Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

तातोपानी नाका छिट्टै खाेल्ने चीनकाे याेजना

कार्तिक १८, २०७२- चीनले खासातर्फका भवन तथा सडक मर्मत गरेर तातोपानी नाकासमेत सक्दो छिटो सुचारु गर्ने भएको छ । उसले रसुवागढी–केरुङ नाकालाई स्तरोन्नति गर्दै खासा–तातोपानी नाका बराबरकै अधिकार प्रत्यायोजन गरेको छ । 
रसुवागढी–केरुङलाई अन्तर्राष्ट्रियस्तरको नाकाका रूपमा व्यवस्थापन गरेलगत्तै रसुवाको टिमुरेमा अत्याधुनिक सुक्खा बन्दरगाहसकमेत बनाइदिने भएको छ । दुई देशका भन्सारका उच्च अधिकारीबीच मंगलबार काठमाडौंमा सुरु भएको बैठकमा यस्तो सहमति भएको हो । 
सुक्खा बन्दरगाह बनेपछि तातोपानी र रसुवागढीको स्तर उस्तै रहने नेपाली अधिकारीहरूको भनाइ छ । त्यसलाई नियमित र सबल बनाउन नेपालतर्फको सडक चौडा र व्यवस्थित गर्नुपर्ने हुन्छ ।

नेपाल–चीनका अन्य ७ नाका व्यवस्थित र स्तरोन्नति गर्न पनि चीनले सघाउने सहमति गरेको छ । सहमतिपत्रमा बिहीबार हस्ताक्षर हुने बैठकमा सहभागी अधिकारीहरूले बताए । दुई प्रमुख नाका रसुवागढी र तातोपानी अवरुद्ध भएपछि खुलाउने र थप व्यवस्थित गर्नुका साथै अन्य नाकालाई स्तरोन्नति गर्न दुवै सरकार सहमत भएका हुन् । दुईपक्षीय नाकामा रहेका भन्सार व्यवस्थापनसम्बन्धी उच्चस्तरीय बैठकमा यस्तो सहमति भएको हो ।

काठमाडौंमा मंगलबार सुरु उक्त बैठक नियमित २८औं उच्चस्तरीय बैठक हो । हरेक वर्ष दुवै मुलुकमा आलोपालो यो बैठक गरिन्छ । तातोपानी भन्सार तत्काल सुचारु गर्ने र त्यसलगत्तै ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, गोरखाको लार्के, मुस्ताङ, मुगु र हुम्लाको यारी नाकालाई थप प्रभावकारी बनाएर दुईपक्षीय जनस्तरको सम्बन्ध विस्तार गर्ने सहमति भएको हो । यसका लागि पूर्वाधार निर्माणमा सघाउन चीन तयार रहेको बैठकमा सहभागी भन्सार विभागका प्रवक्ता सूर्य सेढाईंले कान्तिपुरलाई बताए । 

भारतले नाकाबन्दी गरेपछि रसुवागढी–केरुङ नाकालाई प्राथमिकतासाथ खुला गरेर इन्धन ल्याउन थालिसकेको अवस्थामा तातोपानी नाका पनि तत्कालै सञ्चालनमा ल्याउने गरी प्रक्रिया अघि बढेको र त्यहाँबाट पनि इन्धन तथा ग्यास ल्याउने तयारीमा सरकार छ । नेपालतर्फको सडक र भन्सारमा समस्या नरहेको जानकारी तिब्बती अधिकारीलाई गराएको र उनीहरूले पनि जतिसक्दो छिटो उक्त नाका सञ्चालनमा ल्याउने बताएको प्रवक्ता सेढाईंले जनाए ।

स्रोतका अनुसार खासाको छ्यासोमबाट सीधा तातोपानी सामग्री ल्याउने तयारी भएको छ । खासाको भौगोलिक अवस्था सहज नभएको, त्यहाँ कुनै पनि बस्ती नरहने संकेत गर्दै चीनका सेना तथा अन्य निकाय रहने र कारोबार छ्यासोमबाट हुने जानकारी गराएको एक अधिकारीले बताए । यो नियमित बैठक भए पनि भूकम्पपछिको अवस्था र भारतले दक्षिणी नाका बन्द गरेकाले अन्य समयभन्दा बढी महत्त्वपूर्ण रहेको अधिकारीहरूले बताए ।

बैठकमा दुवैतर्फका भन्सार प्रशासनलाई सुदृढ गरी प्रभावकारी बनाउने र नेपालले निर्यात गर्दै आएका वस्तुलाई सहज रूपमा जाँच पास गराउनेसमेत सहमति भएको छ । 

बैठकमा नेपाल र चीनका कार्यालय समय झन्डै दुई घण्टाको फरक परेकाले त्यसलाई समायोजन गर्ने विषयमा पनि छलफल भएको भन्सार विभागका निर्देशकसमेत रहेका सेढाईंले बताए । चीनले आठ हजार वस्तुलाई भन्सार सुविधा दिएको भए पनि त्यो कार्यान्वयन नभएकाले त्यसको विषयमा उनीहरूको भन्सार कम्प्युटरमै त्यो वस्तु राखेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको अधिकारीले बताए ।
बैठकमा नेपालका तर्फबाट भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मीको नेतृत्वमा ६ सदस्य र चीनका तर्फबाट ल्हासा भन्सारका उपप्रमुख लङ चेङ वई नेतृत्व ६ सदस्य छन् । टोली सोमबार काठमाडौं आएको हो । बैठक बिहीबार दुईपक्षीय सहमति 
गर्दै सकिनेछ ।
In today's: ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/