Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

DNN@Ground Zero : मधेसमा ‘मोदीका छोरा’ र ‘ओलीका छोरा’

राजविराज– ‘आइज मोदीको छोरा १० लाख दिन्छु,’ प्रहरीको यस्तो रुखो बोली सुनेपछि आन्दोलनकारीले जवाफ फर्काए, ‘लौ हान, ओलीको छोरा हिम्मत छ ?’ ड्याम, गड्याम, ड्याम… तत्काल गोली चलिहाल्यो ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण चोकमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच भएको संवाद सुन्दा ठट्टाजस्तो लागे पनि यसले निकै गम्भीर संकेत गरेको छ । प्रहरीले आन्दोलनकारीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छोरा भन्ने अश्लील शब्द बोल्न थालेपछि उनीहरूले ड्युटीमा खटिएका प्रहरीलाई प्रधानमन्त्री ओलीको छोरा भन्दै गाली गर्न थालेका छन् ।

लामो समयदेखि सप्तरीको राजविराजमा बसेर पत्रकारिता गर्दै आएका सतीशदत्त भन्छन्, ‘मधेस आन्दोलनका धेरै घटना प्रहरीको अमानवीय चरित्रका कारण घट्ने गरेको छ, आन्दोलनकारीसँग वादविवाद सुरु हुनासाथ उनीहरू ‘मोदीको छोरा’ भन्दै आमाचकारी गाली गर्न थाल्छन्, त्यसपछि गोली चल्न थाल्छ ।’
प्रहरीले ‘मोदीको छोरा’ भनेपछि आन्दोलनकारीले ‘ओलीको छोरा’ भन्दै जवाफ फर्काउँछन् ।
DNN-Rajesh-Story-1-b
गजेन्द्र नारायणचोकमा यस्तो संवाद भएको केही घन्टापछि राजविराज–१ हटियामा गोली चल्यो । त्यहाँ दिलीप शाहले ज्यान गुमाए । गजेन्द्रनारायण चोक र हटियाबीच धेरै लामो दूरी छैन । एक आन्दोलनकारी भन्छन्, ‘हटियामा पनि प्रहरीले त्यसै भनेको थियो, दिनहुँ त्यही भन्छ, हामी मोदीका छोरा, उनीहरूको गोलीले ढलेपछि हामीले १० लाख पाउने रे !’
‘तपाईंहरूले किन आन्दोलनकारीलाई मोदीको छोरा भनेको ?’ संवाददाताको प्रश्नको जवाफमा सप्तरीका एसपी भीमप्रसाद ढकालले भने, ‘मोदीको छोरा र ओलीको छोरा भन्ने चल्छ रे ! यस्तो संवाद मैले पनि सुनेको छु, त्यस्ता संवादले हिंसा भड्कने हुनाले त्यस्ता संवाद प्रयोग नगर्न हामीले सचेत गराएका छौँ । त्यस्तो शब्द प्रयोग गर्ने प्रहरीमाथि कारबाही गर्छौं ।’
सत्तापक्ष र आन्दोलनकारीबीचको यस्तो संवादले मधेस आन्दोलन दिनदिनै हिंसात्मक बनाउँदै लगेको छ । यहाँको स्थिति हेर्दा लाग्छ, यो लडाइँ तत्काल रोकिने छाँटकाँट छैन ।
निसानामा प्रेस
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता ‘हाम्रा समाचार खोई ?’ भन्दै आक्रामक शैलीमा प्रस्तुत हुन थालेपछि तीन महिनादेखि राजविराजमा दैनिक पत्रिकाहरू पुग्न छाडेका छन् ।
स्थानीय दैनिक, एफएम रेडियो र साप्ताहिक पत्रपत्रिकाले मधेस आन्दोलनका समाचार प्राथमिकताका साथ पस्कन थालेपछि यहाँ कार्यरत सञ्चारकर्मीहरू प्रहरीको निसानामा पर्न थालेका छन् ।
