Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मन्त्रीको भनाई विज्ञप्ति निकालेर खण्डन गर्ने भारतीय दूतावास प्रधानमन्त्रीसँग यसरी डरायो

काठमाडौं – विगत केही दिन यता नेपाल सरकारका मन्त्री र भारतीय दूतावासबीचको जुहारी चलेको छ । मन्त्रीको भनाई आउँछ, दूतावास खण्डन निकाल्छ । दूतावासले मन्त्रीका भनाईमा खण्डन निकालेपनि प्रधानमन्त्रीको भनाईलाई विज्ञप्ति निकालेर खण्डन गर्ने आँट गरेको छैन ।

मधेसी मूलका एमाले नेता तथा वर्तमान युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले मधेसी आन्दोलनमा बिनाबर्दीका भारतीय सिपाही परिचालित भएको आरोप लगाए । उनले बर्दीसहितको सेना भारतले पठाउन नसक्ने र बर्दीबिनाका सेना अझै खतरनाक हुने बताएका थिए ।
सत्यनारायण मण्डलले कार्तिक २६ गते विराटनगरमा प्रेस चौतारीको कार्यक्रममा भनेका थिए,
‘आन्दोलनमा मधेसका जनता छन्, तर भारतको प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग छ । यो उपनिवेश होइन । हामी भारतको गुलाम होइनौँ । अहिले खतरा के छ त भन्दा नवउपनिवेशको जुन जमाना छ, भारतले बर्दीधारी सेना पठाउन सक्दैन । बिनाबर्दीको सेना जुन छ, त्यो बर्दीधारी सेनाभन्दा खतरनाक हुन्छ । विराटनगरमा महावाणिज्य दूतावास छ, वीरगन्जमा पनि छ, उनीहरूले हाम्रो लगानी सफल भएन, फिर्ता गरौँ भन्ने कुरा गरेको पनि सुन्न थालिएको छ । त्यसकारण यहाँ साम्प्रदायिक कुरा गरेर कसैको भलो हुँदैन । न उताका जनताको भलो हुन्छ, न त हामी मधेसीकै भलो हुन्छ । दुई देशबीच हजारौँ वर्षदेखिको सद्भाव, जुन हाम्रा पुर्खाले कायम राखेका छन्, त्यसलाई अघि बढाएर हामी जानुपर्छ ।’
मन्त्री मण्डलको भनाई आएको अर्को दिन अर्थात कार्तिक २७ गते भारतीय दूतावासले विज्ञप्ति निकालेर भन्योः
नेपाल सरकारका बिनाविभागीयमन्त्री श्री सत्यनारायण मण्डलले २ नोभेम्बर २०१५ मा विराटनगरमा भएको पत्रकार सम्मेलनमा भारतबारे व्यक्त धारणाप्रति दूतावासको ध्यानाकर्षण भएको छ । उक्त धारणाहरू उत्तेजनात्मक, आधारहीन र कुत्सित नियतले सिर्जिज छन् । नेपाल सरकारको मन्त्रीजस्तो जिम्मेवार पदमा आसिन व्यक्तिबाट आएका यस्ता धारणाले परिस्थितिलाई अझ बढी व्याकुल पार्नुका साथै नेपाल र भारतबीच रहेको हार्दिक सम्बन्धलाई समेत नराम्ररी प्रभावित गर्न सक्छ । व्यक्तिहरूलाई नेपाल र भारतबीचको वर्षौं पुरानो सम्बन्धमा खलल पार्ने कुनै पनि काम नगर्न तथा अभिव्यक्ति नदिन अनुरोध गर्छौं । भारत नेपाली जनताको शान्ति, स्थायित्व र समृद्धि चाहन्छ । यो उद्देश्य प्राप्त गर्ने नेपाल सरकार र नेपाली जनताको प्रयासमा भारतले निरन्तर सहयोग प्रदान गर्दै आएको र गर्दै जानेछ ।

