Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

एसएसबीलाई प्रतिबुलेट ५० हजार 'घुस'

काठमाडौं- भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक बुलेट ग्यास नेपाल भिœयाउन ५० हजार रुपैयाँ 'घुस' मागेपछि उद्योगीले तत्काल ग्यास नल्याउने भएका छन्। नाकाबन्दीलगत्तै एसएसबीले ग्यास र अन्य पेट्रोलियम पदार्थसँगै सामान ल्याउने नेपाली व्यापारीबाट घुस माग्दै आएको थियो। नाकाबन्दीको सुरुमा थोरै पैसा माग्ने एसएसबीले अहिले प्रतिबुलेट ५० हजार रुपैयाँ माग गर्न थालेको व्यवसायीहरूले जनाएका छन्। यस विषयमा नेपाल आयल निगमलाई जानकारी दिँदै उनीहरूले ग्यास नल्याउने बताएका छन्।
'नाकामा भइरहेको अवरोध र एसएसबीलाई अतिरिक्त रकम दिनुपर्ने भन्दै व्यवसायीले यस्तो स्थिति रहेसम्म ग्यास नल्याउने जानकारी हामीलाई गराएका छन्,' निगमका प्रवक्ता मुकुन्द घिमिरेले बिहीबार नागरिकसँग भने, 'यसबारेमा निगमले केही भन्न सक्ने अवस्था छैन।'
एसएसबीको समस्यापछि निगममा बुधबार पूर्व, मध्य र पश्चिमी क्षेत्रका ६ जना व्यवसायीको जमघट भएको थियो। निगमका उच्च अधिकारीसँग उनीहरूले एसएसबीको ज्यादतीविरुद्ध कदम चाल्न निगमसँग माग गरेका थिए। निगमको पहलकदमीबिना ग्यास कुनै हालतमा पनि ल्याउन नसकिने व्यवसायीको भनाइ रहेको घिमिरेले बताए।

उद्योगीका अनुसार नाकाबन्दी सुरु भएदेखि नै एसएसबीले घुस माग्दै आएको छ। 'सुरुमा एक बुलेट ग्यास छिराउन एसएसबीलाई १० हजार रुपैयाँ दिए पुग्थ्यो,' एक उद्योगीले बिहीबार नागरिकसँग भने, 'यस्तो रकम १० बाट २०, ३० हुँदै अहिले ५० हजार पुर्यापएका छन्, यत्रो घुस खुवाएर ग्यास ल्याउन सकिन्न।' उनले एक बुलेट ग्यास बेच्दा ३५ हजार मात्र नाफा हुने भएकाले एसएसबीलाई ५० हजार घुस दिन नसकिने बताए।

'सुरुसुरुमा १० हजार मागे, हामीले खुरुक्क दियौं,' अर्का उद्योगीले भने, 'उद्योगीले जति पनि दिन्छन् भन्ने थाहा पाएपछि एसएसबीले अहिले ५० हजार रुपैयाँ नपाइञ्जेल 'माथि'को आदेश भन्दै रोकेर राख्छन्, हामीले रकम दिएपछि माथिको आदेशको कुनै अर्थ देखिँदैन खुरुक्क छाड्छन्।'

नाकाबन्दीपछिका दुई महिनामा नगन्य मात्रामा ग्यास नेपाल भित्रिएको छ। त्यसमा पनि ग्यास बेचेर कमाउनेभन्दा बढी रकम एसएसबीलाई घुस दिँदै सकिएको उद्योगीको गुनासो छ। भारतीय भन्सार र एसएसबीको चेपुवामा परेको गुनासो पनि व्यवसायीको छ। भारतीय भन्सारले बुलेट पास गरेपछि एसएसबीले रोक्दा व्यवसायी चेपुवामा परेका हुन्।

'भन्सारले बुलेट क्लियर गरेपछि एसएसबीले घुस माग्छ, नदिऊँ भारतीय भन्सारलेे तत्काल बुलेट हटाउन निर्देशन दिन्छ। दिऊँ ग्यास बेचेर आएको नाफाले घुस दिन पुग्दैन,' एक व्यवसायीले भने, 'यस्तो चेपुवामा परेर सोझै घाटा लाग्ने व्यापार किन गर्ने?।'

कतिपय उद्योगीले एसएसबीले घुस मागेकै कारण नाकाबन्दीपछि नेपाल ग्यास भिœयाउन सकेका छैनन्। छिटफुट रूपमा आएका ग्यास बुलेट पनि उनीहरूले मागेजति पैसा दिएपछि मात्र सम्भव भएको व्यापारीको भनाइ छ।

५५ वटा ग्यास उद्योगमध्ये अधिकांशले एसएसबीलाई घुस बुझाउनुपर्ने भएपछि ग्यास ल्याउनै बन्द गरेका छन्। ग्यासका बुलेट छुटाउँदा मात्र होइन, एसएसबीले नेपाली व्यापारीले ल्याउने अन्य सामान पास गर्न पनि अतिरिक्त रकम लिने गरेका छन्। भैरहवा भन्सारका उच्च अधिकारीका अनुसार पहिले प्रतिट्रकका लागि १० हजार भारतीय रुपैयाँ माग्ने एसएसबीले त्यसलाई बढाएर अहिले एक लाख पुर्यारएका छन्।

'१० हजार रुपैयाँ माग्दा व्यापारीले पहिले ठिकै छ भन्दै सहजै दिएर सामान छुटाए,' भन्सारका ती अधिकारीले भने, 'अहिले त्यही सदासयता गलपासो भएको छ।'

एक कन्टेनर सामान ल्याउँदा विलम्ब शुल्क र एसएसबीलाई घुस गरी ८ देखि १० लाख रुपैयाँ अतिरिक्त रकम खर्चनुपरेको व्यवसायीहरूले गुनासो गरेको उनले जानकारी दिए। सुनौलीमा एउटा कन्टेनर पास गरेको एक लाख रुपैयाँ लिने गरेका छन् भने जोगबनी र काँकड्भिट्टा नाकामा यो रकम ५० हजार छ।

एसएसबीको माग दिनहुँ बढ्दै गएपछि अहिले व्यापारी सामान ल्याउन नाका परिवर्तन गर्न बाध्य भएका छन्। सुनौली नाकामार्फत सामान ल्याउने व्यापारी अहिले कृष्णनगर, रुपैडिहा र धनगढीसम्म पुगेको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले जानकारी दिए।

'नाकामा भइरहेको अवरोध र अन्य विविध कारणले व्यापारीले अर्को नाका प्रयोग गर्न थालेका छन्,' उनले नागरिकसँग बिहीबार भने, 'कपिलवस्तुको कृष्णनगर नाकाबाट एकै दिन करिब चार सय कन्टेनर नेपाल छिरेको तथ्यांक पनि छ।' उनले यो नाकाबाट यति धेरै कन्टेनर नेपाल भित्रिएको पहिलोपटक भएको जानकारी दिए। नेपाल आयल निगमका अनुसार महिनामा २१ हजार टन ग्यासको माग छ। तर, अहिले महिनाको १० हजार टन पनि ग्यास नेपाल भित्रिन सकेको छैन।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/