Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

EXCLUSIVE: कसरी आउँछ कालो बजारमा दैनिक २६ करोडको तेल? (भिडियो)

ट्रकमा लाेड गरिएकाे तेल ठाेरीबाट बाहिरिँदै। तस्विर: मदन
भारतीय नाकाबन्दीपछि अधिकांश पेट्रोल पम्प बन्द छन्। निजी सवारी साधनले तेल पाउन छाडेको धेरै भइसक्यो। तर काठमाडौंका सडकमा ट्राफिक जाम हुनेगरी गाडी चलिरहेका छन्। कहाँबाट आइरहेछ कालोबजारमा तेल? मदन ठाकुरको अनुसन्धानमूलक रिपोर्ट:
पर्सा (ठोरी)– 'तेल र ग्यास चाहिएको छ? यदि चाहिएको छ भने ढिलो नगरी ठोरी जानुस्', तनहुँका दिलबहादुर गिरी यही सुनेर ग्यास र डिजेल लिन पर्साकाे ठोरी नाका पुगे।

मधेसी मोर्चाको आन्दोलन र भारतले गरेको नाकाबन्दीले इन्धन, ग्यास लगायतका अत्यावश्यक वस्तुको अभाव भइरहेका बेला गिरीलाई गाउँकै छिमेकी र सञ्चार माध्यमबाट ठोरी नाका बन्द नभएको सुने। चाहिने जति सामान पाइन्छ भन्ने सुनेपछि गिरी ठोरी पुगेका थिए। कस्ताे रहेछ त स्थिति? 'जे सुनेका थिएँ, ठोरीमा त्यही पाएँ', उनले सुनाए।
भिडियाे

नाकाबन्दीपछि नेपाली चुल्हो यही नाकाबाट बलिरहेको उनकाे अनुमान छ। खाना पकाउन, साना सवारी साधन चलाउन निकै गाह्रो भइरहँदा साथीभाइले नै ठोरीबाट ल्याउन सल्लाह दिएपछि तनहुबाट मंगलबार गाउँकै ७ जना मिलेर २० हजारमा मिनी ट्रक भाडामा लिएर गिरीसहित ठोरी आएका थिए।

'हामी सातै जना ग्यास, डिजेल र पेट्रोल भाडा गरेका गाडी भरी नै राखेर जाँदै छौं,' उनले भने,' नाका बन्दीले हाम्रो जन जीवन अस्त व्यस्त बनेको थियो। महँगो भएपनि यहाँ आउँदा सबै थोक किन्न पाउदा खुशी लाग्याे।'

तनहुँका गिरी त उदाहरण मात्र हुन्। इन्धन र ग्यास खोज्ने उनी जस्तै धेरै सर्वसाधारणदेखि व्यापारीसम्म आफैँ ठोरी पुग्ने गरेका छन्। पर्सा सदरमुकाम बीरगन्जबाट झण्डै ७० किलोमिटर पश्चिम उत्तरी भोगमा पर्ने ठोरी नाकामा भारतीयहरुले नै अवैध रुपमा दैनिक लाखौं लिटर इन्धन बेचिरहेका छन्।
thori1
छिमेकी बजार भिखनाठोरी नाका भएर अवैध रूपमा भित्रिरहेको इन्धनले राजधानीलगायत देशका अन्य शहरलाई नाकाबन्दीमा राहत दिइरहेको छ। पर्साको ठोरी र बिहार राज्यको पश्चिमी चम्पारणको बेतियास्थित भिखना ठोरीमा दुई महिनादेखि तेलको मेला नै लाग्दै अाएकाे छ। ठोरी गाविसमा पर्ने ठुटे खोलाको पश्चिमी डिलमा रहेको चौतारामा २४ सै घण्टा तरकारी बिक्री गर्ने हाटबजार जस्तै डिजेल, पेट्रोल र ग्यास खरिद बिक्री गर्न मान्छेहरूकाे भिड लाग्छ। नाकाबन्दीकाे याे चरम समस्यामा धेरै मान्छेहरूले वीरगञ्जबाट ७० किलोमिटर पश्चिम र उत्तरमा पर्ने एवं चितवनको नारायणगढबाट ८५ किलोमिटर पूर्व दक्षिणमा रहेको ठाेरीलाइ 'तेलकाे स्वर्ग' भन्न थालेका छन्।
ठोरी गाविस– ७ मा स्थित सो सीमावर्ती बजारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, छोटी भन्सार कार्यालयको अगाडि नै कालो बजारमा पेट्रोलिम पदार्थको मोलमोलाइ हुन्छ। कालो कारोबारका विक्रेता अधिकांश भारतीय नागरिक हुने गर्छन्। तिनका ग्राहक एवं संरक्षणकर्ता भने नेपाली हुन्। एक किलोमिटरको दुरीमा भए पनि यता र उताको भाषा संस्कृति, लवाइखवाइ निकै फरक देखिन्छ। अरू कुरामा धेरै भिन्नता देखिए पनि काराेबारकाे कुरामा उनीहरूकाे स्वर एउटै सुनिन्छ।

