Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

नयाँ कप्तान भन्छन्,‘जिम्मेवारी बढेको छ’

मंसिर २९, २०७२- मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सले फरवार्ड अनिल गुरुङलाई सोमबार साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय टिमको कप्तान बनाएका छन् । यससँगै जिम्मेवारी बढेको अनिलले बताए ।
‘अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दा जति खुसी भएको थिएँ, कप्तान हुँदा पनि त्यत्तिकै खुसी लागेको छ,’ २९ वर्षीय अनिलले भने, ‘राष्ट्रिय टिमबाट खेल्नु नै भाग्यमानी हो त्यसमा पनि कप्तानी गर्न पाउनु मेरा लागि जीवनकै सबैभन्दा ठूलो गौरव हो । यससँगै मेरो जिम्मेवारी धेरै बढेको छ । टिमलाई कसरी अघि बढाउने भन्ने सोच्दैछु ।’
उनी राष्ट्रिय टिमका १५ औं कप्तान हुन् । उनी वसन्त थापा (सन् २००६) यता कप्तान हुने पहिलो फरवार्ड हुन् । वसन्तपछि डिफेन्डर राकेश श्रेष्ठ (२००७–२००९) र सागर थापा (२००९–२०१५) ले ‘आर्मब्यान्ड’ लगाएका थिए । सागर म्याच फिक्सिङमा ‘संलग्न’ पाइएपछि आजीवन प्रतिबन्धमा छन् । त्यसैले टिमको नेतृत्व लिने अनिलको भाग्य खुलेको हो ।

उमेर र डेब्यु गरेको हिसाबले अनिल अहिलेको टिमका सबैभन्दा सिनियर खेलाडी हुन् । उनले ८ अक्टोबर २००७ मा ओमानविरुद्ध मस्कटमा भएको विश्वकप छनोटमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका थिए । त्यसयता ४३ क्याप जितेका उनले नौ गोल गरेका छन् । उनले चार वर्षयता (बीचमा एक वर्ष सागर थापा) मनाङ–मस्र्याङदीको पनि कप्तानी गर्दै आएका छन् । उनको नेतृत्वमा मनाङले एनसेल कप, सफल पोखरा कपलगायत उपाधि जितेको थियो ।
इंग्ल्यान्डको छैटौं डिभिजनको क्लबमा सात वर्षअघि ट्रायल दिएका उनले छैटौं डिभिजनको बेलायती ब्रिगेड ब्वाइज, थ्री–स्टार, एनआरटी, सिलोङ लाजोङ (भारत) बाट पनि खेलेका छन् । नेपाली फुटबल नकारात्मक रूपमा बढी चर्चामा आएको सन्दर्भमा उनले भने, ‘अनुशासनमा विशेष ध्यान दिनेछु । मैदानभित्र र बाहिर टिमलाई एक बनाएर अघि बढाउने प्रयास गर्नेछु ।’
चौथोपल्ट साफ च्याम्पियनसिपमा सहभागी हुन लागेका उनी त्रिवेन्द्रम (केरला) यात्रा सकारात्मक हुने विश्वास गर्छन् । ‘नयाँ टिम, नयाँ प्रशिक्षक र नयाँ वातावरणले राम्रो नतिजा दिलाउन सघाउँछजस्तो लाग्छ,’ उनले भने । पुस ८ देखि १९ सम्म हुने नवौं साफको समूह ‘ए’ मा नेपालले श्रीलंका र आयोजक भारतसँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहनसके मात्र सेमिफाइनल पुग्नेछ । तीनपल्ट सेमिफाइनल पुग्नु नै साफमा नेपालको सबैभन्दा राम्रो नतिजा हो ।
पुस २ गते ढाकामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टिम त्रिवेन्द्रम पुग्नेछ । ‘यसपल्टको पहिलो खेल नै महत्त्वपूर्ण छ,’ अनिलले भने, ‘श्रीलंकासँगको खेलको नतिजाले हामीलाई कुन बाटोमा लाने भन्ने देखाउनेछ । जित हात पार्नसके सेमिफाइनल पुग्ने लगभग पक्का हुन्छ । त्यसैले पहिलो खेलमै केन्द्रित हुनेछौं ।’
साफका लागि २० सदस्यीय टिमको घोषणा गर्दै प्रशिक्षक प्याट्रिक ओसेम्सले अनिललाई कप्तानको जिम्मेवारी सुम्पिएका थिए । ‘उनी टिम लिडर हुन्,’ ओसेम्सले पत्रकार सम्मेलनमा भने, ‘उनी उमेरले सबैभन्दा सिनियर खेलाडी पनि हुन् । उनी प्लेइङ लिस्टमा नहँुदा विराज महर्जन वा रोहित चन्दले कप्तानको भूमिका निर्वाह गर्नेछन् । त्यसैले यी तीनै कप्तान हुन् ।’ अहिलेको टिममा सर्वाधिक ५० क्याप जित्ने खेलाडी हुन्, विराज । रोहितले ३८ खेल खेलेका छन् ।
‘मैले निकै मिहिनेत गरिरहेको छु । त्यसैले प्रशिक्षकको मन जितेको छु र नसोचिएको जिम्मेवारी पाएँ,’ अनिलले भने, ‘अहिलेको टिममा प्लेइङ सेटमै खेल्न पाउँछु भन्ने लाग्छ । अभ्यासका खेलमा पनि प्रशिक्षकले मलाई सुरुबाटै खेलाएका थिए ।’
खुसी फर्काउने वाचा
एन्फा अध्यक्ष गणेश थापामाथिको प्रतिबन्ध र म्याच फिक्सिङ प्रकरणले नेपाली फुटबललाई लज्जित बनाएको अवस्थामा साफ च्याम्पियनसिपमा राम्रो खेल्दै फुटबलप्रेमीलाई खुसी फर्काउने अनिलले वाचा गरेका छन् ।
मैदानबाहिरका ती घटनाले खेलाडीलाई नकारात्मक असर नगरेको उल्लेख गर्दै उनले भने, ‘यसले अहिलेको नेपाली टिमका खेलाडीमाथि ठूलो दायित्व भने थपेको छ । यी सबै नकारात्मक चर्चाबीच हाम्रा खेलाडीले भारतमा राम्रो खेल्नुपर्नेछ । यो अब उनीहरूको दायित्व बनेको छ ।’
‘युवा टिम छ र हामी भारतमा प्रतियोगिता नै जित्छौं भनेर दाबी गर्दैनौं,’ उनले भने, ‘नेपालको खेल हेरेर नेपाली फुटबल समर्थकको अनुहारमा खुसी फर्किनेछ । खेलाडीको खास जिम्मेवारी नै यही हो ।’ उनले खेलाडीको जिम्मेवारी आफूले तयार पारेको रणनीतिअनुसार खेल्ने रहेको बताए । ‘हामी निकै राम्रो खेल्नेछौं भनेर पनि दाबी गर्दैनौं । तर हाम्रो टिम प्रतिद्वन्द्वीलाई समस्यामा पार्न सक्षम छ,’ उनले भने, ‘खेलाडी कुशल छन् । साफको अनुभवले भविष्यमा राम्रो हुनेछ ।’
बेल्जियन प्रशिक्षक ओसेम्सले घोषणा गरेको टिममा बंगलादेशसँगको मैत्रीपूर्ण खेलपछि परिवर्तन गर्नसक्ने पनि बताए ।
त्यसका लागि राजेन्द्र रावललाई वैकल्पिक खेलाडीमा राखिएको छ । टिम बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न सोमबार ढाका जानेछ ।
Sports news from ekantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/