Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

रातोपाटीको गेस्ट रुममा डा. योगी विकासानन्द : नाकाबन्दी किन भयो र अब हामी कसरी अघि बढ्नुपर्छ ?

देशमा उत्पन्न भइरहेको नाकाबन्दीबाट सम्पूर्ण नेपाली प्रताडित छन्, यसमा दुईमत रहेन । तर, यसो हुनुको कारणमा भने मतैक्यता छैन । प्रायःले भारतमाथि आफ्नो रोष प्रकट गर्छन् भने केहीले मधेसी दललाई लाञ्छना लगाउँछन् । तर, मेरो बुझाइमा यसको मूल कारणमा अहिलेसम्मका नेपाली नेताको अदूरदर्शिता नै देखिन्छ । किनभने, आफ्नो डुंगामा प्वाँल नपरीकन बाहिरको पानी डुंगाभित्र छिर्नै सक्दैन । यहाँनेर, डुंगा नेपाल हो भने भारत पानी हो । डुंगामा प्वाँल पार्ने काम सत्ताधारीले नै गर्दै आएका हुन् । र, यो प्रवृत्तिलाई नबदल्ने हो भने आगामी दिनमा नेपालको समस्या अझै विकराल दृष्टिगोचर हुन्छ । अब नेपालले परराष्ट्र नीतिमा छलाङ नलगाएसम्म नयाँ नेपालको त कुरै छाडौं पुरानो नेपाल पनि नजोगिने देखियो ।

अहिले हामी भारतलाई गाली गर्दै चीनतिर लहसिन खोज्दै छौँ । जुन कालान्तरमा नेपालले गर्ने अर्को महाभूल साबित हुने देखिन्छ । किनभने, चीन पनि कुनै देवदूत होइन, जो निस्वार्थ नेपाललाई सहयोग गरोस् । यो मनोविज्ञानको सामान्य नियम हो कि हरेक मान्छे सिद्धान्तवादी कम फाइदावादी बढी हुन्छ । अतः चीनले आफूलाई फाइदा भएसम्म र हुने. हदसम्म मात्रै नेपाललाई सहयोग गर्ने हो । जुन दिन हामीबाट उसको स्वार्थमा धक्का लाग्ने कुनै काम हुन पुग्छ, उसले पनि आफ्नो असली रुप नदेखाउला भन्न सकिँदैन । उदाहरणका लागि लिपुलेकको सम्झौतामा ऊबाट नेपाललाई चोट दिने काम भई नै सकेको छ । र, हाल आएर नेपाल–चीन सीमामा नेपालको अनुमतिबिना आफ्नो भवन ठड्याइसकेको समाचार ताजै छ । अतः नेपालले चीन र भारत दुवैलाई समदूरीमा राख्नुमा नै दुवैबाट फाइदा लिने तरिका देखिन्छ । तर, यसो गर्दा नेपालले आर्थिक विकासमा छलाङ भने लगाउन सक्ने देखिँदैन । यसो भए, तेस्रो विकल्प के हुन सक्छ त ? प्रसंगवश, म अस्ति कार्यक्रमका सिलसिलामा कतारमा थिएँ, मनोक्रान्ति अभियानअन्तर्गत प्रवचन एवं योग कार्यक्रय थियो । म अमेरिकादेखि रसिया घुमिसकेको मान्छे, तर कतार देखेपछि भने साँच्चै तीनछक परेँ । किनभने, त्यहाँका मूलवासीको संख्या जम्मा चार लाख अरे, विदेशीको संख्या १७ लाख अरे । दोस्रो, कतार संसारकै काम नलाग्ने भूमिमध्ये एक हो, जहाँ घाँसपात पनि सित्तिमिती उम्रँदैन, वर्षा पनि वर्षमा एक–दुईपटकभन्दा बेसी हुँदैन । र, गर्मी पनि ४५, ५० डिग्री । उनीहरुसँग भएको कुरा भनेको तेल र ग्यास मात्र हो । अन्यमा न प्राकृतिक स्रोत–साधन छ, न त बौद्धिक सम्पत्ति नै देखिन्छ । तर, त्यति हुँदाहुँदै पनि आज कतार संसारको सबभन्दा बढी प्रतिव्यक्ति आय भएको देशका रुपमा विकसित भएको छ, क्यान यु इमाजिन इट ? किनभने, उनीहरुले राजनीतिबाहेक आफ्नो सम्पूर्ण देश र देशका स्रोत–साधन दुनियाँभरका मान्छेले उपयोग गर्न मिल्ने गरी कानुन बनाएका छन् । संसारको कोही पनि मान्छे गएर त्यहाँ कारोबार चलाउने छुट छ । घरजग्गा समेत किन्ने छुट छ । र, यसको फाइदा भने कतारवासीले पनि प्रत्यक्ष रुपमा पाउनैपर्र्ने हुन्छ । परिणाम दुनियाँभरका मान्छे आएर कतारबाट फाइदा लिए र कतारलाई फाइदा दिए । भन्न परोइन, यस नीतिकै कारण आज ऊ सबभन्दा विकसित देशमा दरिन पुगेको छ । ५० वर्षभित्र उसले संसारकै सबभन्दा विकसित मुलुक बन्ने सौभाग्य प्राप्त गरेको छ ।
