Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

बिर्सिएका बस्तीमा चिसा ‘हामी’हरु


डा धर्मागत भट्टराई

अरनिको राजमार्गलाई अंगालो हाल्दै हुर्रिने भोटेकोशीमा जोकोहीलाई फुरुंग पार्ने तागत छ। हाइवे र यात्रुसित लुकामारी खेल्दै बगेझै लाग्ने भोटेकोशी बाह्रबिसेमुनि दोभानसम्म आइपुग्दा पनि नथाकेझैँ नै देखिन्छ।
 
उत्तरबाट कर्थली र घोर्थलीबीच हुँइकिदै आएको सुनकोशी पनि दोभानपछि आफ्नै नाममा भोटेकोशीलाई समेटेर सुललित बग्थ्यो, शानसित। तर यसपाला सुनकोशी अलिक मौन छ। केही भन्न खोजेझैं, केही मन अमिलिएझैं। उकुसमुकुस तर चुपचाप पीडा सहेजस्तोस कता कता दुखेको देश बोकेर बहेजस्तो।
 
राजमार्गबाट देखिने सुनकोशीपारि उत्तर किनारमा चीनको सहयोगमा निर्मित सुनकोशी जलविद्युत ज्युँ का त्यूँ छ। एक्लो, शान्त अनि जमानाको जब्बर साक्षीजस्तो। म एकटक हेर्छु, बाटादेखि देखिने यसका तीन एकाईलाई, जसले आसपासको सिन्धु झलमल्ल पारेको छ। त्यो पाटो काठमाडौँजस्तो काकाकुल छैन। न छ आधा दिनको लोडसेडिङले अभिशप्त, न छ खानेपानीको नाममा हावा या लेदोपानी आउने पाइपको लाम। त्यहाँ छ स्वच्छ कन्चन पानी। अनि ननिभ्ने बिजुलीको वरदान। एक सुनकोशी स्थानीयले गर्वसित भने, “यो कुरालाई त तपाईं अँधेरो ठाउँबाट उजेलो गाउँ आएको मान्नुस्। यसै पनि राजधानी त अब अँधेरा ठाउँ अनि अँधेरो मन भएका नेताले जो भरियो।”
 
नतमस्तक भएँ।
 
अकर्मन्य नेताका तस्विर नाच्न थाले।
 
 
हाइड्रोपावरको काखमा बगेको सुनकोशीलाई नजिकबाट नियाल्ने उत्कट अभिलाषाले छोप्दैथियो। कुनै गीतको धुनजस्तो थियो त्यो सुरम्य दृश्य। भत्किएको पुलका भग्न रहलपहल आसपास पनि सुनकोशीको कलकल बहाव उम्दा लाग्थ्यो। जमेकै मनलाई पनि जुरुक्जुरुक पार्ने दम थियो, सुनकोशीको लयमा। जसले केहीबेर हामीलाई बिर्साइदिन्थ्यो सब दुख दौडधुप जिन्दगीका। र, डुबुल्की मार्न थाल्थ्यो मन सुनकोशी लहरमा।
 
अलिक माथि ढडिया थापेर बसेथे एक्ला बूढामान्छे। हामीलाई हेरेर फिस्स मुस्काए। काँपेका हात, मैला थोत्रा कपडा, फुलेको कपाल, बिनाचप्पलका खुट्टा! तैपनि उनको मुस्कान पवित्र र हार्दिक थियो। हामी ‘सभ्य(?)’हरुको जस्तो कृत्रिम र ओठे थिएन। हात पछिल्तिर बाँधेर हामीतिरै आए उनी।
 
‘ल खिच मेरो पनि’ उनले हात पछाडि बाँधीकनै पोज दिए हाम्रो आडमा ज्ञानी बालकझैं। फोटोको क्लिकक्लिकसँगै उनको मुहारमा फैलिएको चमक प्रस्ट देखिन्थ्यो।
 
“के नाम बुबा तपाईंको?” मैले सोध्दा उनी झन् उत्साहित थिए।
 
“छोरो रामबहादुर। म मानबहादुर। सानो साइलो भएर सान्दाइ नि भन्छन्। मानबहादुर भएर मान्दाइ नि भन्छन् मलाई। जे भने नि हुन्छ बाबु। घर बनाइदे भनेको छोराले सुनेन। टहरो भैंचालोले लै’गो। अब उः त्यहीं पालमा। अनि यै ढडियाको भर! के गर्नी!” एक सासमा बूढाबाले परिचय सके।
 
पछि थाहा भो, जसले परिचय सोधे’नि पहिले उनले अति माया गरेको तर अहिले छोडेर गएको छोराको नाम भनिकन आफ्नो नाम भन्दारहेछन्। यसले मलाई झनै उत्सुक बनायो बूढाबातिर।
 
“शरीर गलिसकेझैं छ बा। सक्नुहुन्छ ढडिया धान्न?”
 