मन्त्री मण्डल र भारतीय दूतावासको जुहारी सकिएको थिएन । फेरि अर्को जुहारी शुरु भयो । उपप्रधान तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले टेलिभिजन अन्तरवार्तामा यसो भनेः भारतले नेपालको भूभाग टुक्र्याएर आफ्नोमा गाभ्ने तयारी गरिरहेको छ । नाकाबन्दी घामजस्तै छर्लंग छ । नाकाबन्दी नभन्नेहरू या मूर्ख हुन् या त भारतीय दलाल । अब नाकाबन्दी भनेर सरकारले भन्नैपर्छ । यस्तो बेला पनि सरकारमा बसेर खुट्टा कमाउनुको कुनै अर्थ रहन्न । म बसेको सरकारले घुमाउरो शैलीमा यसलाई नाकाबन्दी नै भनेको छ । प्रधानमन्त्रीले नाकाबन्दी नै भन्नुभएको छ । स्पष्ट भाषामा नभन्नुमा सरकारमा बसेका केही व्यक्तिको आफ्नै समस्या होला । तर, यो नाकाबन्दी नै हो । दलाललेचाँहि नाकाबन्दी भन्न सक्दैन । किनभने, उनीहरूबाट केही पाउने आशा हुन्छ र पाइरहेको छ । संविधान बनाउनका लागि रोक्न भारतबाट प्रतिनिधिहरू आएर कुटेलौरो लिएर घर–घर पुगेको देख्नुभएको छैन ? देश भित्रबाटै संविधान बनाउन नदिने कुरा थियो । तर, त्यसलाई यो सरकारले जितेको छ । त्यसैले कतिपय कमी–कमजोरी भए पनि यो सरकारले खुट्टा कमाएको छ र डराइरहेको छ भन्न म सक्दिनँ । केसीको अभिव्यक्तिको खण्डन गर्दै कार्तिक २१ गते भारतीय दूतावासले विज्ञप्ति निकालेर भन्यो : उपप्रधान तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले हिमालय टेलिभिजनमार्फत अन्तर्वार्ताका दौरानमा दिएको अभिव्यक्तिप्रति भारतीय दूतावासको ध्यानाकर्षण भएको छ । उनको अभिव्यक्ति पूरै आधारहीन छ । उपप्रधानमन्त्रीको अभिव्यक्ति नेपाल भारतीबीच सदियौँदेखि रहेको ऐतिहासिक, पारिवारिक र सांस्कृतिक सम्बन्धमा खलल ल्याउने प्रकारको छ । उपप्रधानमन्त्रीका यस्ता अभिव्यक्ति नेपाल सरकारको नरहेको दूतावास अपेक्षा गर्छ । भारत नेपाली जनताप्रति शान्ति, समृद्धि र स्थायित्वको पक्षमा छ । यसका लागि भारत सरकारले सहयोग गर्दै आएको छ र गर्दै जानेछ ।  
दूतावासले आफ्नो नेताको अपमान गरेको ठानेपछि राष्ट्रिय जनमोर्चाले ‘काउन्टर स्टेटमेन्ट’ जारी गर्यो ।


दूतावासको टिप्पणीपछि राष्ट्रिय जनमोर्चा नेपालको विज्ञप्तिमार्फत आएको जवाफ यस्तो थियोः
भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उपप्रधानमन्त्री तथा हाम्रा अध्यक्ष चित्रबहादुर केसीले दिएको अभिव्यक्तिले नेपाल भारतबीचको सम्बन्धमा नराम्रो असर पर्ने कुरा बताइएको थियो । तर, वास्तविकता के हो भने, केसीको अभिव्यक्तिबाट होइन, भारत सरकारले अपनाएको नीतिका कारणले नै दुवै देशबीचको सम्बन्ध नराम्ररी प्रभावित छ । नेपालमा संविधान बनेपछि भारतले त्यसमा संशोधनका लागि दबाब दियो । कुनै स्वतन्त्र देशलाई आफ्नो संविधान निर्माण गर्ने सार्वभौम अधिकार हुन्छ । त्यो अधिकारमाथि भारतले गरेको हस्तक्षेप अत्यन्त आपत्तिजनक हो । संविधानमा संशोधनहरू स्विकार्न दबाब दिन नेपालका विरुद्ध नाकाबन्दी लगाइयो । भारतले घोषित रुपमा त्यो नाकाबन्दी नलगाएको भए पनि त्यो वास्तविकता हो र सम्पूर्ण संसार त्यसबारे अवगत छ । नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन, सार्कको समझदारी तथा नेपाल र भारतका बीचमा भएका पारस्परिक सन्धिहरू र मानवताको समेत विरुद्ध छ । भारतको त्यो नीतिबाट नै दुवै देशबीचको मैत्री सम्बन्धमा निकै आँच पुगेको छ ।
मन्त्री मण्डल र उपप्रधानमन्त्री केसीको विज्ञप्ति निकालेर भारतीय दूतावासले सफाई दिन त खोजेको थियो तर अर्को उपप्रधानमन्त्री सीपी मैनालीले कार्तिक २१ गते नै भारतमाथि अर्को हमला गरे । उपप्रधान, महिला तथा बालबालिकामन्त्री सिपी मैनालीले गत कार्तिक २१ गते साक्षात्कार कार्यक्रममा भारतबारे यस्तो अभिव्यक्ति दिएः
‘मधेसमा भइरहेको आन्दोलन भारतकै इसारामा चलेको छ,’ ‘भारतीय भूमिको प्रयोग गर्दै र भारतकै राजनीतिक दलहरूको सहयोगकै कारण मधेस आन्दोलन भइरहेको छ । भारतले लगाएको अघोषित नाकाबन्दी एक मधेस एक प्रदेश हुँदै दुई मधेससम्म पुगेर नेपालको तराई क्षेत्रलाई आफ्नो अधिनमा पार्ने रणनीति हो । आन्दोलनकारी नेतृत्वको हठ र भारतको अदृश्य सहयोगी भूमिकाले समस्या समाधान हुन सकेको छैन । भारतलाई समेत नाकाबन्दी गलाको पासो बनेको छ । राजेन्द्र महतोले कसरी वंशजको आधारमा नागरिकता पाए भन्ने समेत नेपाली राजनीतिक वृत्तमा बहसको विषय बनेको छ ।
उपप्रधानमन्त्री मैनालीको भनाई पनि भारतलाई चित्त बुझेन र दूतावसले विज्ञप्ति निकालेर खण्डन गर्ने कोशिस ग¥यो ।