हाम्रोमा भइरहेको के हो भने, यहाँ विकासको राजनीति होइन, विचारको राजनीति मात्रै भइरहेको छ । परिणाम स्वरुप आज हामीले नाकाबन्दीजस्तो समस्या झेलिरहेका छौँ । अतः नेपाल सरकारले तत्काल संविधान संशोधन हुने गरी मधेसी एवं जनजातिहरु संवाद थालेपछि भारतको अघोषित नाकाबन्दी स्वतः हटेर जाने देखिन्छ ।
निश्चिय पनि कतारमा जस्तो हामीसँग तेल र ग्यासको स्रोत भेटिएको छैन । तर, हामी जलस्रोतमा संसारकै दोस्रो धनी हौँ । विज्ञहरुका अनुसार, बिजुली उत्पादनमा हाम्रो क्षमता ८३ हजार मेगासम्मको छ, तर हाल हामीले एक हजार मेगावाट पनि उत्पादन गर्न सकेका छैनौँ । यदि कतारमा जस्तै कानुन बनाएर संसारभरका मान्छेलाई हाम्रो पानीको प्रयोग गर्ने छुट दिने हो भने हामी पनि धनी हुन बेर लाग्दैन । अर्को कुरा, नेपाल संसारकै पर्यटकीय दश गन्तव्यमध्ये एक हो । हाम्रोमा २४ सय किलोमिटर लामा हिमशृंखला छन्, जो पर्यटन उद्योगका लागि पर्याप्त देखिन्छ । र, यही हिमालय क्षेत्रका कारण दुनियाँभरका धार्मिक एवं आध्यात्मिक खोजीका लागि हाम्रो देश पवित्र साधना थलो पनि बन्न सक्छ । र, कतारको जस्तो कानुन बनाएर संसारभरका मान्छेले यहाँ घरजग्गा किनेर बस्न पाउने व्यवस्था गर्ने हो भने दुनियाँभरका धनी मान्छे एवं तीर्थयात्रीका लागि बाँकी जीवन शान्तसँग कटाउने अन्तर्राष्ट्रिय आश्रयस्थल पनि बन्न सक्ने देखिन्छ । त्यस्तै, यहाँका दुर्लभ जडिबुटी एवं खानीलाई पनि बहुराष्ट्रिय कम्पनीका लागि खुला गर्ने हो भने अपार सम्पत्ति बर्सिने अर्को माध्यम हुन जान्छ । त्यस्तै, सोलार इनर्जीका लागि पनि यो देश संसारकै गतिलो ठाउँ हो, यसको दोहनका लागि पनि विदेशी कम्पनीहरुलाई कानुन बनाएर आह्वान गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा कतार र दुबई जस्ता देश हाम्रा लागि विकासको सबभन्दा उपयुक्त मोडल देखिन्छ । हाम्रा नेता र सम्बन्धित निकायले यी दुवै देशको गहन अध्ययन गरी हाम्रो राष्ट्रिय मोडलमा छलाङ ल्याउनैपर्ने देखिन्छ । स्मरण रहोस्, २१औँ शताब्दी अन्धराष्ट्रवादको होइन, खुकुलो राष्ट्रवादको युग हो, सबैलाई चेतना भया ।
अब नेतृत्वको कुरा गरौँ । सशक्त नेतृत्वबिना संसारका कुनै पनि देश अगाडि बढेको देखिँदैन । विश्वस्तरका नेताहरुमा टड्कारै दुई गुण देखिन्छन् । एक, देश विकास गर्ने प्रस्ट भिजन । दुई, त्यो भिजनलाई कार्यान्वयन गर्न जस्तोसुकै कदम उठाउने साहस ।