 
“किन नसक्नु? अचेलकाको बोइलर कुखुराको जस्तो जिउ हो र बाबु? हाम्रो त नम्बरी जिउ। तिमी बाबुहरुको काठमाण्डु जिउ। छुस्स केही भए पुक्लुक्क। भैंचालोपछि कम थलिएँ त? कोही थिएन। तङ्ग्रे आफै। खै तिमी काठमान्डूकाले पैसा बाँड्ने भन्यौ, आएनौ। काठमान्डूकाको त्यही हो, भन्छौ, आश देखाउँछौ। खत्तम!”
 
बृद्ध मनमा बनेको सरकारको चित्र हामीलाई ज्ञान भए’नि हाम्रोमात्रै प्रयासले तत्काल परिवर्तन ल्याउन सक्नेथिएनौं उनी र उनीजस्ता तमाम पीडितका आँगनमा। उनी बोल्दा असली भूकम्पपीडितका प्रतिनिधि बोलेझैं भयो। वारिपारि कोही पुरै, कोही बस्नै नहुने गरी भत्केका लस्कर खण्डहर भरिभराउ थिए डाँडा र सुनकोशी वारिपारि। कति पाल टाँगेर दैनन्दिनी धानेका परिवार थिए। तैपनि बूढाबाको सामु मुहार बचाउन बोल्नै पथ्र्यो, “बा, हामी सरकारी प्रतिनिधि हैनौं। गर्ला नि सरकारले हजुरहरुलाई, खै!”
 
सुन्नासाथ उनको अनुहार झन् अमिलो भो, “के गर्छ? गर्दैन बाबु। काठमान्डूकाको बानी हो यो। महिनौं भैसक्यो। न छोराले बनाइदियो घर, न सर्खारले। तिम्लाई के थाहा एक दिन सुनकोशी छुन आ’कालाई! उता माथिमाथि ठण्डाले मर्नथाले मान्छे। हिजोमात्रै त्यैपारी दमकी बूढी जाडोले चिलिम भइन्। तिमी काठमाण्डु त दया नभ’को।”
 
भित्रभित्र हामीलाई अनुभूत भएकै थियो, यो सब पीडा। तर हामीले के नै गर्न सक्थ्यौ र? आपसी जालझेलमा अल्झने खटनवाला केन्द्रप्रति दिक्क लागे’नि हामीले गर्न सक्ने केही थिएन।
“तपाईं बस्ने पाल त्यही हो?” सुनकोशी तिरैमा भएको एउटा पाल देखाउदै मैले सोधें।
 
 
“त्यही त हो नि। छोराले बनाइदिएन। त्यही हो। कैले लान्छ दमले मलाइ’नि। अनि ठण्डाराम! यै ठण्डीले लान्छ कि? लगे लओस् । खप्परमा त्यही भए क्यार्नु त?” सान्दाइले यसो भन्दा मेरो मनमा हामी पक्की कोठाभित्र दुई कम्बल ओढेर सुत्दा पनि असन्तुष्ट भएका दृश्य सम्झें। आफैलाई ताजुप लाग्यो। मेरा आँखा त्यही ढडिया, बूढा सान्दाइ अनि प्लास्टिकको पाल वरिपरि घुमिरहे। घुमे व्यक्तिगत स्वार्थको लागि नागरिक र देश नै धराप पार्न सक्ने हाम्रा नेताको जमातलाई।
 