कार्तिक २२ गते मैनालीको भनाईलाई केन्द्रीत गर्दै भारतीय दूतावसाले यस्तो विज्ञप्ति निकाल्योः
उपप्रधान, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले ७ नोभेम्बर २०१५ मा रिपोर्टर्स क्लबमा भएको अन्तक्र्रियामा दिएको अभिव्यक्तिप्रति भारतीय दूतावासको ध्यानाकर्षण भएको छ । उनको अभिव्यक्ति आधारहीन र कपोलकल्पित छ । यसले दुई देशबीचको सामाजिक एकतामा खलल ल्याउने काम गरेको छ । भारतको उद्देश्य शान्ति, स्थायित्व र समृद्ध नेपाल रहेको छ । भारतले आन्तरिक विषयहरु राजनीतिक संवाद र वार्ताबाट हल हुने अपेक्षा गरेको छ । नेपालका लागि हर सहयोग गर्न भारत तयार छ ।
तर, प्रधानमन्त्रीसँग दूतावास डरायो
प्रधानमन्त्री ओलीले भारततर्फ इंकित गर्दै अदृश्य शक्तिले प्रधानमन्त्री निर्वाचनका बेला बालुवाटारमै आएर पैसा बाँडेको बताएका थिए । नयाँ शक्ति बनाउने अभियानमा लागेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित ज्ञापनपत्र बुझाउन कार्तिक २१ गते बालुवाटार पुगेको टोलीसँग कुरा गर्दै उनले बाह्य शक्तिले स्थिति प्रतिकूल बनाउन खोजेको बताएका थिए ।
ओलीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी जनजाति महासंघका उपाध्यक्ष दण्डु शेर्पाले भनेका छन्, ‘कुराकानीका क्रममा उहाँले यो स्थिति सिर्जना गर्न उतापट्टिको रुममा बसेर हिन्दीमा बोल्ने, नेपाली बोल्न नजान्नेले सुटकेसका सुटकेस पैसा ल्याएर बाँडे भन्नुभएको थियो ।’
प्रधानमन्त्री ओलीको अभिव्यक्तिमाथि भने भारतले कुनै प्रतिक्रिया जनाएको छैन । प्रधानमन्त्री ओलीले सिधासिधा भारतीय दूतावासबाट प्रधानमन्त्री निर्वाचन आर्थिक चलखेल भएको संकेत गरे पनि यस विषयमा भने भारतीय दूतावासले कुनै टिप्पणी गरेको छैन । प्रधानमन्त्रीले यो भनेका थिए भनेर कार्तिक २२ गते एक दैनिक पत्रिकामा ‘बालुवाटारबाटै भारतीयले पैसा बाँडेको ओलीको दाबी’ शीर्षकमा समाचार छापियो । तर, प्रधानमन्त्री बोलेका होइनन् भनेर उनको सचिवालयबाट पनि खण्डन भएन र दण्डु शेर्पाले पनि मैले यस्तो प्रतिक्रिया दिएको छैन भनेर आफ्नो बचाऊ गरेनन् । From Ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/