Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

रहस्य घैंटे इन्काउन्टरको


भाद्र ११, २०७२- 
असार २५ गते जीवनदान पाए पनि भदौ ३ गते कुमार श्रेष्ठ उर्फ कुमार घैंटेलाई नियतिले मृत्युवरण गर्न बाध्य बनायो । आफ्नै घरमा प्रहरीको घेराबन्दीमा परेपछि घैंटे इन्काउन्टरको सिकार भए । समाजमा ‘डन’ को परिचयमा स्थापित भए पनि घैंटेले आफ्नो मृत्यु प्रहरीको सामान्य अपरेसनबाट हुन्छ भन्ने भेउ नै पाएनन् । बलियो राजनैतिक संरक्षणमा आफू सुरक्षित छु भन्ने भ्रम पनि उनको मृत्युको एउटा कारण थियो । गत असार २५ गते इन्काउन्टरको सिकार बन्न सक्ने खतरा देखेपछि बचाउका निम्ति घैंटेले मानवअधिकार आयोगमा गुहार मागेका थिए । आयोगले पनि प्रहरीलाई पत्राचार गर्दै घैंटेको मानवअधिकार रक्षाका निम्ति पहल गरेको थियो । प्रहरीले घैंटे विरुद्ध त्यस्तो कुनै योजना नभएको बताएपछि घैंटे सुरक्षित जीवन पाउनेमा आश्वस्त थिए । यद्यपि त्यस्तो भएन, घैंटेको जीवन प्रहरीको गोलीको सिकार भयो ।
घैंटे किन मारिए त ? अहिले सबैको चासोको विषय भएको छ । खासगरी घैंटेको मृत्युपछि सलबलाएको राजनैतिक तरंगले पनि उनको इन्काउन्टरलाई थप चर्चा प्रदान गर्‍यो । दिनेश अधिकारी उर्फ ‘चरी’ मारिएको १ वर्ष बित्न नपाउँदै प्रहरीले अर्का डनको इहलीला समाप्त गरिदियो । चरीको इन्काउन्टर हुँदा पनि राजनीति गर्माएको थियो । अझ चरीको प्रेमिकाका रूपमा चर्चित मोडल खुश्बु ओलीले दिएको प्रतिक्रियाले उक्त इन्काउन्टरलाई चर्चाको उत्कर्षमा पुर्‍याएको थियो ।
मुलुकमा संविधानसभालगायत अन्य राजनैतिक घटनाक्रमहरूले प्राथमिकता पाएपछि घैंटे प्रकरण केही हदसम्म सेलाइसकेको छ । यद्यपि नेपाली कांग्रेसका केही नेता घैंटेको गैरन्यायिक र नियोजित हत्या भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोग नै पुगेकाले यो प्रकरण त्यत्तिकै थन्किनेछैन भन्ने संकेत पाइन्छ । घैंटेको इन्काउन्टरको कारण अझैसम्म रहस्यमै छ । सर्वेन्द्र खनाल प्रहरी अपराध महाशाखा (केरकार) का प्रमुख (एसएसपी) भएपछि घैंटे मारिनुलाई पनि रहस्यको अर्को आधार बनाइएको छ । 
अक्सर प्रहरी र गुन्डाबीच लुकामारीको खेल चलिरहेकै हुन्छ । प्रहरीले उनीहरूलाई विभिन्न अपराधमा पक्राउ गर्छ भने कारबाही पनि चलाउँछ । कथित डनहरू जेलजीवनसँग पनि अभ्यस्त भैसकेका हुन्छन् । त्यसमा थप राजनैतिक एवं अन्य सामाजिक संरचना उपयोग गर्दै उनीहरू कानुनी कारबाहीबाट फुत्किन्छन् । शीर्ष स्तरका आधा दर्जनजति डन र प्रहरी यो खेलमा २ दशकदेखि नै सक्रिय छन् । अपराधको बलियो प्रमाण फेला नपर्दा उनीहरू छुट्छन् र आफ्नो विगतको धन्दालाई कुनै न कुनै रूपमा निरन्तरता दिन्छन् । प्रहरीले उनीहरूका प्राय: सबै अपराधको विवरण राखिरहेको हुन्छ, तर कानुनी रूपमा उनीहरूलाई दोषी बनाउने जिम्मा अदालतको हुने भएकाले उक्त विवरण आरोपमै सीमित हुन्छन् ।
