Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

थापापछि भट्टराई र मोर्चाका नेताहरुको दौड : आखिर के पाक्दैछ दिल्लीमा ?

मिलन तिमिल्सिना/उज्यालो

काठमाडौं, मंसिर १९ – निजी भ्रमणको लागि भन्दै दोस्रोपटक दिल्ली पुगेका उपप्रधानमन्त्री कमल थापाले तराईमा भइरहेको आन्दोलन र नाकाबन्दीबारे त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गर्नुभयो ।
थापासँग भेटे लगत्तै स्वराजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी ‘सकारात्मक संकेत’ पठाउनुभयो । प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री थापाले दिल्लीबाट पाएको ‘सकारात्मक संकेत’ बारे प्रमुख प्रतिपक्ष कांग्रेस सहित मुख्य दलबिच छलफल भएर ‘निर्णायक वार्ता’को तयारी भइरहेको बेला आन्दोलनरत मधेसी मोर्चाका नेतालाई फेरि दिल्लीबाट निमन्त्रणा आयो ।
मोर्चाका नेता त्यहाँ जान नभ्याउँदै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दिल्ली पुगिसक्नुभएको छ । बन्द र नाकाबन्दीबाट निकै सास्ती खेपेका नेपाली नागरिकले समस्या समाधानको बाटो पर्खिरहँदा आखिर दिल्लीमा के पाक्दैछ त ? समस्या सुल्झाउने उपाय हुँदैछ कि अझ बल्झाउने खेल ? 
‘समस्या समाधानकै लागि यो प्रयास भएको देखिन्छ’ कुटनीतिज्ञ एवं विश्लेषक लोकराज बरालले उज्यालो अनलाइनसँग भन्नुभयो ‘मोर्चाका नेतालाई पनि कन्भिन्स गराएर नेपालको समस्या समाधानमा भारतले मध्यस्थता गर्न खोजेको देखिन्छ ।’ 

बालुवाटार छोडेर लैनचौर हुँदै दिल्ली यात्रा

शुक्रबार बेलुका वार्ताको लागि बालुवाटार निस्केका मधेसी मोर्चाका शीर्ष नेता लैनचौरस्थित भारतीय दूतावासमा पुगे । प्रधानमन्त्री केपी शर्मा ओली तथा मोर्चाका उपेन्द्र यादव र महन्थ ठाकुरबीच टेलिफोनमा भएको संवाद अनुसार नै शुक्रबार बेलुका बालुवाटारमा वार्ताको समय तय भएको थियो ।
तर बालुवाटारकै लागि भनेर निस्केका मोर्चाका नेता अचानक बिच बाटोबाट दूतावासतर्फ लागे । उनीहरुको बाटो हेरेर बसेका सत्तारुढ र विपक्षी कांग्रेसका शीर्ष नेताहरु अघिल्लो दिन नै निर्णय गरेको सहमतिमा हस्ताक्षर गरेर फर्किए । तीन दलका नेता बालुवाटारबाट निस्कँदा मोर्चाका नेताहरु भारतीय दूतावासमै थिए । राजदूत रणजित राय र मोर्चाका नेताहरुबीच झण्डै ४५ मिनेट कुरा भयो । त्यति नै बेला मोर्चाका शीर्ष नेताहरु आइतबार दिल्ली जाने कुरा सार्वजनिक भयो ।
त्रिपक्षीय वार्ता छाडेर मोर्चाका नेताहरु एकाएक किन दिल्ली जान लागे त ? स्रोतका अनुसार भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उपप्रधानमन्त्री कमल थापासँगको भेटमा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा समस्या समाधानको संकेत दिएपछि यसबारे थप छलफल गर्न मोर्चाका नेताहरु दिल्ली जान लागेका हुन् । मोर्चालाई छलफलको लागि भारतले नै बोलाएको हो । 
स्रोतका अनुसार भारतले मोर्चासँग छलफल गरी संविधान संशोधनको प्रक्रिया अघि बढाउन र राजनीतिक समिति बनाएर सीमांकनको विवाद मिलाउन मुख्य दललाई सुझाव दिएको थियो । भारतको इशारामा चल्दैनौं भनेर जतिसुकै भनेपनि उसले दिएको सुझाव नमान्दासम्म बन्द र नाकाबन्दीको समस्या हल नहुने भएपछि प्रधानमन्त्री ओली समेत दिल्लीको सुझाव अनुसार अघि बढ्न तयार भएको स्रोतको दावी छ ।
सीमांकनको विवाद पछि हल गर्नेगरी सहमति गर्दा समस्या समाधान हुन्छ भने यसैअनुसार अघि बढ्न तयार रहेको सन्देश सरकारले उपप्रधानमन्त्री थापामार्फत भारत पुर्याएको थियो । प्रमुख प्रतिपक्ष कांग्रेससँग पनि सहमति भएपछि मोर्चासँग छलफल गरेर टुंगोमा पुग्ने तयारी भइरहँदा एक्कासी मोर्चाका नेतालाई भारतबाट निम्तो आएको हो । 
सीमाकंनको विवाद अहिल्यै टुंग्याउनुपर्ने अडानमा रहेको मोर्चा तीन दलको साझा धारणामा सहमत भइसकेको छैन । दिल्लीकै सुझाव अनुसार तीन दलले धारणा बनाएको भएपनि मोर्चासँग छलफल नगरी सार्वजनिक भएकाले मोर्चाका नेताहरु असन्तुष्ट भएको स्रोतको दावी छ । सरकार र तीन दलसँग असन्तुष्ट मोर्चालाई ‘कन्भिन्स’ गराउनकै लागि दिल्लीले बोलाएको हो । 
आइतबार दिल्ली पुगेलगत्तै मोर्चाका शीर्ष नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री स्वराजसहित उच्च नेतृत्वसँग भेटवार्ता गर्नेछन् । भेटमा एमाओवादी छाडेर नयाँ शक्ति गठन अभियानमा सक्रिय भएर लागेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सहभागी हुनुहुनेछ । छुट्टै कार्यक्रमको लागि भन्दै शुक्रबार भारत गएका भट्टराईको भ्रमण राजनीतिक भेटवार्ताकै उदेश्यले भएको स्रोतको दाबी छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/