Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

रिपोर्टरको मधेस डायरी : सात दिन : सात दृश्य

तराई मधेस तीन महिनादेखि आन्दोलनमय छ । आन्दोलनरत नेताहरूको एउटा गुनासो हुन्थ्यो, हुन्छ, ‘काठमाडौंका मिडियाले हाम्रा समाचार दिँदैनन् । नाकाबन्दी र आन्दोलनको चेपुवामा परेको मधेसको स्थलगत रिपोर्टिङका लागि रातोपाटी तराई मधेस झर्ने निधो गर्यो । कार्यालयको जिम्मेवारी लिएर म र फोटो पत्रकार साथी अशोक दुलाल रिपोर्टिङका लागि काठमाडौंदेखि तराईको यात्रा सुरु गर्र्यौं, ७ मंसिरमा । हामी झन्डै सात दिन मधेसमै रह्यौँ । यो अवधिमा मधेसका सप्तरी, सिरहा, रौतहटलगायत आठ जिल्ला घुम्यौँ । 
००
हामी बर्दिबास पुग्दा मधेस आन्दोलनले सय दिन पूरा गरिसकेको थियो । त्यति लामो आन्दोलनको राप कस्तो हुन्छ भन्नेबारे हामी अनुमान गर्न मात्रै सक्थ्यौं, तर प्रत्यक्ष देखेका थिएनौं । किनकि हामी युवा पत्रकारले जान्ने गरी यत्तिको लामो आन्दोलन भएकै थिएन ।
बर्दिबास चोकमा ‘नाम मात्रको खिर’ खाएर हामीले यात्रा सुरु गर्यौं । यात्रामा थिए, अग्रज पत्रकार एसके यादव । हामी राजविराजदेखि वीरगन्जसम्म पुग्दा कतै आगो दन्किरहेको थियो, कतै धुवाँ पुत्पुताइरहेको देखिन्थ्यो । जेहोस्, मधेस आन्दोलन जारी थियो । यस्ता थिए, हामीले तराई–मधेसमा देखेका सात दृश्य :

प्रहरीको बोली : डाइरेक्ट तातो गोली !
‘हेलो, शरदसिंहहरूको कार्यक्रम कहिले रे ? त्यस्तो हुँदैन, राजमार्ग कुनै हालतमा अवरोध गर्न नदिने भन्ने आदेश आएको छ । राजमार्ग अवरोध गर्ने हो भने तातो गोली खान तयार भएर आउनु भनेर तिनीहरूलाई भन्दिनु, तिमीहरूले पनि त्यही अनुसारको तयारी गर्नु ।’
इलाका प्रहरी कार्यालय महोत्तरीका डिएसपी रमेश पण्डित मातहतका प्रहरी अधिकारीलाई यस्तो आदेश दिँदै थिए । पण्डितको टेलिफोन संवादबाटै हामीले अनुमान लगायौं मधेसमा प्रहरी धेरै अग्रेसिभ छ । शान्तिपूर्ण आन्दोलनमा पनि ‘फायर ओपन’ गर्नु प्रहरीका लागि सामान्य भइसकेको थियो । प्रहरीको यही अग्रेसिभ शैलीका कारण ५५ जना भन्दा बढीले ज्यान गुमाइसकेका थिए ।
rajesh story madhesh (4)पत्रकारहरूलाई कस्तो चुनौती छ, डिएसपी साब ? हामी सप्तरीदेखि वीरगन्जसम्म पुगेर फर्किने स्थिति हुन्छ होला ? हाम्रो प्रश्नको उत्तर दिँदै उनले भने, ‘तपाईंहरूलाई खास अप्ठेरो नहोला, तर भन्न सकिन्न !’
