Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

महन्थ ठाकुरले बालुवाटारमा यसरी पोखे मनको बह

'प्रदेश माग्दा बिहार देखाउने, अधिकार माग्दा मोदीपुत्र भन्ने ?'
मात्रिका पौडेल
१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आजै टुंगो लगाउँ भनेर शुरु गरे पनि सोमवार बालुवाटारमा भएको त्रिपक्षीय वार्ता मनको बह पोखेर टुंगियो । मनको बह पोख्नेमा सबैभन्दा अगाडि देखिए तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर ।
विहान ११ बजे भनिए पनि बैठक शुरु हुँदा आधा घण्टा ढीला भयो । बैठकमा मधेसी मोर्चाका शीर्षनेता सहभागी नहुने भनेर हल्ला चलिरहे पनि प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट महन्थ ठाकुर हृदयेश त्रिपाठीलाई लिएर बालुवाटारमा भित्रिए ।
महन्थ ठाकुर र हृदयेश त्रिपाठीलगत्तै समाजवादी फोरमका अशोक राई र राजेन्द्र श्रेष्ठहरु पनि प्रधानमन्त्री निवास बालुवाटार छिरे । एमाले पार्टीबाट बाहिरिएपछि अशोक राई र केपी ओलीवीच यो नै पहिलो औपचारिक वार्ता थियो ।
बैठकको शुरुमै प्रधानमन्त्रीले भावुक खालको मन्तव्य दिए । ‘जनताले धेरै दुःख पाए । हामी सबैले देश र जनताकै लागि राजनीतिक गरेका हौं भने अब कहीँ न कहीँ मिलनबिन्दु खोज्नैपर्छ’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एमाले उपाध्यक्ष तथा रक्षामन्त्री भीमबहादुर रावलले भने ।

ओलीको मधेसी मोर्चाको आन्दोलनलाई हेर्ने दृष्टिकोणमा ठूलै परिवर्तन महसुस गरे मधेसी नेताहरुले पनि । वार्तामा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका नेता समिम अन्सारीले भने- आज प्रधानमन्त्रीज्यू विगतको भन्दा धेरै नरम र समस्याप्रति साँच्चिकै चिन्तित अवस्थामा देखिनुभयो । उहाँले त आजै टुंगो लगाएरमात्र उठौं भन्नुभएको हो ।
ओलीले आजै टुंगो लगाउँ भने पनि त्यसपछिको माहौल ओलीले भने जस्तो भएन । नेताहरु आ-आफ्ना मनका बह पोख्न थाले । सुशील कोइरालाले आफूलाई मधेसी मोर्चाको ११ बुँदाबारे थाहा नभएको भन्दै ‘ऊ गर्न समय चाहिन्छ’ भन्न थाले ।
महन्थले मनै रित्याए
मनको बह पोख्ने क्रममा मधेसी मोर्चाका शीर्षनेता महन्थ ठाकुरले आफ्नो मन रित्याएरै पोखिएको एक सहभागीले बताए । राज्यको यही शैलीको दमन र मधेसी नागरिकमाथिको दोस्रो दर्जाको व्यवहार कायम रहे अब वार्ता कहिल्यै हुन नसक्ने भावुक चेतावनी पनि दिए ।
ठाकुरले बैठकमा भने- ‘राज्यले मधेसीमाथि गरेको दमन सम्झिने हो भने त हामी यहाँ बालुवाटारमा कहिल्यै नआए हुन्छ । प्रहरीका अफिसरले मधेसी आन्दोलनकारीलाई मोदीका सन्तान भनेर अपमानजनक गाली गरेका छन् । छाती र टाउकोमा ताकीताकी गोली हानेका छन् । हामीलाई प्रदेश माग्दा बिहार युपी जाऊ भनिन्छ, अधिकार माग्दा मोदीका सन्तान भनिन्छ किन ?’
मधेसी मोर्चाका नेताहरुले राज्यले आफूहरुलाई थकाउन खोजेको आरोप लगाएका थिए । उनीहरुले मधेसमा भइरहेको आन्दोलन विरुद्ध पहाडे समुदाय उतारेर साम्प्रदायिक रुप दिन खोजिएको आरोपसमेत लगाए ।
ओली र प्रचण्ड गम्भीर
केपी ओली र प्रचण्ड भने समस्या तन्काउने वा बिगार्ने भन्दा पनि सल्टाउने ढंगले बैठकमा प्रस्तुत भएको अनुभूति मधेसी नेताहरुले गरेका छन् । ‘उहाँहरुको कुरा सुन्दा मंसिर १६ गते राति मुलुकले एउटा निकास पाउँछ’ अन्सारीले भने ।
बैठकमा राप्रपा नेपालले भने तीन दल र मधेसी मोर्चाबीच हुने सहमति आफूलाई मान्य हुने धारणा राखेको प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिए । ‘हिजो उहाँहरुले गरेको हो, आज उहाँहरुले नै गर्नुहोस’ उनले भने ।
त्रिपक्षीय वार्तामा मधेसी जनअधिकार फोरम लोकतात्रिकका अध्यक्षसमेत रहेका विजय गच्छदार भने केही बोलेनन् । करीव पौने घण्टा बैठकमा बसेर उनी बाहिरिए ।
वार्ताको वातावरण बिगार्नेखालको अभिव्यक्ति कसैले पनि दिएनन् । बरु माधव नेपालले संघीय प्रदेशहरुको सीमांकनलाई थाति राखेर भने पनि अहिलेको संकट टारौं भन्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि छलफल भएन ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/