यी बृद्धलाई न चासो छ आन्दोलनको, न मतलब छ संविधानको जगजगी। यिनलाई सरकार र काठमान्डूको पनि क्यै आश छैन। बिचरा जान्छन् भोट हाल्न लाइनमा। उनलाई विजय पराजयले फरक पार्दैन। बरु उनलाई महत्व राख्छ, ‘ढडियामा माछा प¥यो कि परेन?’ बस् उनलाई महत्व राख्छ सुनकोशी र जलविद्युत संरचना। र, त भन्छन्, “यो हाईड्रोले त उजेलो द्याछ नि! यो त परान हो बाबु याँको। खै येल्लाई बढाएनौ केरे तिमेरुले। जति चइनाले बनाओ, बस्।” सरकारी अकर्मन्यता र लोडसेडिङग्रस्त नेपालीलाई तिनको सोझो हार्दिक अनुभवी दिमागले गरेको यो झटारो काठमाडौँमा बसी लेख्ने विश्लेषकको भन्दा उच्च थियो। तैपनि म आशाका बिउ अझै रोप्न प्रयत्न गदर्दैथिएँ।
 
“गर्लान् नि बा, गर्छौं भनेर गएकाले। प्राधिकरण खोलेकाछन् रे अहिले। नाकाबन्दीले गर्दा अड्केको पो हो कि?”
 
“हैन बाबु हैन। देशविदेशले हाम्लाई दिन भनेर कति दिए। खै त तिमी घुम त सिन्धु, दोल्खा, सब धुस्नो छ। हाम्लाई दिन भनेका पाल, जस्तापाता त खाने नेताले हाम्लाई देला भनेर के पत्याउने?” बूढाबाको ज्ञानले म चकित परें।
 
“हजुरलाई त यस्ता समाचार नि थाहा हुँदो रैछ नि बा!” बोली भुइँमा खस्न नदिई उनी कड्के, “किन थाहा नहुनु? घिस्रिदैघिस्रिदै जान्थेम् नि सम्चार सुन्न केइ होला भन्दै। अब पो आश मरो बाबु। बिजुलीमा पकाउन चुल्हो किन्ने केले? झिंजा बाल्छु पकाउँछु खान्छु। जति बाँचिया’छ, यै सुनकोशीले बचा’छ, काठमान्डूले केइ गर्दैन हामी तिकडम नजानेकालाई।” हामीसित जवाब थिएन। एकछिन बिसाएर फेरि बोले उनी।
 
“नाकाबन्दी भन्छौ। यी एस्तो राम्रो सिन्धुपाल्चोक नाकाको बाटो ठप्प राखेउ आधा बर्ष। खोल्ने इच्छै छैन तिमेरुमा। इच्छा भए के हुन्न? महिन्द्र सरकारले चईना बोडरका जम्मै इन्डियनलाई फिर्ता पठाको तिमेरुलाई थाहा नि छैन होला। मलाई थाहा छ। म उहीं थें तेसबेला। यो तिमी आको बाटो नि महिन्द्र सर्खारकै पलान। भूमिसुधार ल्याए। बाटो, सिंचाई। इन्डियाको दाम हटा’र नेपाली दाम देशभरि छरे महिन्द्रले। तिमेरुले के ग¥यौ खै उनका सेखपछि अचेल काठमान्डु बसेर? अरुलाई गाली गर्छौ बस्छौ! तिमी सब! अरुको मुख ताक्यो, आफ्नो दुनो सोझ्यायो।”
 
नपढे’नि परेर संगालेको ज्ञान बाजेमा टन्न रहेछ भन्ने त्यतिबेला छर्लंग भो मलाई।
 
“अनि बा, हजुरका बाँकी परिवार खै त?”
 
यो प्रश्न सुन्नासाथ सान्दाइले अँधेरो मुख लाए, “तिमीहरु अहिले औषधि बाँड्न आ’छौ। तेसबेला आ’कोभा! बुडी घिटीघिटी परान थि! न थ्यो अस्पताल, न थ्यो डाक्टर। तिन दिनका जराले लयो बिचरीलाई! त्यो भा हुन्ति नि बूढेसकालको सहारा! मलाई देउताझैँ माया गर्थी। गइ छोडेर।” बूढाबा बर्र आँसु झरेर पिल्पिलाए।
 
