Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

विवाहभोजको खर्च विद्यालय र स्वास्थ्य चौकीलाई

मंसिर २८, २०७२- भोजभतेर र तडकभडकपूर्ण बैवाहिक कार्यक्रमहरुले चर्को रुप लिँदै गइरहेका बेला यहाँका एक युवाले आफ्नो बैवाहिक कार्यक्रममा हुने अनावश्यक खर्च जोगाएर विद्यालय र स्वास्थ्य चौकीका लागि सहयोग गरेका छन् । कुश्मा नगरपालिका-१८ पकुवाका सन्तोष पौडेलले विवाहको अनावश्यक खर्चमा हुने करिव दुई लाख रकम स्थानीय विद्यालय र स्वास्थ्य चौकीको पूर्वाधारका लागि लगानी गरेका हुन् ।
आइतबार पोखरास्थीत शर्मिला बरालसँग बैवाहिक सम्बन्ध गाँसेका पौडेलले पकुवास्थीत बिरेन्द्र उच्च माविलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरे । त्यस्तै शंकरपोखरी स्वास्थ्य चौकीका लागि सुत्केरी गराउन आवश्यक ‘डेलिभरि बेड र पेरिनल लाइट’ हस्तान्तरण गरे । सोही कार्यक्रममा बिरामी बोक्न सुविधाका लागि उनले पकुवाकै प्रतिभा महिला समूहलाई आधुनिक स्टेचर सहयोग गरे ।

‘यो रकमबाट मैले एक दिन आफन्तलाई बोलाएर रमाइलो गर्न सक्थें,’ सन्तोषले भने, ‘तर, तडकभडकको खर्च एकै दिनमा सकिन्छ, सामाजिक क्षेत्रमा लगाएको वर्षौंसम्म रहन्छ ।’ आर्थिक अभावमा पढ्न नपाएका बालबालिकाहरुलाई अक्षयकोषको रकमले पढ्ने खर्च जुटाउन सहयोग पुग्ने उनले बताए । छोराले अनावश्यक खर्च नगर्न सुझाव दिएपछि आफूहरुले पनि उसकै सल्लाह बमोजिम सामाजिक कामका लागि सहयोग गरेको सन्तोषका बाबु किशोर पौडेलले बताए ।
बेडको अभावमा वर्षौंदेखि भुइमा राखेर सुत्केरी गराउनुपरेको स्मरण गर्दै शंकरपोखरी स्वास्थ्य चौकीका इन्चार्ज उमाकान्त सापकोटाले यो सहयोगले ठूलो राहत मिलेको बताए । ‘कहिलेकाहिँ बेडकै समस्याले सुत्केरी हुन आएकाहरुलाई बाहिर पठाउनुपरेको थियो,’ सापकोटाले भने, ‘यो सहयोग हाम्रा लागि अकल्पनीय हो ।’ चौबिसै घण्टा सुत्केरी सेवा भएको शंकरपोखरी स्वास्थ्य चौकीमा आसपासका भंगरा, ठानामौला, लिमिठाना, थापाठाना, कार्किनेटा लगायतबाट मासिक १२ देखि २५ जना सम्म सुत्केरी हुन आउने गर्छन् ।
बैवाहिक कार्यक्रममा को कम भन्दै तडकभडकपूर्ण कार्यक्रम गर्ने संस्कारका बिच सामाजिक कामको थालनी हुनु प्रशंसनीय भएको संसद कल्पना चापागाईंले बताइन्  । ‘यस्तो कामको जति नै प्रशंसा गरे पनि पुग्दैन,’ उनले भनिन्, ‘यस्ता काम गर्ने व्यक्तिहरु एकदुई दिन आलोचनाका पात्र भए पनि दीर्घकालसम्म यसको सकारात्मक प्रभाव रहिरहन्छ ।’ करिव डेढ सय सहभागिहरुले यो साँच्चिकै उदाहरणीय कार्य भएको भन्दै आ–आफ्नो क्षेत्रबाट यस्ता कामको सुरुआत गर्नुपर्ने बताएका थिए ।
News from ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/