प्रत्येक घरमा अस्थाई पेट्रोलपम्प
ठोरीमा सीमापारिका भारतीय व्यक्तिले ल्याएको इन्धन किन्न नेपालको राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, सिन्धुपालचोक, काभ्रे, धादिङ, बागलुङ, गुल्मी, पोखरा, तनहु, चितवन, हेटौडालगायतका विभिन्न जिल्लाबाट सवारी साधन रिजर्भ गराएर आएको भेटियो।

पूर्व पश्चिम राजमार्गबाट झण्डै २० किलोमिटर दक्षिण गण्डक नहरको बाटैबाट सुवर्णपुरहुँदै ठोरी जाँदै गर्दा निर्मलबस्ती, विजयपुर, ब्रम्हस्थानमा रहेका प्रत्येक घरघरमा अस्थायी पम्प सञ्चालनमा रहेको देखियो। ती घरहरुमा भारतीय भरिया तेल र ग्यास पुर्याउन आइरहेका थिए। तेल र ग्यास किन्न आएका नेपालीहरुको भीड देखिन्थ्यो।

टुटे खोलाको वारिपट्टी भिखना ठोरीमा रहेको भारतीय सुरक्षाकर्मी एसएसबीको चेक प्वाइन्ट छ। तेल कारोबार गर्नेले उनीहरुसँग डराउनु पर्दैन। यहाँबाट हुने तस्करीको मुख्य संरक्षक नै भारतीय सीमा सुरक्षा बल हो।

भारतको जमुनिया पम्पबाट तेल ल्याएर ठोरीमा बिक्री गर्ने गरेको भारत खरठाका भुपेन्द्र चौधरी बताउँछन। 'यहाँ कारोबार सुरु गरेपछि हामीले सबैलाई खुशी पार्नु पर्छ,' उनी भन्छन्, 'एसएसबी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगायतका निकाय सबै निकायलाई मिलाएर कारोबार गर्छौं। '
thori
सीमावर्ती भारतको जमुनिया, नरकटियागंजका पेट्रल पम्पबाट ठोरीमा मुख्य रुपमा तेल आउने गर्दछ। ती स्थानबाट दैनिक करिब डेढ लाख लिटर तेल नेपाल भित्रिने गरेको उनले सुनाए। अहिले ठोरी आसपास भारतीय गाउँका अधिकांश बासिन्दाको मुख्य पेशा नै तेल तेलको ओसारपसार भएको छ। भारत खराटा गाविसका भुपेन्द्र चौधरीले भिखनाठोरी नाकाबाट नेपालमा सहजै प्रवेश गरी एक जनाले दैनिक रुपमा कम्तिमा पाँच सय लिटरसम्म बिक्री गर्ने गरेको बताउँदै यस्ता कारोवारमा सयौं व्यक्ति लागेको र त्यतिकै नेपालीले खरिद गर्ने गरेको सुनाए।

कालो कारोबारको केन्द्रस्थल बनेको ठोरी स्थित छोटी भन्सार कार्यालयमा प्रवेश गर्दा सरकारी कर्मचारी जस्तो देखिने एक व्यक्ति अर्का व्यक्तिलाई थर्काउँदै थिए– 'एसपीको मान्छे होस् वा अरु कोही अब उप्रान्त त्यसै जान दिन्नौं।'

मैले सधेँ, 'तपाइँको शुभ नाम के हो? किन यसरी थर्काउँदै हुनुहुन्छ?

'के काम छ चाँडै भन्नुस मेरो फुर्सद छैन', उनले दायाँबायाँ नसोधी जवाफ दिए।

केही छिनपछि परिचय खुलाए। उनी नेपाल सरकार, भन्सार कार्यालयको सहायक स्तरको कर्मचारी लक्ष्मी निरौला रहेछन्।

'तपाइँको अगाडि तस्करीको इन्धन, ग्यास र सामानहरु यत्रो कालोबजारी भइरहेको छ। केही गर्न सक्नुहुन्न?'

'हामी के गर्न सक्छौं र यहाँको संसार फरक छ', उनले निर्लज्जपूर्वक जवाफ दिए।

छोटी भन्सारसँगैसशस्त्र प्रहरीको अस्थायी बेस क्याम्पमा रहेको छ। सशस्त्रले ठोरी आउने हरेक चारपांग्रे सवारी साधन अनिवार्य रुपमा दर्ता गर्छ। त्यहाँ दर्ता भएका सवारी साधनको तथ्यांकले दैनिक रुपमा डेढ लाख लिटर भन्दा बढी तेल र ग्यासको कारोवार भएको देखाउँछ। मोटरसाइकलबाट हुने कारोबार यसमा सामेल छैन। जब कि दिनभरीमा हजारौं मोटरसाइकलमा तेलको कारोबार गरिरहेका भेटिन्छन्।

***
ठोरीमा पेट्रोल प्रतिलिटर १७५ मा पाइन्छ। डेढ लाख लिटर भित्रिएको स्थलगत हिसाबअनुसार दैनिक २६ करोड रुपैयाँको तेल कालो बजारमा आइरहेको छ। राजधानी पुग्दा पेट्रोल प्रतिलिटर ३०० देखि ५०० रुपैयाँसम्म पुग्ने व्यापारी बताउँछन्। यसर्थ यहाँबाट कालो बजारमा जाने इन्धनको बजार मूल्य दैनिक करिब ५० करोड रुपैयाँ हुनेगर्छ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/