Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

गन्तब्यको रुपमा विश्व शान्ति स्तूप


मंसिर २५, २०७२- 
पवित्र बुद्धधाम लुम्बिनीस्थित विश्व शान्ति स्तूप पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गएको छ । कलात्मक शैलीमा बनाइएकाले यो स्तूप आकर्षक छ । तौलिहवा–लुम्बिनी सडक खण्डबाट अलिकति उत्तरमा पर्ने यो स्तूपमा लुम्बिनी पुग्ने प्राय: सबै पर्यटक पुगेकै हुन्छन् । 

दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा भएको नरसंहारपछि शान्तिको विकल्प छैन भन्दै जापानी गुरु निचिडात्सु फुजी शान्तिको खोजीमा लागे । शान्तिका लागि फुजीले जापानमा निप्पोजन म्याहोजी नामक संस्था खोले । त्यही संस्थाले लुम्बिनीकै आकर्षण बढाउन उक्त अग्लो शान्ति स्तूप निर्माण गरेको हो । ७ वर्ष लगाएर निर्माण गरिएको यो स्तूप ४१ दशमलव ५ मिटर अग्लो र २० मिटर गोलाइको छ । यो स्तूपको आधारस्तम्भ ५९ मिटर गोलाइको छ । यो स्तूप निर्माण गर्न २७ हजार स्क्वायर फुट मार्बल तथा ९ सय मेट्रिक टन सिमेन्ट लागेको थियो ।


स्तूपको गर्भ र गजुरमा भगवान् बुद्धको पवित्र अस्तुधातु प्रतिस्थापन गरिएको छ । ०५० कात्तिक २८ मा तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेको यो स्तूप ०५८ कात्तिक १८ मा उनैले उद्घाटन गरेका थिए । यो स्तूप ३ किलोमिटर दक्षिणमा रहेको मायादेबी मन्दिरबाट समेत राम्रोसँग देखिन्छ । स्तूपबाट लुम्बिनीको चारैतिर दृश्यावलोकन गर्न सकिन्छ । स्तूपको माथि चारै दिशामा स्थापित ४ मूर्तिले शाक्यमुनिको जन्म, सम्बोधी, पहिलो देशना (उपदेश) तथा महापरिनिर्माणजस्ता चार महत्त्वपूर्ण घटनालाई अभिव्यक्त गरेका छन् ।

भैरहवाबाट २० किलोमिटर पश्चिम तथा भारतीय सीमाना सुनौलीबाट २७ किलोमिटर उत्तर पश्चिममा पर्ने लुम्बिनी सजिलै पुग्न सकिने गन्तव्य हो । काठमाडौंबाट सडक यातायातमार्फत् ७/८ घण्टामै लुम्बिनी पुग्न सकिन्छ । भैरहवाका लागि काठमाडौंबाट दैनिक ६ उडान उपलब्ध छन् । भैरहवा विमानस्थलबाट लुम्बिनीका लागि ट्याक्सी तथा बस पाइन्छ । लुम्बिनीमा सामान्यदेखि तारे होटलसम्म उपलब्ध छन्, जहाँ आफ्नो रुचिका परिकारहरू पाइन्छन् ।

News from saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/