Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

रुपैडिहा नाका खोल्न भारतीय पक्ष असहमत

नेपालगन्ज–दुई दिनदेखि ठप्प रहेको रुपैडिहा–जमुनाहा नाका खोल्न सिमावर्ती भारतीय अधिकारी असहमत भएका छन्। दसगजा क्षेत्रमा धर्नामा बसेका आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार बेलुका झडप भएपछि मंगलबार बिहानैदेखि भारतीय सुरक्षाकर्मीले नाकामा ओहोर–दोहोर गर्ने ठुला सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। 

भारतीय सुरक्षाकर्मीको नाका अवरोधले नेपालतर्फ आउने पेट्रोलियम ट्यांकर, ट्रक तथा कन्टेनर रुपैडिहामा र भारततर्फ जान लागेका खाली ट्यांकर, ट्रक तथा कन्टेनर जमुनाहा क्षेत्रमा अलपत्र परेका छन्। सवारी आवागमनमा भारतीय पक्षबाट अवरोध भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसी र जगत बस्नेतले बिहान बहराइचस्थित समकक्षी(सहायक डिएम)सँग भेट गरी छलफल गरेका थिए।

त्यसक्रममा बहराइचका सहायक डिएमले केन्द्रबाट नाका खोल्न आदेश नआउँदा सम्म आफूहरुले केही गर्न नसक्ने जवाफ दिएका थिए। बहराइच जिल्लामा निर्वाचन चलिरहेका बेला रुपैडिहा नाकामा नेपाली सुरक्षाकर्मी र आन्दोलनकारीबीच ढुंगा हानाहान हुँदा असुरक्षा महसुस गरेको उनले बताएका थिए। बहराइच जिल्लाको चुनावलाई मध्यनजर गर्दै मंगलबार दिनभर सवारी साधन आवात–जावतमा रोक लगाएपनि बुधबार नाका खोल्ने/नखोल्ने कुरा आफुले भन्न नसक्ने जवाफ दिएको सहायक प्रजिअ एमसीले जानकारी दिए। दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा नाकाको सुरक्षामा समन्वय गर्ने कुरामा भने भारतीय अधिकारीले सहमति जनाएका छन्।

'आन्दोलनकारीले दसगजामा बसेर ढुंगा हान्ने र भारतीय भूमिमा गएर लुक्ने क्रियाकलाप भइरहेको कुरा हामीले राख्यौं,' सहायक प्रजिअ एमसीले भने,'आफ्नो सुरक्षा जनशक्ति सबै चुनावमा खटिएको र चुनावपछि समन्वय गर्ने आश्वासन उनीहरुले दिन भ्याए।'

मोर्चाको केन्द्रीय निर्णय अनुसार आन्दोलनकारी टेण्ट टाँगेर नेपालगन्जस्थित जमुनाहा–रुपैडिहा नाकामा आइतबार बेलुकाबाट धर्नामा बसेका थिए। धर्नाका कारण सोमबार बिहानदेखि बेलुकासम्म नाका ठप्प भएको थियो। प्रहरीले नाका खुलाउन आन्दोलनकारीलाई हटाउने प्रयास गर्दा सोमबार बेलुका दसगजा क्षेत्रबाट उनीहरुले ढुंगामुढा सहित पेट्रोल बम समेत प्रहार गरेका थिए। पेट्रोल बम लागेर प्रहरी जवान सनत बस्नेत घाइते भएका थिए, भने मोर्चातर्फ पनि केही व्यक्ति घाइते भएका थिए। प्रहरीले राति अबेर नाकामा बसेका आन्दोलनकारीलाई हटाउन सफल भएको इप्रका जमुनाहा इन्चार्ज विष्णु गिरीले बताए। उक्त नाकामा मंगलबार आन्दोलनकारीका तर्फबाट कुनै अवरोध नभएपनि भारतीय सुरक्षाकर्मीको अवरोधले ठूला सवारी साधन दुवै तर्फ रोकिएको प्रहरीले जनाएको छ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/