Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

१०० औं दिनमा शोकाकुल सप्तरी

  • •दुई प्रदर्शनकारीको मृत्यु •एसपीको गाडी पनि जलाइयो •मोर्चा नेताप्रति कार्यकर्ता आक्रोसित
जितेन्द्र खडगा, राजविराज

मंसिर ६, २०७२- 
मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीको गोलीले दुईजना आन्दोलनकारीको शनिबार राति मृत्यु भएको छ । झडपका क्रममा ३० भन्दा बढी आन्दोलनकारी र २५ भन्दा बढी प्रहरी घाइते भएका छन् । मधेशी मोर्चाले थप दुई जनाको मृत्यु भएको दाबी गरे पनि पुष्टि भएको छैन ।
प्रहरीले स्कर्टिङ गरी सवारी साधनलाई गन्तव्यमा पुर्‍याउने काममा अवरोध भएपछि झडप भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह र रुपनीमा एक–एक जनाको ज्यान गएको हो । भारदहमा डाढा, ७ का २० बर्षीय वीरेन्द्र राम र रुपनीमा जमुनीमधेपुरा, ९ का २५ बर्षीय नागेश्वर यादवको प्रहरीको गोलीले मृत्यु भएको हो ।

झडपक्रममा प्रहरीको गोलीले अरु दुईजनाको मृत्यु भएको दाबी गर्दै संघीय समाजबादी फोरम नेपालका केन्द्रिय सदस्य शम्भु झाले शब प्रहरीले नै लगेको समेत दाबी गरे । भारदहमा १८ आन्दोलनकारी घाइते भएका हुन् । गम्भीर अवस्थाका ९ जनालाई धरान लगिएको छ । ३५ बर्षीय राजेश यादव, २५ बर्षीय श्रबणकुमार झा, १५ बर्षीय मोहम्मद अक्तर, ५५ बर्षीय रघु साफी, ३० बर्षीय सुरेन्द्र यादव, ४० बर्षका रामेश्वर मण्डल र ४० बर्षीय लाल झालाई उपचारका लागि धरान लगिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।
रुपनीमा भएको झडपमा ४६ बर्षका सत्रुघन राय, ५० का रामचन्द्र यादव र ३५ बर्षीय भुवनेश्वर मण्डललाई पनि उपचारका लागि धरान पठाइएको छ । मृतक र अधिकांश घाइतेहरुको पेट, छाती र टाउकोमा गोली लागेको चिकित्सकले बताएका छन् ।
घाइते अन्य २६ जनाको राजबिराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अन्चल अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीको ढुंगा र गुलेली प्रहारबाट २५ जना नेपाल तथा सशस्त्र प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ । एसपी ढकालका अनुसार उनीहरुको जिल्ला प्रहरी कार्यालयभित्रै उपचार भइरहेको छ ।

राजविराजस्थित आन्दोलन चौकमा बालिएको टायर । तस्विर : जितेन्द्र खडगा/कान्तिपुर
यसरी भयो झडप
मोर्चा कार्यकर्ताहरुले राजमार्ग अवरुद्ध गर्न भारदह, रुपनी तथा बिषनपुर गरी तीन स्थान तोकेका थिए । तिनै स्थानमा साँझबाटै सयौं भेला भएका थिए । उनीहरुले आन्दोलनस्थलमै खाना खाएका थिए । साँझ करिब ५ हजारको संख्यामा लाठी र भाटा बोकेका प्रदर्शनकारीले भारदहमा प्रदर्शन गरे । सोही क्रममा इलाका प्रहरी कन्चनपुरको जीपमा उनीहरुले आक्रमण गरे ।
