डा धर्मागत भट्टराई
अरनिको राजमार्गलाई अंगालो हाल्दै हुर्रिने भोटेकोशीमा जोकोहीलाई फुरुंग पार्ने तागत छ। हाइवे र यात्रुसित लुकामारी खेल्दै बगेझै लाग्ने भोटेकोशी बाह्रबिसेमुनि दोभानसम्म आइपुग्दा पनि नथाकेझैँ नै देखिन्छ।
उत्तरबाट कर्थली र घोर्थलीबीच हुँइकिदै आएको सुनकोशी पनि दोभानपछि आफ्नै नाममा भोटेकोशीलाई समेटेर सुललित बग्थ्यो, शानसित। तर यसपाला सुनकोशी अलिक मौन छ। केही भन्न खोजेझैं, केही मन अमिलिएझैं। उकुसमुकुस तर चुपचाप पीडा सहेजस्तोस कता कता दुखेको देश बोकेर बहेजस्तो।
राजमार्गबाट देखिने सुनकोशीपारि उत्तर किनारमा चीनको सहयोगमा निर्मित सुनकोशी जलविद्युत ज्युँ का त्यूँ छ। एक्लो, शान्त अनि जमानाको जब्बर साक्षीजस्तो। म एकटक हेर्छु, बाटादेखि देखिने यसका तीन एकाईलाई, जसले आसपासको सिन्धु झलमल्ल पारेको छ। त्यो पाटो काठमाडौँजस्तो काकाकुल छैन। न छ आधा दिनको लोडसेडिङले अभिशप्त, न छ खानेपानीको नाममा हावा या लेदोपानी आउने पाइपको लाम। त्यहाँ छ स्वच्छ कन्चन पानी। अनि ननिभ्ने बिजुलीको वरदान। एक सुनकोशी स्थानीयले गर्वसित भने, “यो कुरालाई त तपाईं अँधेरो ठाउँबाट उजेलो गाउँ आएको मान्नुस्। यसै पनि राजधानी त अब अँधेरा ठाउँ अनि अँधेरो मन भएका नेताले जो भरियो।”
नतमस्तक भएँ।
अकर्मन्य नेताका तस्विर नाच्न थाले।





