दरीमा यो नियम लागू हुने गरेको छ ।

रूपको यही मोहका कारण नै संसारभरि विभिन्न किसिमका सौन्दर्य प्रतियोगिता हुने गरेका छन् । खर्बौं रुपैयाँ बराबरको सौन्दर्य प्रशाधनको व्यापार हुने गरेको छ । विश्व अर्थतन्त्रको ठूलो हिस्सा रूपकै बलमा चलायमान हुन्छ । सामान्य क्रिमदेखि आकर्षक तथा सुन्दर देखिने पहिरन एवं जीवनशैलीका लागि खर्बौं डलर लगानी हुने गरेको छ । सौन्दर्यको अर्थशास्त्र कति ठूलो छ भने यसको हिसाब-किताब लगाउन अर्थशास्त्रीहरू रातदिन खटिइरहेका छन् । यद्यपि अहिलेसम्म सौन्दर्यको प्रत्यक्ष अर्थतन्त्र मापन हुन सके पनि सौन्दर्यका कारण चलायमान सहायक अर्थतन्त्रको हिसाब राख्न सकिएको छैन ।
विकृति पनि उस्तै 
यो रूपको एउटा पक्ष हो तर यसका विकृति पनि उत्तिकै छन् । महिलालाई धेरैजसो उनीहरूको शरीरका आधारमा मूल्यांकन गरिएको पाइन्छ । रूपले ल्याएको सकारात्मक पक्षसँगै आएका विभिन्न व्यवहार अन्ततः मनोविज्ञानका हिसाबले यौन आकर्षण वा यौन विक्षिप्ततासँग गाँसिन्छ । महिलाको शरीर पुरुषको भन्दा आकर्षक भएको तथ्य सर्वसिद्ध नै छ । आखिर महिलाको शरीर नै किन आकर्षक भयो भन्ने कुरा अध्ययन गर्दा महिलाले पनि महिलाको शरीर नै मन पराएको पाइयो भने पुरुषले त महिलाको शरीर मन पराउने नै भए । त्यति मात्र होइन, उत्तिकै आकर्षण पुरुष र महिलाको तस्बिर राख्दा पनि पुरुषको शरीरबाट मानिसको आँखा चाँडै हटेको पाइयो भने उनीहरूको आँखा महिलाको शरीरमा लामो समयसम्म अडिएको पाइयो ।

सिन्सिनाटी विश्वविद्यालयमा अध्ययनरत छात्र-छात्राबीच गरिएको लामो सोधले पनि यही कुरा पुष्टि गरेको थियो । उक्त विश्वविद्यालयमा जम्मा भएका विद्यार्थीबीच कुनै आकर्षक महिला पुरुषबीच तुलना गर्न लगाउँदा धेरैले महिलाको शरीर आकर्षक भएको मात्र बताएनन्, महिलाको शरीर कामुक भएको निष्कर्षसमेत निकाले ।

उक्त अध्ययनको एक पाटोका रूपमा एउटा अनौठो प्रयोग गरिएको थियो । विश्वविद्यालयका सबैभन्दा राम्रा ५० जना युवती तथा ५० आकर्षक पुरुषलाई सेतो पृष्ठभूमिमा राखेर आकर्षक तस्बिर खिचिएको थियो । पुरुषको तस्बिरलाई पनि राम्रो देखाउन ठूलो प्रबन्ध गरिएको थियो । यसो गर्दा पनि पुरुषको तुलनामा महिलाहरू ९० प्रतिशत बढी आकर्षक भएको सर्वेक्षणका सहभागीहरूले बताएका थिए, अर्थात् सय जना आकर्षक मानिसमध्ये ९० जना महिला नै थिए । सबैभन्दा रमाइलो कुरा यो आकर्षणको कारण उनीहरूको शरीर नै भएको सहभागीहरूको जिकिर थियो ।

भारतको समाचार च्यानल आजतकले दक्षिण एसियामा शारीरिक सौन्दर्यका विषयमा वृहद् सर्वेक्षण गरेको थियो । सौन्दर्यसँग सम्बन्धित एक कम्पनीसँग मिलेर सन् २०१३ देखि १४ सम्म झन्डै दुई वर्ष लगाएर गरिएको उक्त अध्ययनले पनि महिलालाई सौन्दर्यकै तहमा राखेर मन पराइने गरेको तथ्य सार्वजनिक गरेको थियो ।

सर्वेक्षणले महिलाहरू आफ्नो शरीर सुन्दर, स्वास्थ्य र कामुक बनाउन जतिसुकै खर्च गर्न तयार हुन थालेको देखाएको थियो भने सौन्दर्य व्यवसाय अझ धेरै वृद्धि हुने कुरासमेत बताएको थियो । त्यससँगै गहना, पहिरन एवं सौन्दर्य प्रसाधनहरूको व्यवसाय उत्कर्षमा पुग्ने अनुमानका साथ दक्षिण एसियामा विश्वका चर्चित कम्पनीहरूले थप लगानी गर्ने निर्णय गरेका थिए ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/