गाडी पूर्णरुपले क्षतिग्रस्त भएको छ । गाडीमा सवार प्रहरीहरुले हात जोडेर प्रदर्शनकारीसँग आक्रमण नगर्न भनेपछि छाडिएका थिए । राति १० बजेबाट शुरु हुने प्रहरी स्कर्टिङका लागि प्रहरी इलाका प्रहरी कर्यालयमै बसेका थिए ।
स्कर्टिङ अवरुद्ध गर्न प्रदर्शनकार सडकमा धर्ना बसेका थिए । राति साढे १० बजेतिर करिब ५ सयको संख्यामा रहेका नेपाल तथा सशस्त्र प्रहरी घर्ना बसेका प्रदर्शनकारीलाई सडक छाड्न भनेका थिए । कुनै पनि हालतमा सडक नछाड्ने अडानमा रहेका प्रदर्शनकारीहरु त्यहीँ बसिरहे ।
त्यसपटि प्रहरीले लाठी चार्ज गरेको थियो ।  प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुडा गरेका थिए । उनीहरुले गुलेलीको प्रयोग समेत गरेका थिए । प्रहरीले अश्रुग्यास पनि प्रयोग गरेको थियो । अवस्था थप तनावग्रस्त बनेपछि प्रहरीले गोली चलाएका थिए ।
भारदहको पेट्रोलपम्पनजिकै रहेका प्रदर्शनकारीमध्ये तीनजनालाई गोली लागेको थियो । उनीहरुलाई प्रहरीले उपचारका लागि धरान पठाएको भने पनि एकजना धरानमै रहेको तर अरु दुईजना कहाँ छन् भन्ने पत्तो नभएको मोर्चाका नेताले जनाएका छन् । 
त्यहाँबाट प्रदर्शनकारीहरु भागेपछि पोर्ताहा चोकमा जमा भएका प्रदर्शनकारीलाई लक्षित गरी प्रहरीले गोली चलाएको थियो । भारदहमा प्रहरी तर्फबाट सयौं राउन्ड गोली प्रहार भएको आन्दोलनकारीको दाबी छ । स्थानीय पसलका सटरहरुमा ४ देखि पाँच फिटको उचाईमा गोलीले बनाएका सयौ प्वालहरु देखिन्छ  ।
यसैबीच अवस्था असहज भएपछि प्रशासनले भारदह, रुपनी र राजबिराजस्थित अड्डा लाइनमा कफ्र्य आदेश जारी गरेको छ । शान्तिपुर्ण धर्नामा प्रहरीले बल प्रयोग गरेको भन्दै कफ्र्युकै बेला पनि आन्दोलनकारीले प्रदर्शन गरेका थिए । उनीहरुले दुईवटा मोटरसाइकलमा आगजनी गरे । यस्तै एसपी ढकाल चढेको ना१झ १३१६ नम्बर जीपमा पनि आन्दोलनकारीले आगजनी गरेका छन् ।
घाइते प्रहरीलाई उपचारकालागि अञ्चल अस्पताल राजबिारज ल्यएको उक्त जीपमा प्रदर्शनकारीले आगो लगाएका थिए । आगजनीबाट जीपको अधिकांश भाग जलेर नष्ट भएको छ । त्यसक्रममा गाडीमा रहेका प्रहरीहरु ज्यान बचाउन भागेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार आक्रमणमा संलग्न प्रदर्शनकारी खोज्दै प्रहरी टोली अस्पताल परिसर पुगेको थियो । आन्दोलनकारी भागेका थिए । त्यसक्रममा प्रहरीको कुर्टाइबाट अस्पतालका प्याथोलोजिष्ट डा. बिश्वनाथ मण्डल घाइते भएका छन् । उनको अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले अस्पताल परिसरमा अन्धाधुन्ध लाठी चार्ज गरेकाले अस्पतालका कर्मचारी र बिरामीका कुरुवाहरु घाइते भएको अस्पतालका निमित्त प्रमुख डा दिपा यादवले दाबी गरिन् । यादवले बिज्ञप्ती जारी गरी दोषी प्रहरीलाई कारवाही नभएसम्म अस्पतालको आकस्मिकबाहेक सेवा ठप्प पारिएको जनाइन् ।