बूढाबाले भनेजस्तो अस्पताल त त्यो क्षेत्रमा अझै पनि रहेनछ। बाँकी विश्वको कुरा ग¥यौं भने तीन दशकमा आमूल परिवर्तन देखिन्छ। तर हाम्रा यी जिल्ला दसकौंपछि पनि ज्युँका त्यूँ छन्। अनि कताकता सान्दाइले भनेझैं बुज्रुकहरुले सधैँ गाली गर्ने ‘राजा महेन्द्रको अवधारणापछि सुतेको काठमाडाँै भनेको तथ्य मनमा खेलिरह्यो।
 
“छोराले नि छोडेर गो। घर बनाम् भनेको नि सुनेन। खै दैवको खटन होला।” बूढाबाको एउटा हावा नछिर्ने घरको घिड्किसो प्रष्ट देखिन्थ्यो। मान्छेलाई एउटा ओत लाग्ने घरको कत्रो ठुलो महत्व छ। नजिकै एउटा ब्लकले बनेको अरु कसैको घरलाई पृष्ठभूमिमा पारेर उभिदै बाजेले भने, “ल खिच फोटो घरसित। आफ्नो नभा’नि भाइले यत्तिको बना’छ घर। नेताका फोटो कति गजपले खिच्छौ टिभीमा। हाम्रा कहाँ खिच्छौ?” पत्रकारमाथि बूढाबाको दुखेसो थियो।
“भाइबुहारी गर्भवती थी यै घर।”
 
उनले दुखेसो पोखिरहे, “बालखाको खुब चाहना गरेकी। स्यारसुसार सकेजति पा’की हो। ‘छोरीको नाम के राख्छेस् त बुहारी?’ भन्थें म मक्ख हुँदै। खुब चाहना भा’को बच्चा छोरीको नाम ‘चाहना’ राख्ने त होला बुबा भन्थी। उपचार गर्ने ठाम नजिकै भा’को भए बच्थी होला। बेला आउन भन्दा पैल्यै खुट्टा सुन्निएर छारे रोगझैँ काँपेर गइ बाबु। हाम्री ‘चाहना’ गर्भमै सकिई। चाहना हराई हावामा। त्यै झैं हाम्रा जम्मै चाहना गर्भमै सिद्धिन्छन्। जमानादेखि अहिलेसम्म अझै यो सिन्धु बत्तीमुनिको अँधेरो झैँ भो। हाम्रो के छ?”
 
अवरुद्ध गलासँगै उनी फेरि बोले, “भाइबुहारी बितेदेखि नि भाइ उस्तै छ। ठाम उस्तै छ। सिन्धु उस्तै छ। अब’नि कामेका सुन्निएका गर्भ उसैगरी मर्छन्। बस् यै सुनकोशीले बचा’कोछ बाबु। सुनकोशीले बचा’को छ। काठमान्डूमा दया छैन।”
हाम्रो मन पनि रुन थाल्यो। त्यही बेला तिनका कान्छाभाइ पनि हामीछेउ आइपुगे। उनी धेरै बोल्दैनथे। परिचयपछि ‘दाइ तपाईं पनि यै चिसोमा त बस्नुभा’को होला’ भन्दा धेरै बेर उनी बोलेनन्। पछि एकतमासको मनले यति बोले, “के चिसो छाप्रो र चिसो चुल्होको कुरा भो र? हामी जम्मै मान्छे नै चिसा! हामीभित्र न इख छ न आगो! हाम्रो मन चिसो, तन चिसो! ठाम चिसो गाम चिसो! यो चिसिएको देश! हामी चिसा मान्छे! हाम्रो तन त ठण्डा मात्र हो बाबु, नेताहरुको मन त चिसिएको पत्थर रै’छ।”
 
पत्निबियोगले घायल ती दाजुको बेजोड समयचित्र दार्शनिकको भन्दा कम थिएन। र, पनि हामीले थुप्रै सान्दाइहरुका घाउमा मलम लगाउन सकेनौं। सान्दाइहरु पालभित्रको चिसोमा चिसा मन भएका नेताहरुको चिसो अकर्मन्यतामा मरिरहेछन्, नाममात्र फेरिने तन्त्रहरुसँगै। र, त हरेक दिन उही कोकोहोलो हाल्ने चिसा भाषण आउँछन् संचारका क्यानभासमा। यी पिल्सिएका मुहार हराउँछन् सुनकोशी तीरतिर कहीं अनन्तसम्म, डेमोक्रेजीलयमा।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/