उनले ‘भन्न सकिन्न’ भन्नासाथ हाम्रो अनुहारको चमक उडिसकेको थियो । तैपनि जोखिम मोल्ने अठोट गर्दै त्यहाँबाट मुभ भयौं ।
तीन महिनाको बन्द : सडकमा टायरको गन्ध
मधेस आन्दोलनको प्रभाव महोत्तरीको बर्दिबास चोकमा खासै थिएन । बर्दिबासबाट केही किलोमिटर अगाडि बढेपछि धनुषाको ढल्केवर पुगिन्छ । सधैँजसो तनाव हुँदै आएको ढल्केबर चोकमा महिनौंदेखि जलेको टायरको गन्ध आइरहेको थियो । मधेसी अधिकारको पक्षमा जलेको टायरका कसहरूले ढल्केवरको मूल सडक मात्र हैन, आसपासका घरका सिसाहरूले पनि क्रमशः रङ परिवर्तन गर्दै थिए । rajesh story madhesh (3)
सिरहाको लाहान बजार यस्तो ठाउँ हो, जहाँ हर दिन टायर जलिरहेको छ । लाहान चोकमा भेटिएका नरेश मण्डल भन्दै थिए, ‘यहाँ हरेक दिन टायर जल्छ ।’ टायरको खरानीलाई चप्पलले उधिन्दै उनले थपे, ‘हेर्नुस् त सडक कस्तो कालो भइसक्यो ।’
राजधानीकेन्द्रित नेपाली मिडियाहरूमा तराईमा जलिरहेको सडकको तस्बिरले खास स्थान पाएको थिएन । हामीलाई लागेको थियो, मधेसवादी दलहरूले नाकामा धर्ना बसेकै भरमा देश ठप्प पारे । तर वास्तविकता अर्कै रहेछ, सप्तरीको गजेन्द्र नारायण चोक र सर्लाहीको मलंगवामा मनग्गे टायर जलेका थिए । वीरगन्जको घन्टाघर चोक कालाम्य भएको थियो ।
तराई मधेसका सडकमा गुड्दा नाक फुट्ने गरी टायरको गन्ध हावामा मिसिएर आउँथ्यो ।
फुटेका सिसा कत्ति कत्ति !
धनुषाको लालगढ प्रहरी चौकीका इन्चार्ज ‘रेडी पोजिसन’ मा बसेका थिए । ‘कतिबेला के हुन्छ भन्नै सकिँदैन।’ उनले भने, ‘अब यहाँबाट ढल्केवर लागेपछि तपाईंहरूले बाटाभरि फुटेका सिसै सिसा देख्नुहुनेछ ।’
चौकी इन्चार्जले भनेपछि हामीलाई लाग्यो, आन्दोलन बेससरी चर्केको हुनुपर्छ । लालगढबाट ढल्केवरतिर लागेपछि राजमार्गमा आन्दोलनकारीले फुटालेका सिसाका टुक्राहरू मनग्ये भेटिन्थ्यो ।
६. आन्दोलनकारीको ढंगा प्रहारबाट क्षतविक्षत एक होटल ।
६. आन्दोलनकारीको ढंगा प्रहारबाट क्षतविक्षत एक होटल ।
राजमार्गमा मात्र थिएनन् सिसाका टुक्रा, राजमार्ग आसपासका होटल, ठूला भवन, बैंक तथा वित्तीय संस्थाका भवनका सिसाहरू पनि झर्याम झुरुम फुटाइएका थिए । लाहान चोकमा रहेको मारुती होटलको अवस्था देख्दा आँसु खस्लाजस्तै भयो । त्यो होटलको पूरै भवन प्वाल प्वाल भएर क्षत विक्षत भएको थियो ।
राजविराजको मुख्य बजार क्षेत्रमा रहेको राष्ट्रिय वाणिज्य बैंकको सिसा पनि फुटेको थियो । तराईका सडक, आसपासका भवन र जिल्ला सदरमुकामहरूमा फुटेको सिसाहरू देख्दा लाग्थ्यो, सँच्चै ठूलो रणमैदान भएछ । हामी पुग्दा आन्दोलनकारीले केही पल विश्राम लिएजस्तो देखिए पनि फेरि तताउने मुडमा थिए उनीहरू । आन्दोलनरत संघीय समाजवादी फोरमका कोषाध्यक्ष एवं पूर्वमन्त्री विजय यादव भन्दै थिए, ‘व्यवस्था परिवर्तनको आन्दोलन हो यो, त्यती सजिलै कहाँ रोकिन्छ ?’
जताततै पेट्रोल पम्प !
बिपी राजमार्ग हुँदै बर्दिबासको पूर्व–पश्चिम राजमार्गमा पुग्नुभन्दा करिब १ किलोमिटर अगाडि कुर्सीमा दुई बोतल पेट्रोल भेटियो । हामीले डराई–डराई फोटो खिच्यौं । त्यसपछि धनुषाको लालगढमा ड्युटी बसेका प्रहरी जवानलाई हामीले सोध्यौं, ‘दाइ यता पेट्रोल पाइँदैन ?’ हाम्रो मोटरसाइकल हेर्दै उनले भने, ‘अलि तलतिर जानुस, बाटामा जति पनि पाइन्छ ।’
उनले भनेजस्तै राजमार्गका दायाँ बाँया कुर्सीमा आसिन पानीको बोतलमा भरिएका पेट्रोल प्रशस्त थिए । राजमार्गमा प्रतिलिटर दुई सय ५० मा पेट्रोल बिक्री गर्दै आएका असिम शेख भन्दै थिए, ‘तेलबाट दिनमा कमसे कम दश हजार कमाइ हुन्छ ।’
rajesh story madhesh (1)राजमार्ग आसपास बस्नेहरूले बोर्डरबाट ल्याएर उनलाई बेच्छन्, त्यसपछि ५० देखि सय रुपैयाँसम्म नाफा राखेर आफूले बेच्ने गरेको असिमले बताए । उनले भने, ‘उनीहरूले दुईसयमा हामीलाई दिन्छन्, हामी दुई सय ५० देखि तीन सयसम्ममा बेच्छौं ।’
सिराहाको मल्हनिया चोकभन्दा केही मिटरअगाडि मूल सडकमा पेट्रोल राखेर एक महिला सडकभन्दा केही तल छोरीलाई दूध चुसाउँदै थिइन् । हामीले उनको पेट्रोलपम्पअगाडि मोटरसाइकल रोके पनि जुरुक्क उठेर उनले सोधिन, ‘पेट्रोल हाल्नुहुन्छ ?’