गएको आइतबार प्रहरीले राजविराजको ‘नेहा अपसेट प्रेस’मा नियतवश तोडफोड गर्यो । जुन प्रेसमा करिब आधादर्जन स्थानीय पत्रिका छापिन्थे । नेहामा कार्यरत एक कर्मचारी प्रहरीले फुटाएको प्रिन्टरको तस्बिर आफ्नो मोबाइलमा देखाउँदै भने, ‘यो त प्रेस हो नि भनौँ । चुप लाग मोदीको छोरा भन्दै मलाई आमचकारी गाली गरे ।’
DNN-Rajesh-Story-1-cगएको आइतबार र सोमबारको राजविराज भिडन्तमा चारजना आन्दोलनकारीले ज्यान गुमाउँदा करिब आधा दर्जन पत्रकारले प्रहरीको लाठी खाए ।
सप्तरी सी एफएमका समाचार वाचक आसुतोष आनन्द भन्दै थिए, ‘हामीले प्रेस लेखेको ज्याकेट लगाएका थियौं, तर पनि प्रहरीले छाडेन, हामीले जवानको गाली र कुटाइ एकैपटक खान बाध्य भयौं ।’
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सचिव ओमप्रकाश शाह प्रहरीले आफूहरूमाथि अनाहकमा लाठी बर्साएको उल्लेख गर्दै भन्छन्, ‘प्रहरी चुपचाप बसेका बेला समाचार बन्ने खालको आन्दोलन खासै हुँदैन, तर जब प्रहरीले जिस्काउन थाल्छ, त्यसपछि मोर्चाको आन्दोलन नियन्त्रण बाहिर जाने गरेको छ ।’
प्रेसमाथि प्रहरीले लाठीचार्ज गरेकोबारे प्रतिक्रिया लिँदा सप्तरीका एसपी भीमप्रसाद ढकालले भने, ‘हुलमुलमा त्यस्तो भयो होला, पत्रकार साथीहरूसँग त्यसबारे कुरा भइरहेको छ, हामी बसेर छिटै टुंग्याउँछौं ।’
डाक्टरको पिठ्युँमा डाम
गत आइतबार राजविराजमा भएको भिडन्तमा आन्दोलनकारीले हानेको ढुंगा लागेर एक प्रहरी जवान गम्भीर घाइते भए । एसपी भीमप्रसाद ढकाललाई लाग्यो, केही क्षणमा हस्पिटल पुर्याउन नसके एउटा राष्ट्रसेवक प्रहरी गुम्न सक्छ । तत्कालै उनले ती जवानलाई मोबाइल भ्यानमार्फत गजेन्द्रनारायण सिंह मेमोरियल अस्पताल पठाए । तर, अस्पतालमा ती जवानको उपचार गर्ने त कुरै छाडौं प्रहरी उल्टो लाठीचार्ज गर्नुपर्ने लफडामा फस्यो ।
आन्दोलनकारीले दाबी गरेअनुसार त्यतिबेला प्रहरीले गजेन्द्रनारयण सिंह अस्पतालका पूर्वमेडिकल सुपरिटेन्ड टेकनारायण मण्डलको क्वार्टरमा पसेर कुटपिट गरेका थिए । मण्डलले प्रहरीको लाठी खाएको कुरामा दुईमत छैन । तर, प्रहरीले मण्डल हस्पिटलको ड्रेस फालेर नर्मल ड्रेसमा आन्दोलनमा सहभागी भएकाले हुलमुलमा लाठी खाएको दाबी गरेको छ । एसपी ढकाल भन्छन््, ‘त्यसरी क्वार्टरमा गएर उहाँलाई कुटेको हैन, उहाँ डाक्टरको ड्रेस खोलेर आन्दोलनमै सहभागी हुन आएकाले त्यस्तो घटना घट्यो ।’
जेहोस्, मण्डलको पिठ्युँमा निकै ठूलो डाम बसेको तस्बिर देखाउँदै राजविराजका एक युवाले भने, ‘लु हेर्नुस्, प्रहरीले डाक्टरलाई पनि यसरी पिटेको छ, अनि काठमाडौंतिर आन्दोलनकारीलाई मात्रै ‘राक्षस जस्ता’ भनेर दुस्प्रचार गरिएको छ ।’
View more on ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/