Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

फिक्सिङको पैसामा यसरी मस्ती गर्थे खेलाडी

काठमाडौं– म्याच फिक्सिङमा संलग्न भएको प्रमाण फेला पारेपछि फुटबल प्रशिक्षक अन्जन केसी नेपाल प्रहरीको खोजी सूचिमा पहिलो नम्बरमा थिए । काठमाडौंमा प्रहरीले उनलाई खोजिरहँदा अन्जन भने सिक्किमको ‘महाजोंग’ क्यासिनोमा जुवा खेल्दै थिए । सिक्किमबाट फर्केको रात उनी साथीभाईसँग घरमै जमेका थिए । असोज २७ गते उनलाई समात्न उनको निवासमा पुग्दा प्रहरी तीन छक्क परे । कारण थियो, घरको गेट देखि वेडरुमसम्म ‘डबल ब्ल्याक लेबल’ का बोतलै–बोतल थिए । उनलाई पक्राउ गर्न पुगेका एक प्रहरी अधिकृत भन्छन्, ‘गेटदेखि बेडरुमसम्म महंगो ह्विस्कीका खाली बोतल यत्रतत्र थिए, हामी त दंग पर्यौँ ।’

आफ्नो समयमा राम्रै खेलाडीको पहिचान बनाएका अन्जन पछिल्लो समय म्याच फिक्सिङको कालो धन लगानी गर्ने नयाँ गन्तव्यको खोजी गर्दै क्यासिनोमा पुगेका थिए । यसो त उनलाई पहिले नै क्यासिनो खेल्ने लत लागेको थियो । क्यासिनोमा लगानी गर्नेगरी अगाडि बढेपछि उनलाई गुण्डा नाईके दिनेश अधिकारी ‘चरी’ ले भित्री सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । क्यासिनोमा लगानी गर्न थालेपछि अञ्जनको परिचय फेरिसकेको थियो । उनी राम्रो जुवा खेल्ने ‘जुवाडे’ भैसकेका थिए तर नेपाली खेल प्रेमीहरुले उनलाई पूर्व खेलाडीको नाताले सम्मान गरिरहेका थिए ।
पूर्व खेलाडी विकास सिंह क्षेत्री पछिल्लो समय अन्जनसँगै क्यासिनो धाउन थालेका थिए । प्रहरी फन्दामा पर्नुअघि सिक्कीमको ‘महाजोंग’ क्यासिनोमा अन्जनसँगै विकास पनि गएका थिए । केसी र क्षेत्रीले फिक्सिङको सेटिङ मिलाएबापत पाउने अधिकतम रकम क्यसिनोमा लगानी गरेको प्रहरी स्रोतको भनाई छ ।
गौरवसँग मिलेर रेष्टुरेष्टमा लगानी
म्याच फिक्सिङको आरोपमा पक्राउ परेका प्रशिक्षक तथा खेलाडीहरुले एन्फा अध्यक्ष गणेश थापाकै छोरासँग ललितपुरको एक रेष्टुरेष्टमा संयुक्त लगानी गरेको पाइएको छ । ललितपुरको झम्सिखेलमा रहेको ‘जि–४ ग्यारेज’ नामको रेष्टुराँमा गणेशका छोरा गौरव थापासँग मिलेर खेलाडीहरु सन्दीप राई, रितेश थापा र प्रशिक्षक केसीले लगानी गरेको उनीहरु स्वयंले स्वीकार गरेको प्रहरीले जनाएको छ । पार्टनरसीपमा लगानी गरेको स्वीकार गरेपनि ‘जि–४ ग्यारेज’ उनीहरुको नाममा दर्ता छैन । हाल सो रेष्टुरेण्टको नाम परिवर्तन भैसकेको पाइएको छ । फिक्सिङ आरोपमा पक्राउ परेका खेलाडीहरुको गौरवसँग राम्रो उठबस भएको देखियो छ । ‘पार्टनरसीपमा रेष्टुराँ खोल्नु सामान्य रिलेसन हैन,’ एन्फाका एक पदाधिकारीले भने ।
प्रहरीको भिडियो बयानमा खेलाडीहरुले प्रतियोगिता हार्ने शर्तमा पैसा लिएको स्वीकार गरेको र बैंकिङ कारोवारबाट समेत सो कुरा खुलेको भएपनि उनीहरुले ठुलो परिमाणमा देखिने गरी लगानी गरेको खुल्न सकेको छैन । त्यस्तोमा खेलाडीहरुले लाखौं रकम के गरे ? फिक्सिङबारे अनुसन्धान गरिरहेको एक प्रहरी अधिकृतले भने, ‘परिश्रम बिना आएको पैसा हुनाले उनीहरुले मोजमस्तीमै उडाएको देखिन्छ ।’
सागर थापा केटी घुमाउँथे
घरमा श्रीमती र छोराछोरी भएपनि फुटबल कप्तान सागर थापाले युवती घुमाएर मस्ति गर्ने गरेका थिए । फिक्सिङ खेलेबापत पाउने अधिकांश पैसा थापाले दरबारमार्गका रेष्टुरेष्टमा खाएर तथा युवतीहरुसँग घुम्दै मस्ती गरेर उडाएका थिए । प्रहरी भन्छ, ‘श्रीमतीबाहेक बाहिर उनको गर्लफ्रेन्ड रहेको पाइयो । उनीहरुका लागि नै धेरै पैसा खर्च गरेको देखिन्छ ।’
खेलकुद परिषद् र एन्फाले दिएको पैसाले डाइट खान पनि पुग्दैन भन्दै आएका सागर महँगो कार चढ्थे । बालुवाटारको महँगो फ्ल्याटमा बस्दै आएका सागर प्रायः दरबारमार्गका महँगा रेष्टुराँहरुमा जान्थे । सिंगापुरियन म्याच फिक्सर ‘विल्सन’ लाई थापाले एकपटक दरबारमार्गमा भेटेका थिए । ‘विल्सन’लाई यसअघि विभीन्न देशका प्रहरीले समातेर नक्कली पासपोर्ट काण्डमा मुद्दा चलाएको नेपाल प्रहरीले दावी गरेको छ ।
फिक्सिङ खेलेबापत लाखौं रकम लिएका खेलाडीहरुले सो रकम मस्ति गरेरै उडाएका थिए । ‘उनीहरु ब्राण्डेड कपडा लगाउँथे, महँगा रेष्टुराँमा गएर रक्सी–मासु खान्थे,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
फिक्सिङमा फसेका खेलाडीहरुले लगाउने एकजोर जुत्ताको १५–२० हजारसम्म पर्ने गरेको पाइएको छ । त्यस्तै उनीहरुले प्रायः एडिडास, रिबोक र नाइकजस्ता ब्राण्डेड कम्पिनीहरुका कपडा लगाउँदै आएका थिए ।  राष्ट्रको झण्डा बोकेर खेल्न गएकाहरुले राष्ट्रलाई घात गरेको उल्लेख गर्दै महानगरीए प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, ‘उनिहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’

