Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

‘चीनसँगको नाका खोल्नु भारततर्फ बन्द गर्नु होइन’

इन्धन अभावका कारण देशमा चौतर्फी सङ्कट छ । यसबीच चीनबाट अनुदानबापत १३ लाख लिटर इन्धन आपूर्ति भइरहेको छ, त्यसैगरी दुई देशका पेट्रोलियम कारोबार गर्ने संस्थाबीच नियमित आपूर्तिका लागि प्रारम्भिक सम्झौता पनि भएको छ । चीनबाट इन्धन आपूर्ति गर्ने विषयमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका चीनका लागि नेपाली राजदूत डा. महेश मास्केसँग गोरखापत्रका राजेश चाम्लिङ राईले लिनुभएको अन्तर्वार्ता ः
चीनबाट इन्धन आपूर्तिका लागि छलफल गर्न गएको टोलीको नेतृत्व तपाईंले गर्नुभयो । पेट्रोलियम पदार्थ भित्र्याउने सहमति कार्यान्वयन कसरी भइरहेको छ ? 
अनुदानका रूपमा चीनले दिएको हजार मेट्रिक टन सायद यो तिहारभित्रैमा नेपाल भित्रिन्छ । हामीले व्यापारिक रूपमा आयात गरिने इन्धन पनि अनुदानस्वरूप दिइने इन्धनको आपूर्ति सकिएलगत्तै सुचारु गर्न अनुरोध गरेका थियौँ । चीनको तर्फबाट सक्दो कोसिस गर्ने बताइएको छ । त्यसका लागि पेट्रो चाइना र नेपाल आयल निगमबीच व्यापारिक छलफल हुनुपर्छ । इन्धनको मूल्य कति हुने ? कति मात्रा खपत गर्ने ? कहिलेसम्म आपूर्ति सुरु हुनेलगायतका विषयमा सम्झौता हुन बाँकी छ । मलाई जानकारी भएसम्म पेट्रो चाइनालाई पत्र गएको छ । ईमेल र टेलिफोनमार्फत अहिले त्यो विषयमा दुवै पक्षबीच छलफल भइरहेको हुनुपर्छ । सम्झौता भएपछि इन्धन आपूर्ति सुरु हुनेछ ।

