Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

कसले गरायो नेपालमा फेरि एकाएक भारतीय न्युज च्यानल बन्द ?

काठमाडौं – भारतीय गाडी आगजनी गर्दै भारतविरुद्ध संघर्षमा उत्रिएको नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादीले भारतीय न्यूज च्यानल पनि बन्द गराएको छ । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघलाई पत्र लेखेर च्यानल बन्द गराउन चेतावनी दिएपछि महासंघले शनिबार साँझदेखि काठमाडौंमा भारतीय न्युज च्यानल बन्द गराएको हो ।
महासंघका केन्द्रीय सदस्य मनोज गुरुङले विप्लव माओवादी र नागरिक समाजको अनुरोधमा भारतीय न्युज च्यानल बन्द गराइएको जानकारी दिए । ‘हामीलाई अहिले देशको परिस्थिति र राष्ट्रियताको विषयलाई ध्यानमा राख्दै विप्लव माओवादीले पत्र लेखेर च्यानल बन्द गर्न अनुरोध गरेको थियो । त्यस्तै नागरिक समाजबाट पनि त्यस्तै सुझाव आएको छ,’ उनले भने, ‘यसैका आधारमा हामीले शनिबार साँझदेखि काठमाडौंमा लगायत केही स्थानमा भारतीय न्युज च्यानलको प्रशारण रोकेका छौं । तर, अहिले सबै ठाउँमा बन्द भने भएको छैन ।’

यसअघि पनि गत असोज महिनामा महासंघले भारतीय च्यानलहरु बन्द गराएको थियो । त्यसबेला महासंघले विज्ञप्ति निकालेर प्रशारण बन्द नगरे भौतिक कारवाही गर्नेसम्मको चेतावनी आफूहरुलाई आएको जानकारी गराएको थियो । तर, सरकारले निर्देशन दिएपछि प्रशारण पुन खुला गरिएको थियो । गुरुङले भने, ‘हामीलाई प्रशारण गर्न कुनै आपत्ति होइन । तर, सरकारले सुरक्षा दिनुप¥यो ।’
विप्लव माओवादीले यसअघि विज्ञप्ति निकालेर भारतीय हस्तक्षेप र नाकाबन्दीको विरोधमा नेपालमा भारतीय सवारी साधन, च्यानल र सिनेमा बन्द गर्न आह्वान गरेको थियो । यसअघि विप्लव माओवादीले भारतीय नम्बर प्लेटका सवारीसाधनमा आगजनी गरिसकेको छ ।
भारतीय मिडिया भन्छ, ‘यो नेपाल सरकारकै काम हो’
भारतीय मिडियाले भने सरकारी निर्देशनमा नै नेपालमा भारतीय न्युज च्यानल बन्द भएको दाबी गरेका छन् । नेपाल–सम्बन्धमा चिसोपन आएको र भारतीय मिडियाले मधेसबारे सही सूचना सम्प्रेषण नगरेको भन्दै भारतीय न्युज च्यानल बन्द गरिएको उनीहरुको दाबी छ ।
तर, सञ्चारमन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले भने भारतीय न्युज च्यानलहरु बन्द गर्ने बारे कुनै निर्देशन नदिएको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अहिले हामीले च्यानल बन्द गराउने बारे कुनै त्यस्तो निर्देशन दिएका छैनौं । बरु, यसअघि केबुल एसोसिएसन आफैले बन्द गर्दा मन्त्रालयले पत्र काटेरै भारतीय च्यानलहरु खुला गर्न निर्देशन दिएको थियो ।’
From ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/