यस्तै सवारीसाधनमा ढुंगामुढा गरेको भन्दै प्रहरीले बरमझिया बजारमा पसललेहरुलाई कुटपीट गरेको भन्दै त्यहाँ स्थानीयले प्रदर्शन गरे । प्रदर्शनकारीले बरमझियास्थित सुन्दरी खोलाको पक्की पुल भत्काउन थालेपछि प्रहरीसँग दोहरो झडप भएको छ  । घनलगायत औजारले पुलको आधा भाग भत्काइसकेपछि आइपुगेको प्रहरी टोलीसँग झडप भएको थियो ।
प्रदर्शनकारीले तीनवटा जर्किनमा ५ सय लिटर डिजेल लिएर जादै गरेको ज१च नम्बरको एमबुलेन्सलाई कन्चनपुरमा नियन्त्रणमा लिन खोजेका थिए । त्यसक्रममा पनि झडप भएको थियो ।
यसैबीच सप्तरीका बिभिन्न स्थानमा भएको झडपमा प्रहरीले गरेको कारबाहीबारे प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले असन्तुष्टि जनाएका छन् । ‘सुरक्षा निकायका केही अधिकारीहरुले गलत रिपोर्टिङ गरेका कारण प्रहरीबाट आवश्यकभन्दा बढी बल प्रयोग भएको हो’ उनले भने, ‘त्यसैले बढी मानवीय क्षति भएको छ ।’ जुनसुकै अवस्थामा पनि ढाड भन्दामाथि गोली हान्नु नहुने भन्दै ठाकुरले तर, अधिकांश गोली ढाडभन्दा माथि लागेको देखिएको र यसको छानबिन हुँदै गरेको उनले बताए ।

मोर्चा कार्यकर्ताले राजविराजमा अागजनफ गरेकाे जिल्ला प्रहरी प्रमुखकाे भ्यान।  तस्बिर : जितेन्द्र खडगा/कान्तिपुर
साँझ फेरि झडप
राजबिराजमा साँझ प्रहरीको गोली लागि आफ्नै घरको छतमा रहेका बाबुछोरी घाइते भएका छन् ।  प्रदर्शनकारीलाई लक्षित गरी प्रहरीले चलाएको गोली लागी मेनरोडमै रहेको आफेनै घरको छतमा बसिरहेका ५० बर्षिय दिलिप साहको कन्चटमा गोली लागेको छ । उनकी ७ बर्षीया छोरी मुस्कान साहको पिठयुमा गोली लागेको छ । दुबै जनालाई उपचारका लागि धरान पठाइएको प्रहरीले जनायो ।
चारैतिरबाट ढुंगामुढा हुन थालेपछि हवाई फायर खोलेको एसपी ढकालले बताए । त्यसक्रममा छतमा रहेका साहलाई गोली लागेको उनले जनाए ।
आन्दोलनकारीबाट गोली चलेपछि जवाफी कारबाही: डिआईजी
पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधव जोशीले सप्तरी घटनामा आन्दोलनकारीको तर्फबाट गोली चलाइएपछि प्रहरीले बाध्य भएर गोली चलाउनु परेको बताएका छन् । राजविराज, भारदह, रुपनीलगायत क्षेत्रमा आन्दोलनकारी अराजक बनेपछि अवस्था असामान्य बनेको उनले बताए ।
‘राती हजारौंको संख्यामा राजमार्गमा आएर बसे, राति ९ बजेदेखि राजमार्ग दंग्राग्रस्त क्षेत्र घोषणा गरिएको ठाउँ हो, प्रहरीले उनीहरुलाई हटाउनु पर्ने वाध्यता थियो, त्यसै क्रममा झडप सुरु भएको हो,’ उनले भने, ‘त्यही क्रममा आन्दोलनकारीको तर्फबाट गोली चल्न थाल्यो त्यसपछि प्रहरीले जवाफी कारबाही गरेको हो ।’
शान्तिपुर्ण आन्दोलनका नाममा अराजकता मच्चाउने छुट कसैलाई नभएको डिआइजी जोशीले बताए । ‘हामी अहिले पनि संयमित छौ, मैले प्रष्ट निर्देशन दिएको छु, धनजनको कम क्षतिमा शान्ति सुरक्षा कायम हुनुपर्छ,’ उनले भने, ‘तर शान्तिपूर्ण आन्दोलन गर्नेहरुबाट सुरक्षाकर्मीमाथि गोली चल्न थालेपछि यो भन्दा अरु के हुन सक्छ ?’ 
