भाद्र २४, २०७२- वायन रोनीको कीर्तिमानी गोलसँग इंग्ल्यान्डले युरोपियन च्याम्पियनसिपको छनोटमा मंगलबार विजयी यात्रा कायमै राख्यो भने अस्ट्रियाले १८ वर्षयता पहिलोपल्ट प्रतिष्ठित प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्दै अर्को वर्ष फ्रान्सको यात्रा पक्का गर्यो।
बेम्बलीमा अत्यतिर पाएको पेनाल्टीमार्फत रोनीले ५० औं अन्तर्राष्ट्रिय गोल गरेर बबी चाल्र्टनको ४५ वर्ष पुरानो कीर्तिमानलाई उछिनेपछि इंग्ल्यान्डले स्वीट्जरल्यान्डलाई २–० ले हरायो। ‘३० वर्षभन्दा कम उमेरमै देशको सर्वाधिक गोलकर्ता हुनु सामान्य होइन, यस्तो सपना देखेको थिइनँ,’ २९ वर्षीय रोनीले भने, ‘म केही भावनात्मक भएँ र यो साँच्चिकै गर्विलो हो। यो गरेकामा म खुसी छु र यसबाट अगाडि बढदै भविष्यमा टिम र हामीले सफलता पाउने आस छ।’
इंग्ल्यान्ड यसअघि नै समूह ‘इ’ बाट छनोट भइसकेको थियो। हारे पनि स्वीस टिम दोस्रो स्थानमा छ। रोनीको कीर्तिमानसँगै इंग्ल्यान्डले स्वीट्जरल्यान्डलाई हराएर छनोटमा लगातार आठ खेल जित्यो। बेम्बलीमा चाल्र्टनको कीर्तिमान रोनीले तोड्नेप्रति ध्यान केन्द्रित थियो र उनले पेनाल्टीको अवसरलाई अन्त्यतिर खेर फालेनन्।
स्लोभेनिया र इस्टोनियाले बराबरी खेलेको भए स्वीट्जरल्यान्ड पनि छनोट हुने थियो तर स्लोभेनियाले घरेलु मैदानमा १–० को जित निकाल्यो। दोस्रो स्थानमा रहँदै सीधै युरोमा छनोट हुने यी तीनैको सम्भावना खुला छ। दुई चरणका खेल बाँकी छँदा स्वीट्जरल्यान्डको १५, स्लेभेनियाको १२ र इस्टोनियाको १० अंक छ। दुवै टिम दस खेलाडीमा सीमित भएको प्रतिस्पर्धामा इन्ज्युरी टाइमको गोलसँगै लिथुवानियाले सान मारिनोलाई २–१ ले हरायो।
अस्ट्रियाले स्वीडेनलाई ४–१ ले पन्छाएर सन् १९९८ को विश्वकपयता पहिलोपल्ट प्रतिष्ठित प्रतियोगिता खेल्ने निश्चित गर्यो। उसले युरो २००८ खेलेको थियो तर त्यसमा सहआयोजकको हैसियतले स्थान पाएको थियो। अस्ट्रियाले प्रभाव जमाएको खेलमा मार्टिन हामिकले दुई गोल गरे। डेविड अलाबाले नवौं मिनेटमै पेनाल्टीमा गोल गरेका थिए। मार्क जान्कोले पनि गोल गरे। स्वीडेनका लागि जाल्टन इब्राहिमोभिचले अन्तिम क्षणमा सान्त्वना गोल गरेका थिए।
अपराजित अस्ट्रिया सात जित र एक बराबरीसँगै समूह ‘जी’ बाट छनोट भएको हो। रुस दस खेलाडीमा समेटिएको लिच्टेस्टेनलाई ७–० ले हराएर दोस्रो स्थानमा उक्लियो। त्यसमा अर्तयोन डिजिउमाले चार गोल गरे। अस्ट्रियाभन्दा ८ अंक अन्तरमा रहेको रुस स्वीडेनभन्दा २ अंक अगाडि छ। माल्दोभालाई २–० ले हराएको मोन्टेनेग्रोको पनि छनोट हुने सम्भावना छ।
स्कोप्जेमा डिफेन्डिङ च्याम्पियन स्पेनले संघर्ष गर्दै मेसेडोनियालाई १–० ले हरायो। गोलकिपर टोम पाकोव्स्कीले सुरुमै आत्मघाती गोल गरेपछि स्पेनले जित हात पारेको थियो। लगभग छनोट भएको स्पेन समूह ‘सी’ मा स्लोभाकिया र युक्रेनभन्दा अगाडि छ। नौ समूहका शीर्ष दुई टिम सीधै छनोट हुनेछन् भने तेस्रो स्थानमा रहने उत्कृष्ट आठले प्ले–अफ खेल्नेछन्। दोस्रो स्थानको स्लोभाकियाले तेस्रोमा रहेको युक्रेनसँग अवे खेलमा गोलरसिहत नतिजा निकाल्यो। स्पेनभन्दा दुई अंक पछाडि रहेको स्लोभाकिया युक्रेनभन्दा तीन अंक अगाडि छ।