पूर्व–पश्चिम राजमार्गका हरेक बस्तीअगाडि यस्ता पेट्रोल पसल भेटिन्छन् । सप्तरी सदरमुकामा रजविराज, जनकपुर, सिराहा बजार हुँदै वीरगन्जसम्मका पान पसलदेखि तरकारी पसलसम्म महँगोमा पानीको बोतलमा भरिएको मिसावटयुक्त तेल बिक्री हुँदा समेत स्थानीय प्रशासन मुखदर्शन बन्ने गरेको छ ।
बाराको पथलैयामा सशस्त्र प्रहरीको क्याम्पअगाडि नै दर्जनौँ बोतल पेट्रोल कालोबजारीमा बिक्री हुने गरेको छ । तराईमा हुन ेगरेको पेट्रोल कालोबजारीबारे प्रशासन बेखबर छैन, तर यस्तो कालोबजारीप्रति सरकारी निकायले आँखा चिम्लेपछि कसको के लाग्छ र ?
प्रहरी कार्यालयअगाडि नै पेट्रोल कालोबजारी भएकोबारे जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओविन्द्र बोगटीले भने, ‘थोरै परिणाममा बेचेको हुनाले हामीले केही गरेका छैनौं, संगठित रुपमा कालोबजारी गरेको पाइएमा कारबाही गर्छौँ ।’
संस्कार बन्दै ‘जय मधेस’
जनकपुरको रामानन्द चोकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका जिल्ला नेताहरू भेला हुँदै थिए । अरुभन्दा केही ढिला आइपुगे तराई मधेस लोकतान्त्रिक पार्टीका धनुषा जिल्ला अध्यक्ष परमेश्वर शाह । दुई हात जोडेर अभिवादन गर्दै शाहले भने, ‘जय मधेस !’ सबैले एकैस्वरमा फर्काए, ‘जय मधेस !’
????????????????????????????????????
तराई–मधेसका नेताहरूमा मात्र हैन कार्यकर्ता र जनताको लेभलमा पनि ‘जय मधेस’ संस्कारका रुपमा विकसित हुँदै गएको पाइन्छ । माओवादीको ‘लाल सलाम’, एमालेको ‘अविवादन’ र कांग्रेसको ‘जय नेपाल’ लाई ‘जय मधेस’ले विस्थापित गर्दै लगेको छ ।
मोर्चाका एक जिल्ला नेता भन्दै थिए, ‘कांग्रेस, एमालेका साथीहरू पनि ‘जय मधेस’ नै भन्नुहुन्छ । मधेस आन्दोलनले जन्माएको अभिवादनको नयाँ शैली बिस्तारै तराई–मधेसका गाउँ–गाउँमा पस्दै छ ।
अधिकार खोज्दै किशान मजदुर
मिर्चैया नगरपालिका बस्ने बिन्द कुमार सफियाको मुख्य पेसा खेतीपाती हो । खेती गरेर जीविकोपार्जन गर्दै आएका सफियालाई तराई आन्दोलनको जरिया कुरो खासै थाहा छैन । तर, उनी आन्दोलनको पक्षमा खुलेर लागेका छन् । बिन्द कुमार भन्दै थिए, ‘राजा ज्ञानेन्द्रले बरु सजिलै सत्ता छाडे, अहिलेका नेताले मधेसीलाई अधिकार दिन त्यति गाह्रो मानेका छन् ।’ मधेसी जनताले अधिकार नपाएसम्म आन्दोल रोक्न नुहने तर्क गरे पनि कस्तो अधिकार भन्ने प्रश्नमा उनी अकमकिए । उनले यत्तिमात्र भन्न सके, ‘पहाडे राज्यसत्ताले हामीलाई पहिल्यैदेखि हेलाहोँचो गर्दै आएको थियो, त्यसको अन्त्य हुनुपर्छ ।’madhesi janata (3)
मधेसमा यस्ता समुदाय छन्, उनीहरू किसान हुन्, मजदुरी गर्छन् तर पनि तराई आन्दोलनको पक्षमा खुलेर लागेका छन् । उनीहरूलाई कस्तो अधिकारको माग राखेर आन्दोलन चर्केको छ भन्ने खासै थाहा छैन तर ‘अधिकार चाहियो !’ भन्दै सडकमा निस्कन्छन्, राजमार्ग बन्द गराउँछन् ।
सर्लाही हरिपुर गाविसका किशान बैजनाथ दास प्रधानमन्त्री ओलीको विरोध गर्दै थिए । हामीसँग कुरा गर्दै उनले भने, ‘ओलीले गोली चलाउन मात्र जानेको छ, अधिकार माग्दा गोली चलाएर हुन्छ ?’