आइतबार पनि बिहानैदेखि आन्दोलनकारी अराजक भए पनि स्थिती नियन्त्रणमा लिन गोली चलाउनुपर्ने बाध्यता भएको डिआइजी जोशीले बताए । आन्दोलनकारी सोचेभन्दा बढी अराजक बनेको उनले बताए । सप्तरी जिल्ला सदरमुकामलगायतका स्थान प्रहरी नियन्त्रणमा रहेको जोशीले बताए ।
‘जिल्ला सुरक्षाकर्मीको नियन्त्रणबाहिर गएको छैन,’ उनले भने, ‘हामी भोलि (सोमबार) पनि थप रणनीतिसहित अघि बढ्छौ स्थिति सामान्य हुँदै जान्छ ।’ शनिवार राती र आइतवार दिउँसोका झडपमा १५ नेपाल प्रहरी र १० जना शसस्त्र प्रहरी घाइते भएको उनले बताए । सप्तरीमा १ हजार ५ सय जनाभन्दा वढिको संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरी उतिकै संख्या परिचालित छन् ।  
मोर्चा नेताप्रति कार्यकर्ता आक्रोसित
आन्दोलनको क्रममा कार्यकर्ता र सर्वसाधारण मारिइरहँदा नेताहरु काठमाडौंमा बसेर बिलासी जीवन बिताइरहेको भन्दै मोर्चासम्बद्ध जिल्लास्तरका नेता–कार्यकर्ताले आक्रोस ब्यक्त गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध नेता कार्यकर्ताहरुले आइतबार दिउसो भारदहमा आफ्नै नेतृत्व बिरोधमा नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।
मोर्चाका केन्द्रीय नेताहरुले निर्धारण गरेको राजमार्गकेन्द्रित आन्दोलनमा शनिबार राति सप्तरीको भारदह र रुपनीमा प्रहरीसँगको झडपमा दुईजनाको मृत्यु भएको थियो । दर्जनौं घाइते भए । तर, मोर्चाका शीर्ष नेताहरुले आइतबार साँझसम्म पनि मृतक र घाइतेबारे चासो नराखेको भन्दै कार्यकर्ता विरोधमा उत्रिएका हुन् ।
संघीय समाजबादी फोरम नेपालका केन्द्रिय सदस्य एवं भारदहस्थित आन्दोलन संयोजन समितिका संयोजक शम्भु झाले भने, केन्द्रीय नेताहरुले आदेश फर्माउछन्, हामी राजमार्गमा ज्यान जोखिममा राखेर आदेशको कार्यन्वयन गर्छौ तर, नेताहरु बिभिन्न बहानामा काठमाडौमा बसेका छन् । आन्दोलनमा के भयो कसरि भयो मृतक परिवारलाई के गर्ने, घाईतेको उपचार कसरि हुदै छ भने बिषयमा नेताहरुलाई केहि खाचो नै देखिदैन ।’ 
प्रहरीले अत्यधिक बल प्रयोग गर्ने प्रष्टै हुँदाहुँदै पनि कार्यकर्तालाई राजमार्गमा उतार्नु असामान्य भएको भन्दै आन्दोलनकारी बिनोदकुमार माझीले भने, ‘मधेस अधिकारका लागि तै हामी सडकमा आयौ तर, नेताहरुको काठमाडौ मोह हेरेर बिरक्त लाग्छ ।’
प्रहरीसँग सोझै भिडन्त हुने खालको कार्यक्रम निर्धारण गरेर शीर्ष नेताहरु काठमाडौ बसेकामा उनले असन्तुष्टि व्यक्त गरे । ‘यसबाट आन्दोलनमा संलग्न कार्यकर्ताको मनोवल टुटेको छ’ उनले भने । 
सरकारसँग पटकपटकको वार्ता निरर्थक भइरहेको उल्लेख गर्दै सद्भावनाका केन्द्रीय सदस्य किशोर यादवले उपयोगहिन भइसकेको संसदमा बस्न र भत्ता सुरक्षित गर्न मोर्चा आवद्ध सवै मधेसवादी दलका सांसदहरु काठमाडौ बसेको आरोप लगाए ।
