Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

दार्जिलिङको ‘दौरासुरुवाल राजनीति’

भाद्र २०, २०७२- सन् २००८ ताका गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) ले गोर्खाल्यान्ड प्राप्तिको मागलाई दौरासुरुवालसँग जोडयो। दौरा–सुरुवाल भारतीय नेपालीको पहिचान बताइएको  त्यस आन्दोलनले राज्य र केन्द्र सरकारको समेत ध्यान तान्यो।
समय बदलियो, गोजमुमो गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) गठनसँगै सत्तामा पुग्यो। यसअघि दार्जिलिङ गोर्खा पार्वत्य परिषद् (दागोपाप)को सत्ता लामो समय चलाएको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) अहिले विपक्षी भूमिकामा छ। र, दौरा–सुरुवाललाई नकारात्मक रूपमा प्रस्तुत गरेर राजनीतिमा पुन: उदय हुने रणनीति अवलम्बन गरेको छ।
तत्कालीन नेता सुवास घिसिङको मृत्यु भएयता पार्टीको कमान्ड उनकै पुत्र मन घिसिङले सम्हालेका छन्। दौरा–सुरुवाल गोर्खाहरूको नभई नेपालको सरकारी पोसाक भएको अभिव्यक्ति उनले दिएका छन्।
जसले दार्जिलिङको राजनीतिलाई तरंगित बनाएको छ। ‘नेपालको सरकारी पोसाक लगाएर दार्जिलिङका धेरै नेता दिल्ली र कोलकाता दौडिरहेको देख्दा ताज्जुब लाग्छ,’ घिसिङले भनेका छन्।
गोजमुमो, क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) र अखिल भारत गोर्खा लिग (अभागोली) लगायत दलले उनको अभिव्यक्तिप्रति विरोध जनाएका छन्।
घिसिङले सार्वजनिक रूपमा माफी माग्नुपर्ने ती दलको भनाइ छ। ‘दौरा–सुरुवाल र चौबन्दी चोली नेपालको सरकारी पोसाक हो भने भारतीय नेपालीको जातीय पोसाक के हो घिसिङले भन्नुपर्‍यो,’ गोजमुमो सहसचिव विनय तामाङले भने । आफ्नो जातीय चिनारीबारे अनावश्यक टिप्पणी नगर्न ती दलले आग्रह गरेका छन्।
विगतमा गोजमुमोले दौरा–सुरुवाललाई गोर्खाल्यान्ड आन्दोलनको प्रतीक बनाएको थियो। सोही कारण उक्त आन्दोलनले अन्तर्राष्ट्रिय पहिचानसमेत पायो। दौरा–सुरुवाल गोर्खा जातिको एकमात्र चिनारी भएको बताउने क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले घिसिङले जातीय पहिचानमाथि धावा बोलेको आरोप लगाए।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/