सर्लाहीकै गम्हरिया गाविसका नागेन्द्र राय यादव आन्दोलनको पक्षमा दिन रात लागेका छन् । यादव भन्छन्, ‘आन्दोलन ठीक छ, हाम्रो अधिकारको लागि यो आन्दोलन भएको छ ।’ उनी थप्दै थिए, ‘राजा महेन्द्र सत्तामा हुँदा हामीले सिँचाई सुविधा पाएका थियौं, अहिले सिँचाई हुँदैन, अनि आन्दोलन नगरेर के गर्नु ?’ उनको बुझाइ सिँचाई सुविधान पाउनका लागि आन्दोलन हुँदै थियो । जेहोस्, मधेसका सर्वसाधारणको पनि आन्दोलनमा उल्लेख्य सहभागिता रहेको छ । उनीहरू ‘अधिकार’ खोज्दै छन् ।
मधेसका किसान परिवारमा विकसित भएको ‘राज्यले हामीलाई अधिकारविहीन बनायो’ भन्ने सेन्टिमेन्टले गर्दा मधेस आन्दोलन अझै मजबुद बन्ने आधार तय हुँदै गएको पाइन्छ ।
र, उठ्दै छन् आन्दोलन विरोधी आवाज
मधेस आन्दोलनका कारण देशभर इन्धनको हाहाकार भएको छ । उद्योगधन्दा ठप्प छन् । राज्यले अर्बौंको राजस्व गुमाईसकेको छ । काठमाडौं लगायत देशका ठूला सहरले मधेस आन्दोलनलाई पहिल्यैदेखि मन पराएका थिएनन्, तर आजभोलि मधेसमा पनि आन्दोलन विरोधी स्वरहरू बिस्तारै उठ्न थालेका छन् ।
पूर्वमन्त्री बद्री न्यौपाने सर्लाहीको लालबन्दीमा मधेस आन्दोलन प्रतिकारको योजना बनाँदै थिए । मंसिर पहिलो साता सर्लाहीकै फुलजोरमा मधेसी मोर्चा र चुरेभावरका कार्यकर्ता बीच झडप भएको थियो । सोही झडपमा परी घाइते भएका संघीय समाजवादी फोरमका सर्लाही जिल्ला अध्यक्ष अशोक यादव हातमा पट्टी बाँधेर आन्दोलनका कार्यmक्रममा सहभागी हुँदै थिए । फुलजोर, नवलपुर र लालबन्दी आसपासका क्षेत्रमा तराई–मधेस आन्दोलनविरोधी स्वरहरू दिनानुदिन बढिरहेका छन् ।rajesh story madhesh (2)
कर्मैयाका राम पाण्डे मधेस आन्दोलनलाई ‘बेफ्वाँकको आन्दोनल’ भन्दै विरोध गरिरहेका थिए । राजमार्ग आसपासमा बस्ने पहाडी मूलका बासिन्दाहरू तराईका जिल्लामात्रै समेटेर प्रदेश बनाएकोमा असन्तुष्ट छन् । पाण्डे भन्दै थिए, ‘हामीलाई छुट्टै मधेस प्रदेश के काम ? बरु हामी दोलखासँग जोडिन चाहन्छौं ।’
मधेस आन्दोलन अझै लम्बिएमा राजमार्ग आसपास बस्नेहरूको आन्दोलनविरोधी भावना अझै बढ्न सक्छ । त्यसैले भोलिको दुर्घटनाबारे आन्दोलनरत पक्ष र सरकारी निकाय आजै गम्भीर हुन जरुरी छ ।
(मधेसबाट फर्केपछि)
Published in ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/