Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

नेपालविरुद्ध भारत खेलमा ४ निर्णायक तत्व

नेपाली फुटबलमा सर्वाधिक महत्त्वको खेल

पुस १२, २०७२- नेपालले साफ च्याम्पियनसिप २०१५ मा आइतबार भारतको सामना गर्दा त्यो देशकै फुटबल इतिहासमा ‘ब्रेक थ्रु’ खेल हुन सक्नेछ । मैदान बाहिरका लगातारका विवाद र काण्डबीच नेपाली फुटबललाई केही हदसम्म ‘ट्रायक’ मा ल्याउन यो खेलले मद्दत गर्नेछ ।
यसका लागि चाहिने छ, भारतमाथि जित । र, यसका लागि चाहिने छ, गोल । ग्रिनफिल्ड स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार ६.४५ मा सुरु हुनेछ र समयले ७.३० छुँदा लगभग स्पष्ट भइसक्ने छ, नेपालको स्थिति के हुने हो ।
नेपालले यो खेल जित्छ र सेमिफाइनल प्रवेश गर्छ भने तय छ, यसले नेपाली फुटबललाई केही हदसम्म सुखद मोडमा फर्काउने छ । होइन, नेपाल पराजित हुन्छ अथवा बराबरीमा रोकिन्छ भने प्रतियोगितामा टिमको यात्रा समाप्त हुनेछ । यसको अर्थ नेपाली फुटबललाई लिएर फेरि धेरै प्रश्न उठ्ने छन् ।

यो खेललाई लिएर निर्णायक तत्व के के छन् त ?
१. प्रशिक्षक ओसेम्सको सल्लाह
प्रशिक्षक प्याट्रिक ओसेम्सले आफ्ना खेलाडीलाई जित्ने मनसायले खेल्न भनेका छन्, खेलकुदमा जसका लागि ‘विनिङ मेन्टालिटी’ शब्द बढी प्रयोग हुन्छ । श्रीलंकाविरुद्धको पहिलो खेल १–० गुमाएको नेपाल प्रतियोगिताबाट बाहिरिने डरबाट गुज्रिरहेको छ ।
भारतले समूह ‘ए’ को अर्को खेलमा श्रीलंकालाई २–० लाई हराएको थियो । यस्तोमा नेपालले समूहको लिग चरणको अन्तिम खेलमा भारतमाथि जित निकाल्नु अनिवार्य छ । ‘हामीसँग जित बाहेक अर्को कुनै विकल्प छैन् । त्यसैले भोलिको खेलमा के गर्नु पर्छ, गोल बाहेक अर्को विकल्प पनि छैन् ।’
२. गोल खडेरी बिर्सने प्रयास
नेपाली राष्ट्रिय टिमलाई अहिले गोलको सबैभन्दा बढी आवश्यकता छ, किनभन्दा टिमले गोल नगरेको खेल संख्या पनि ११ पुगेको छ । मिनेटको हिसाबमा ठीक हजार मिनेट । तर यही तथ्यले कतै खेलाडीको मानसिकतामा नकारात्मक प्रशाव त परिरहेको छैन ?
त्यसैले प्रशिक्षक ओसेम्सले आफ्ना खेलाडीलाई सल्लाह पनि दिएका छन्, ‘गोल खडेरीको समस्यालाई धेरै मनमा नराख्नु । अब खेलाडीले यसलाई बिर्सेर खेल्नु पर्छ र गोल गर्ने प्रयास गर्नु पर्छ । फेरि श्रीलंकासँग हारेर निराश नेपाली खेलाडी सकारात्मक बनेका छन् । यो राम्रो हो ।’
३. टिममा समस्या पनि छ
नेपाली टिमका कप्तान अनिल गुरुङलाई मान्ने हो भने टिममा समस्या भने छ र यो दुई खाले छ । पहिलो समस्या हो, टिमले ४–३–३ को संरचनामा खेल्ने रणनीति बनाएको छ, तर त्यसलाई पछ्याउन नेपाली खेलाडीलाई गाह्रो भइरहेको छ । किनभने नेपालले अधिकांस समय ४–४–२ मा खेल्ने गर्छ ।
दोस्रो समस्या हो, टिममा नयाँ र पुराना खेलाडीबीच ठीक तालमेल मिलिरेको छैन् । अझ भनौं पुराना र नयाँबीच राम्रो सम्बन्ध स्थापित हुन सकेको छैन् । यसको एउटा कारण टिममा लगातार धेरै परिवर्तन भइरहेकोले पनि हो ।
४. भारतका लागि पनि कठिन खेल
प्रतियोगिताको समूह ‘ए’ मा भारत शीर्ष स्थानमा छ, तीन अंक सहित । भारतले श्रीलंकालाई यसअघि २–० ले हराएको थियो । श्रीलंकाको पनि तीन अंक छ । नेपाल शून्यको स्थितिमा । नेपालले भारतलाई हराउने हो भने नेपालको सेमिफाइनल सम्भावना पनि उत्तिकै छ ।
यस्तो त्रिकोणात्मक स्थितिलाई कठिन मान्छन्, भारतीय प्रशिक्षक स्टेफान कन्सटाइनटिन । उनी भन्छन्, ‘भारतका लागि नेपालविरुद्धको खेल सजिलो हुने छैन, अझ भनौं, कठिन नै हुनेछ । प्राय: यस्तो स्थितिमा नतिजा जस्तै पनि हुन सक्छ । हामी नेपाललाई सजिलो मान्ने पक्षमा छैनौं ।’

Ą
https://www.flickr.com/photos/spklg/15211044551/