सबैभन्दा धेरै पैसा बुझ्ने अञ्जन
वेस्टर्न युनियन मनि ट्रान्सफर लगायतका बित्तीय संस्थाहरुका माध्यमबाट फिक्सरहरुले पठाएको मध्यै सबैभन्दा धेरै रकम अन्जन केसीले बुझेको प्रहरी अुनसन्धानबाट खुलेको छ । अन्य चार खेलाडी बाहेक अन्जनले थप दुई जना विदेशीसँग पैसा लिएका थिए ।
देखिने स्रोतबाट मात्रै अन्जनको नाममा १५ लाखको कारोबार देखिएको छ । ‘नदेखिने गरी समेत उनको नाममा विदेशी मुलुकबाट धेरै पैसा आएको हुनसक्छ,’ अनुन्धानमा संलग्न एक प्रहरीले भने ।
विदेशी फिक्सरहरुले पठाएको पैसा बुझ्नेमा अन्जनकी आमा शोभा केसी पनि मुछिएकी छिन् । शोभा केसीले एकपटक वेस्टर्न युनियन मनिट्रान्सफरमा गएर पैसा बुझेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । शोभाले ‘छोराले भनेपछि आफु पैसा निकाल्न गएको’ बयान प्रहरीसमक्ष दिएकी थिइन् ।
प्रायःजसो प्रतियोगिताहरुमा पाँच हजार डलरको दरले पैसा लिएको देखिएपनि सवै रकम वित्तिय संस्था मार्फत मात्रै नभएर  हुण्डिबाट समेत आएको हुनसक्ने अपराध महाशाखाका प्रमुख एसएसपी  खनालले बताए । उनले भने, ‘देशको प्रतिष्ठासँग जोडिएको खेलकुदमा स्वस्थ प्रतिस्पर्धाको भावनालाइ कायम राख्न हामी सवै लाग्नुपर्छ ।’
विभिन्न १६ खेललाई प्रहरीले शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ । अहिलेसम्म सवैभन्दा धेरै पैसा बुझेका अन्जनले बैंक लोनमा कार किनेको देखिएको छ । अर्का खेलाडी सन्दीप राई पनि कार चढ्छन् । फिक्सीङ खेल्ने र त्यसबापत पाउने पैसाले मस्ति गर्नेहरु नेपाली फुटवलको किरा भएको उल्लेख गर्दै एसएसपी खनालले भने, ‘यो जघन्य अपराध हो । यस्ता अपराध नियन्त्रण गर्दै पछिल्लो पिढीलाई पनी सचेत गराउन हामी सँधै सक्रिय रहन्छौं ।’
टिटोनी र विल्सन म्याच फिक्सर
नेपाली खेलाडीहरुलाई पैसा पठाउने सिंगापुरियन नागरिक विल्सनराज र टिटोनीलाई मल्दवा प्रहरीले यसअघि नै म्याच फिक्सर प्रमाणीत गरिसकेको थियो । ती दुई नागरिकलाई यसअघिनै ‘म्याच फिक्सर’ भएको पुष्टि गर्दै मल्दवा प्रहरीले युरोपियन फुटबल संघलाई रिपोर्ट दिएको थियो । मल्दवा प्रहरीले सो रिपोर्ट नेपाल प्रहरीलाई पठाएको छ । टिटोनी र विल्सनले त्यतिबेला मल्दवा प्रहरी अधिकारीहरुलाई घुस खुवाउन खोजेको बताइएको छ ।
As published on: Ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/