‘मुसालाई खेलाएजस्तै हाम्रा शीर्ष नेताहरु वार्ताको नौटंकीमा सामेल हुन काठमाडौ बसेकामा कार्यकर्ताहरु आक्रोशित भएका छन्’ यादवले भने, ‘मधेसको मागबारे तीन ठूला दलले ठोस एजेण्डा नबनाएको प्रष्टै छ जहिले पनि थप सहमति र ठोस एजेण्डा बनाउन भन्दै समय लम्बयाउदै गरेको रणनिति किन हाम्रा नेताहरुले नबुझेका हुन् ?’ यही अवस्था रहे जिल्लाका कार्यकर्ताहरु पार्टी छाडेर छुट्टै किसिमको आन्दोलनमा जान सक्ने उनको बुझाइ छ ।
फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्रप्रसाद साह शीर्ष नेताहरु आन्दोलनमा रहेका सबै मधेसवादी दल र शक्तिहरुसँग बृहत् मोर्चा बनाएर जिल्ला जिल्लामा आन्दोलनको मोर्चा सम्हाल्न आउनुपर्ने बताउँछन् । ‘उनीहरुले काठमाडौ नछाडे आन्दोलन अघि बढ्न सक्दैन’ उनले भने, ‘सरकार वा दलसँग वार्ता भए मधेसमै गर्नुपर्छ ।’
सिरहामा प्रदर्शन
मधेसी मोर्चाका नेता कार्यकर्ताले सिरहामा आइतबार दिनभर प्रदर्शन गरे । दसैं अगाडिदेखि खुलेका जिल्लाका बजार पसलहरु आन्दोलनकारीले बन्द गराएका थिए ।
विभिन्न चोकमा टायर बालेर उनीहरुले प्रदर्शन गरे । पूर्वपश्चिम राजमार्गस्थित लहान, गोलबजार र मिर्चैयामा आन्दोलनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरुले पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलसमेत चल्न दिएनन् ।
आन्दोलनकारीहरुले जिल्लास्थित सीमा नाकाहरुमा समेत आइतवार भारतीय बजार जान आउनमा कडाइ गरे । आन्दोलनकारीहरुले माडर, लगडी, औरही, बरियारपट्टी, ठाडी नाकामा ओहोरदोहोर गर्ने सेवाग्राहीहरुलाई चेकजाच गरेर मात्रै जान दिनेगरेको माडरका सुनितादेवी मण्डलले बताइन् । 
मण्डलका अनुसार स्थानीय ब्यापारी तथा सेवाग्राहीहरुले भारतबाट लुकाई छिपाई ल्याएको पेट्रोल, डिजेल आन्दोलनकारीहरुले करिब ५ सय लिटर जफत गरि आगो लगाएर जलाइदिएका छन् । आन्दोलनकारीहरुले भारततर्फबाट पेट्रोल भरेर ल्याएको मोटरसाइकलबाट पेट्रेल झिकेर सडकमा पोखेर आगो लगाइदिने गरेको उनले बताइन् । 
जनकपुरमा पनि
आन्दोलन सय दिन पुगेको अवसरमा मधेसी मोर्चाले आइतवार सदरमुकाम जनकपुरसहित धनुषाका ग्रामीण क्षेत्रमा प्रदर्शन गरे । राजमार्ग केन्द्रित कार्यक्रमलाई निरन्तरता दिदै पूर्वपश्चिम राजमार्गको ढल्केवरमा विहानैदेखि प्रदर्शन गरियो ।
मोर्चासम्बद्ध कार्यकर्ताहरु आइतवार नगरक्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए । यसैगरी पेट्रोलियम पदार्थ बोकेर जादै गरेको एक मोटरसायकललाई अपरान्ह मिल्स एरियामा तोडफोड गरिएको थियो । साँझ मसाल जुलुस प्रदर्शन गरियो ।
धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका मोर्चा घटक चार दलका नेताहरुको हालै जनकपुरमा सम्पन्न बैठकले राजमार्ग तथा नाका केन्द्रित आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार शनिवार पूर्व पश्चिम राजमार्गको ढल्केवरमा सञ्चालन भइरहेको एक ट्रक र एक मोटरसाइकलमा आगजनी गरिएको थियो ।
यसैबीच थारु कल्याणकारी सभा र थरुहट सङ्घर्ष समितिका नेता राजकुमार लेखीले राजमार्ग केन्द्रित आन्दोलनलाई अझ सशक्त बनाउने बताएका छन् । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 
News from ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/