अब केही दिनपछि चीनतर्फको सडक हिउँका कारण प्रयोग गर्न नमिल्ने गरी अवरुद्ध हुने बताइन्छ । त्यसअघि आपूर्ति सम्भव छ ?
यसमा दुईवटा पाटो छ । पहिलो, हाम्रो दुईवटा संस्थाबीच व्यापारिक सम्झौता नै हुन बाँकी छ । अहिले कुल खपतको ३३ प्रतिशत ल्याउने भन्ने मोटामोटी सहमतिमात्र भएको हो । व्यापारिक सम्झौता हुन धेरै समय नलाग्नुपर्ने हो, मूल्यको विषयमा सहमति भएपछि त्यो विषय टुङ्गिन्छ । दोस्रो, यातायातको चुनौती हो । यसबारे चीनले हामीलाई त्यति बेलै जानकारी दिएको थियो । पेट्रोल र डिजेलका लागि दिउँसो हिँडाएर पनि ल्याउन सकिएला । एलपीजी ग्यासका लागि त्यति सहज नहुन सक्छ, त्यसका लागि विशेष सावधानी अपनाउनुपर्छ । 
डिसेम्बरदेखि सडक अवरोध हुनसक्छ, त्यसैले हामीले नोभेम्बरभित्रै अत्यावश्यक पर्ने इन्धन नेपाल भित्र्याउनुपर्ने हुन्छ । त्यसमाथि हामीलाई अहिले ग्यास आपूर्ति बढाउन दबाब छ । अहिले हामीलाई मौसमको कारण नभई अभावका कारण छिटोभन्दा छिटो ग्यास भित्र्याउनुपर्ने छ । तिब्बततर्फ बाटो राम्रो छ र मौसमको चुनौती पनि छ । नेपालतर्फ मौसमको समस्या छैन बाटो चुनौतीपूर्ण छ । त्यसैले हामीले केरुङभन्दा तातोपानीबाट ल्याइदिन चीनसँग आग्रह गरिरहेका छौँ ।
तपाईंले इन्धन आपूर्तिका लागि सरकारको निर्देशनबिना नै प्रक्रिया अघि बढाउनुभएछ त ? 
होइन, भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि नै पेट्रोलियम आयातका विषयमा चीनसँग छलफल सुरु भएको हो । त्यसभन्दा अघि भूकम्पका कारण बन्द भएका नाका खोल्ने र सहयोग बढाउने विषयमा छलफल भइरहेको थियो । सुरुमा स्थिति कस्तो थियो भने भूकम्पका कारण उत्तरतिरको नाका बन्द, उता दक्षिणबाट अत्यावश्यक सामानको आपूर्तिमा पनि रोक । त्यसैले पहिले त नाका खुलाउने कुरा हाम्रो प्राथमिकतामा रह्यो । दोस्रो तहमा आइसकेपछि मात्र हामीले पेट्रोलियमको कुरा अघि बढायौँ । 
नेपालबाट मलाई यस्तो गर, यहाँको स्थिति यस्तो छ, यो प्रक्रिया अघि बढाऊ भनेर निर्देशन आएको त थिएन तर जनताले सरकारलाई विकल्पका लागि दबाब दिइरहेका थिए । उहाँहरूले पनि ‘कूटनीतिक पहल अघि बढेको छ’ भन्नुभएको थियो । हामीले आफ्नै विवेकले यो खालको वातावरण बनाएका हौँ । 
एउटा राजदूतका रूपमा हामीसँग दुई किसिमको दायित्व हुन्छ । एउटा सरकारले भनेपछि प्रक्रिया अघि बढाउने र अर्को यस्तो सम्भावना छ भनेर खोज्ने । हामीले दुवै प्रयत्न गरेका हौँ ।
भारतसँग चीनको ठूलो व्यापारिक साझेदारी छ, त्यही आधारमा नेपालले आग्रह गर्नासाथ चीनबाट सहयोग हुन्छ भन्ने अपेक्षा धेरैले गरेका थिएनन् नि ?
चीन हाम्रो हित चाहने नजिकको मित्र हो । उसले हामीलाई मित्रवत् र आर्थिक सहयोग गर्दै आएको पनि छ । अर्कोतर्फ चीन भारतसँग पनि अत्यन्तै मित्रवत् व्यवहार गर्न चाहन्छ । अहिले विश्वभर हेर्ने हो भने चीनले कुनै पनि देशसँग कटुतापूर्ण सम्बन्ध राख्न खोजेको देखिँदैन । तेस्रो, चीनले नेपाललाई सहयोग गर्ने भनेको भारतसँगको सम्बन्ध तोड्न होइन । भारतसँगको सम्बन्ध नबिगारी सहयोग गर्न खोजेकोमात्रै हो । उसले भारतसँगको सम्बन्धलाई सन्तुलनमा राखेरै सहयोग अघि बढाउन चाहेको छ । र, चीन त्यो सन्तुलन कायम गर्न सक्षम पनि छ । 
दोस्रो, हामीले चीनसँगको नाका खोल्नु भनेको भारतसँग व्यापार बन्द गर्नु होइन । अहिले हामीले अत्यावश्यक भएर केही कदम अघि बढाएका हौँ र हामी यसलाई निरन्तरता दिन्छौँ । यसमा हामी प्रस्ट पनि छौँ । चीन पनि प्रस्ट छ । त्यसैले यो सम्झौताले भारतसँग चीन र नेपालको सम्बन्धलाई असहज बनाउनेभन्दा भारततर्फबाट पनि नेपालमा हुने आपूर्ति सहज बनाउन मद्दत गर्छ । 
विगतका अनुभव हेर्दा नेपालले अप्ठ्यारो स्थिति पार गरेपछि भारतसँग मात्र निर्भर रहने गरी नीतिहरू अघि बढेका देखिन्छन् । यो सम्पूर्ण प्रक्रियामा सामेल हुँदा अबको राजनीतिक नेतृत्वले त्यो गल्ती नदोहो¥याउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? 
गल्ती नदोहोरिनेमा म विश्वस्त छु । हामी जुन बिन्दुमा पुगेका छौँ, त्यसले मलाई त्यो विश्वास दिलाएको छ । हामीले चीनबाट पेट्रोल पाएरमात्र खुसी हुनु हुँदैन । आंशिक रूपमा भए पनि आफैँ उत्पादन गर्नेतिर कोसिस पनि गर्नुपर्छ । अहिले एउटा देशबाट मात्र आयात गर्ने कुरा तोड्नु थियो, तोडियो । तर, त्योसँगै सबभन्दा महŒवपूर्ण कुरा हामी आफैँ पनि थोरैमात्र भए पनि स्रोत खोज्न लाग्नुपर्छ । 
भारतबाट नभए चीनबाट, चीनबाट नभए भारतबाट भनेरमात्र हुँदैन । पहिलो चरणमा हामीले यो काम ग¥यौँ । अब दोस्रो चरणमा हामी आफैँले हाम्रा खनिजका स्रोतहरू खोतल्न थाल्नुपर्छ । बरु विदेशबाट प्राविधिक वा उत्खननका लागि आवश्यक साधन ल्याउन सकिन्छ । त्यसैगरी ग्यास र पेट्रोलको सट्टा विद्युत् वा यस्तै वैकल्पिक ऊर्जाका स्रोतका विषयमा पनि सोच्नुपर्छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/