आज दिउँसोसम्ममा केरुङ आइपुग्ने
कार्तिक १४, २०७२- चीनले दिएको अनुदानको पेट्रोलियम पदार्थ लिन गएका नेपाली ट्यांकर केहीबेरमा चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्ने भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारीय शिवराम गेलालका अनुसार चिनियाँ ट्यांकर सहित आएका नेपाली टोली र चिनियाँ टोलीले बोलाएपछि नेपाली ट्यांकर चीन प्रवेश गर्नेछन् । उनका अनुसार अहिले चिनियाँ ट्यांकर केरुङ तर्फ आइरहेको छ । तर बुधबार रातिदेखि परेको हिमपातले सडक अवरुद्ध भएपछि सडक पन्छाउँदै आउनु पर्ने भएकोले चिनियाँ ट्यांकर केरुङ आइपुग्न केही समय लाग्ने छ । ल्हासाका लागि नेपालका महावाणिज्यदूत हरिप्रसाद बस्यालका अनुसार तिब्बतको पास भन्ने ठाउँमा हिउ पन्छाउने काम भइहरेको छ । त्यहाँबाट केरुङ आइपुग्न अझै २ घण्टाजति लाग्ने बस्यालले कान्तिपुरलाई जानकारी गराए । उनले टेलिफोनमा भने, 'ट्यांकर सहित हामी पनि आइरहेका छौं । हिउँ परेर सडक अवरुद्ध भएकोले केहीसमय ढिला हुन सक्छ । अबको दुई/तीन घण्टामा हामी केरुङ बजार आइपुग्छौं ।' १२ हजार लिटर अट्ने १२ वटा नेपाली ट्यांकरहरु भने अहिले टिमुरे गाविसको रसुवागढी नाकामा केरुङ जानको लागि तयारी अवस्थामा राखिएको छ । प्रजिअ गेलालले भने, 'उता (चीन)बाट बोलाउने बित्तिकै हाम्रा ट्यांकरहरु गइहाल्छन् ।' रसुवागढी नाकाबाट केरुङ बजार २२ किलोमिटर दुरीमा छ । गेलालका अनुसार आज नै चिनियाँ ट्यांकरबाट नेपाली ट्यांकरमा पेट्रोलियम पदार्थ भरिने छ ।
News from: Kantipur