बैतडी, कात्तिक ३० गते। नेपाली पक्षबाट अनुमति नपाउँदा दार्चुलामा नेपाल–भारत सीमा जोड्ने जौलजीवी झोलुङ्गे पुल पूर्णरुपमा सञ्चालन हुन सकेको छैन ।
भारतीय पक्षले नेपाललाई पुलमा आवतजावतका लागि अनुरोध पठाए पनि नेपाली पक्षले प्राविधिक मूल्याङ्कन अनुगमन नहुँदा आवतजावत गर्न नसकिने जनाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
सहायक प्रजिअ विश्वामित्र कुइँकेलका अनुसार डोलिडार विभागअन्तर्गतको झोलुङ्गे पुल महाशाखाले निर्माण गरेको यो पुलको सम्बन्धित निकायबाट प्राविधिक अनुगमन भएको जानकारी आएपछि नेपाल र भारतबीच छलफल भएपछि पुल सञ्चालनमा आउने बताउनुभयो । उहाँले भन्नुभयो – “डोलिडार विभागले गर्ने अन्तिम चेकजाँच गरेको छैन, चेकजाँचपछि मात्र सञ्चालनमा आउँछ ।”
अन्तिम चेकजाँच नगर्दा पुलमा कुनै दुर्घटना भए जिम्मेवार को हुने भनेर अनुमति नदिएको उहाँले बताउनुभयो ।
नवनिर्मित उक्त पुलको पारवाहन क्षमता एकपटकमा ४०० जनाको रहेको छ ।
विसं २०७० मा महाकाली नदीमा आएको बाढीले त्यहाँ रहेको पुल बगाएको थियो । रासस