Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

चीनको तेल बाँड्ने यस्तो छ सरकारी योजना


चीनले अनुदान स्वरुप दिएको पेट्रोल नेपाल भित्रनेबित्तिकै सरकारले वितरण गर्ने भएको छ । केरुङनाका हुँदै भित्रिएको तेल आजै (सोमबार) साँझसम्म उपत्यका भित्रिएपछि आजदेखि नै वितरण सुरु गरिने नेपाल आयल निगमले जनाएको हो ।

अनुदानको साढे ७३ मेट्रिकटन पेट्रोल १२ वटा ट्यांकरमा आज उपत्यका भित्रँदै छ । ‘तेल आज भित्रिएपछि थानकोट डिपोमा खन्याइन्छ,’ आयल निगमका एलपीजी विभाग र आपूर्ति वितरण उड्डयन विभाग प्रमुख मुकुन्द घिमिरेले रातोपाटीसँग भने, ‘त्यसपछि आवश्यकताअनुसार आजैबाट उपभोक्तालाई उपलब्ध गराइन्छ ।’
यसअघि छुट्टै स्टोरमा राख्ने भन्ने निगमको भनाइ नभएको तर हिसाब भने छुट्टै राखिने घिमिरेले बताए । ‘छुट्टै राख्ने भन्ने होइन, बरु अनुदानको तेलको हिसाब छुट्टै रहन्छ,’ उनले भने ।
वितरण प्रक्रिया भने अहिलेको जस्तै अत्यावश्यक सवारी–साधनलाई मात्र दिइने निगमले जनाएको छ । ‘भर्खरै सबै सवारी–साधनलाई दिन सक्ने अवस्था त हुँदैन,’ निगम प्रवक्ता दीपक बरालले भने, ‘अहिलेजस्तै अत्यावश्यक सवारीलाई जसरी वितरण भइरहेको छ, त्यसरी नै हुनेछ ।’
आयल निगमका अनुसार चीनबाट अनुदानमा आएको तेलको मूल्य पनि फरक हुनेछैन । नेपालमा भारतबाट किनेर ल्याएको तेलको मूल्यअनुसार नै चीनबाट अनुदानमा ल्याएको तेल बेचीने निगमले जनाएको छ ।
‘अहिलेसम्म जुन रेटमा भएको छ, त्यसैमा चीनको तेल बिक्री हुन्छ,’ निगमका निर्देशक घिमिरेले भने, ‘पछि एनओसीले कतै मूल्य समायोजन गर्नुपर्ने अवस्था आयो भने त्यसैबाट मिलाइन्छ ।’
अनुदानको तेल ल्याउन आयल निगमले प्रतिलिटर २८ रुपैयाँ ५४ पैसाका दरले तीन करोड ६४ लाख रुपैयाँ राजस्व बुझाएको छ । पेट्रोलको भन्सार शुल्क प्रतिलिटर १५ रुपैयाँ २० पैसा, प्रज्ञापनपत्रबापतको शुल्क ५० पैसा, सडक सुधारबापत चार रुपैयाँ मूल्य अभिवृद्धिकरबापत आठ रुपैयाँ ८४ पैसाका दरले राजस्व बुझाएको निगमले जनाएको छ ।
आज उपत्यकामा ९८ हजार लिटर तेल आउने भएपछि भोलिदेखि पनि सोहीअनुसार भित्रिएर एक हप्ताभित्र अनुदानको तेल राजधानी आइपुग्ने निगमले जनाएको छ । चीनले नेपाललाई झन्डै १३ लाख लिटर तेल अनुदानमा उपलब्ध गराएको हो । अनुदानको सबै तेल सिगात्सेबाट रसुवागढी नाकामा पठाउने काम चीनले गरिरहेकाले नेपालबाट पनि रसुवागढी नाकामा ट्यांकर पठाउँदै भित्र्याउने काम दैनिक जारी रहनेछ ।
निगमले आजै थप तीन ट्यांकर पनि केरुङ पठाएको छ । केरुङबाट तेल भरेर हिजो हिँडेका  ट्यांकर  नेपाल भित्रिएपछि भोलिदेखि भने दैनिक २०/२२ वटा ट्यांकरमार्फत तेल भित्र्याइने निगमका प्रवक्ता दीपक बरालले बताए ।
अनुदानको तेल नेपाल भित्रिएपछि नेपालले व्यापारिक प्रयोजनका लागि चाइना पेट्रोलसँग किनेको तेल नेपाल भित्रने क्रम सुरु हुनेछ ।
गएको बुधबार नेपाल र चीनबीच दीर्घकालीन रुपमा पेट्रोलियम पदार्थ ल्याउने समझदारी भएको हो । नेपाल सरकारको स्वामित्वको नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको चाइना आयल बीच समझदारी भएपछि इन्डियन आयल कर्पोरेसन (आइओसी) सँगको तेलको एकाधिकार तोडिएको छ ।
दिउँसो २ बजे विदुर कटे ट्यांकर 
चीनबाट आएको पेट्रोल नुवाकोट सदरमुकाम विदुरबाट अगाडि बढेको छ । दिउँसो दुई विदुर क्रस भएकाले साँझ पाँच बजेतिर काठमाडौं आइपुग्ने निगम प्रवक्ता दीपक बरालले बताए । सबै १२ वटै ट्यांकर एकसाथ काठमाडौं आउने बताए । ‘बढी लोड भए पनि त्यस्तो समस्या छैन,’ उनले भने, ‘एकसाथ पाँच बजेसम्म थानकोट पुग्छ ।’
As published on: ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/