१७औँ शताब्दीका रसियन शासक थिए, पिटर दी ग्रेट । उनको उदय हुनुपूर्व रसिया संसारकै पिछडिएको देशमध्ये एक थियो । तर, उनले कसै गरी पनि आफ्नो देशलाई युरोपको अरु देशजस्तै उन्नतशील बनाउने एकसूत्रीय भिजन बनाउन भ्याए । र, उनी स्वयं युरोपका अन्य विकसित देशमा बसेर त्यहाँका उद्योग एवं कलकारखानालाई नजिकबाट नियाले । कतिपय उद्योगमा उनी आफैँ संलग्न भएर काम सिक्ने दुस्साहस समेत गरे । यसैको परिणाम स्वरुप उनको पालादेखि रसियाले कहिल्यै पछाडि फर्केर हेर्न परेन । आज रसिया संसारकै शक्तिशाली एवं विकसित देश हो भने यसको श्रेय त्यहाँका शासक पिटर महानको विकासको भिजनलाई जान्छ । त्यस्तै, माओत्से तुङले छाडेर गएको चीनलाई संसारकै सबभन्दा औद्योगिक नमुना देश बनाउन सफल भए, डेङ स्याउ पिङ । चीनलाई समाजवादी अर्थतन्त्रबाट पुँजीवादी अर्थतन्त्रमा ल्याएर मात्रै देशको विकास हुने भिजन माओको होइन, डेङ स्याउ पिङकै थियो ।
अब साहसको कुरा गरौं, सिंगापुरलाई ५० वर्षमा संसारकै सुन्दर देश बनाउने श्रेय पाएका छन्, त्यहाँका सशक्त नेता ली क्वान युले । र, उनलाई उदारवादी निरंकुश शासक पनि भन्ने गरिन्छ । देश विकासका लागि निरंकुश समेत हुने दुस्साहस गर्न सक्ने नेता मात्रै सशक्त नेताका रुपमा विश्व राजनीतिक रंगमञ्चमा उभिएको देखिन्छ । त्यस्तै, कुनै बेला इंग्यान्डमा बेन्जामिन डिजराइली प्रधानमन्त्री हुँदा त्यहाँ लोकतन्त्रको नाममा हाल नेपालमा जस्तै अत्यन्तै हडताल–बन्द गतिरोध हुने गथ्र्यो । र, यसका लागि लोकतान्त्रिक अधिकारको रुपमा कानुनी मान्यतासमेत हुन्छ । तर, यही अधिकारको दुरुपयोग हुनाले देशको आर्थिक विकास अवरुद्ध भइरहेको अवस्थामा डिजराइली प्रधानमन्त्री भएका थिए । उनले सत्तामा आउनासाथ केही वर्षका लागि बन्द–हडताल गर्ने कानुनमाथि प्रतिबन्ध लगाइदिए । त्यसपछि बेलायतको अवरुद्ध आर्थिक विकासले फड्को मार्ने अवसर पायो । यसरी उनले पनि लोकतान्त्रिक भनिएको कानुनलाई केही हदसम्म मिच्ने दुस्साहस गरेकै कारण देश अघि बढेको हो ।
यहाँनेर नेपालको सन्दर्भ जोडौँ । नेपालका नेतामा सात सालदेखि अहिलेसम्म जडौरी राजनीतिक सिद्धान्तबाहेक आफ्नो मौलिक भिजन भएको देखिँदैन । न त विश्व नेतामा जस्तै उच्चतम बिन्दुमा साहस गर्न सकेको देखिन्छ । हाम्रोमा साम्यवादी र समाजवादीरुपी जडौरी विचार नै हाबी भएकाले अहिलेसम्म विकासको राजनीति ओझेलमा परेको प्रस्टै बुझिन्छ । अतः यस्ता जडौरी विचारको राजनीति बिसाएर विकासको एक सूत्रीय राजनीतिमा सबै राजनीतिक पार्टीहरुले ऐक्यबद्धता जनाउने साहस गर्नुपर्ने देखिन्छ । अन्यथा, देश आधा डुबिसकेकै छ र अर्को आधा यिनै पुराना विचारका कारण डुब्दै जानेछ ।
अर्को शब्दमा हाम्रोमा भइरहेको के हो भने, यहाँ विकासको राजनीति होइन, विचारको राजनीति मात्रै भइरहेको छ । परिणाम स्वरुप आज हामीले नाकाबन्दीजस्तो समस्या झेलिरहेका छौँ । अतः नेपाल सरकारले तत्काल संविधान संशोधन हुने गरी मधेसी एवं जनजातिहरु संवाद थालेपछि भारतको अघोषित नाकाबन्दी स्वतः हटेर जाने देखिन्छ । त्यसपछि देश विकासको एक सूत्रीय भिजन एवं यसका लागि जस्तोसुकै जोखिम उठाउने साहस गर्ने बेला आएको छ भन्दा अतिसयोक्ति नहोला ।
प्रस्तुति : ध्रुवसत्य परियार
Ą
https://www.flickr.com/photos/spklg/15211044551/