आममानिसले इन्काउन्टर भन्ने बित्तिकै डनसँगको मुठभेड भनेर बुझ्छ तर प्रहरीको इन्काउन्टर अपरेसन त्यतिमा मात्र सीमित छैन । तराईका जिल्लामा विभिन्न समयमा इन्काउन्टर भैरहेका हुन्छन् । पछिल्लो एक वर्षमा मात्र तराईमा झन्डै १ दर्जन इन्काउन्टर भए, तर ती इन्काउन्टर सामान्य चर्चामै सीमित रहे । एक मानवअधिकारकर्मीका अनुसार राजधानीका डनले शीर्ष राजनैतिककर्मीको बलियो साथ पाउने भएकाले उनीहरूको चर्चा बढी हुने गरेको हो । उपत्यकाबाहिरको हकमा अपवादबाहेक अरूले त्यस्तो राजनैतिक संरक्षण पाएका हुँदैनन्, त्यसैले गुमनाम मृत्युवरण गर्न बाध्य हुन्छन् । मधेसी ह्युमन राइट्स डिफेन्डर एलायन्सको एक प्रतिवेदनअनुसार तराईमा सक्रिय भएका सशस्त्र समूहलाई सफाया गर्ने क्रममा २ सय ८१ जनाको इन्काउन्टर भएको थियो । तराईमा जबर्जस्ती, अपहरण, हत्या र असुली बढेपछि स्थानीय जनताले नै प्रहरी प्रशासनलाई इन्काउन्टरका निम्ति गुहार लगाएका थिए ।
नेपालमा इन्काउन्टरको ट्ेरन्ड कहिलेदेखि सुरु भयो भन्ने तथ्य त उपलब्ध छैन, तर नेपाली कांग्रेसले सुरु गरेको ससस्त्र युद्धताकादेखि नै इन्काउन्टरको खेल सुरु भैसकेको थियो । पञ्चायतकालमा कांग्रेस र कम्युनिस्टका धेरै कार्यकर्ता इन्काउन्टरको सिकार भए । अहिलेको एमालेले तत्कालीन समयमा गरेको सशस्त्र युद्धका ५ कार्यकर्तालाई इलाम जेल सार्ने बहानामा सुखानीमा इन्काउन्टर गरिएको थियो । नाम चलेका थुप्रै गुन्डालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले इन्काउन्टर गर्नुपरेको इतिहास पनि छ । पछि माओवादी सशस्त्र द्वन्द्वका क्रममा पनि थुप्रै माओवादी कार्यकर्ता सेना र प्रहरीको इन्काउन्टरमा मारिए ।
भनिन्छ, नेपालमा अपराधी मार्ने इन्काउन्टर ट्ेरन्ड पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले सुरु गरेका हुन् । २०३८ सालमा रूपन्देहीको मर्चवार क्षेत्रमा डाँकाहरूको बिगबिगी थियो । त्यतिबेला मर्चवारवासी घरमा भएका नगद, गहना राति जमिनमुनि, परालको कुन्युमा लुकाएर सुत्थे, बिहान घरभित्र राख्थे । स्थानीय डाँका समूहलाई सीमापारि मात्र डकैती गर्ने सर्तमा संरक्षण दिइएको थियो । सीमावारिचाहिँ उनीहरूले डकैती नगर्ने भनिएको थियो, तर उनीहरूले सीमापारिका डाँकालाई यताको सूचना दिएर डकैती गर्न सहयोग गर्ने र कमिसन लिने काम गर्न थाले । डाँका समूहको उक्त सहकार्य तोड्न ११ जना डाँकुलाई इन्काउन्टरमा मारियो । त्यसपछि मर्चवार क्षेत्र डकैतीबाट मुक्त भयो ।
प्रहरीको निसाना
१० वर्षअघि काठमाडौंको बागबजारमा तत्कालीन प्रहरी अपराध महाशाखा (केरकार) का निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सर्वेन्द्र खनाल सवार रातो प्लेटको गाडीमा कुमार घैंटेको समूहले बोतल र इँटा प्रहार गरेको थियो । सो गर्ल नामको रेस्टुराँको छतबाट अचानक आक्रमण भएपछि डिएसपी खनालले हवाई फायर गरे । घैंटेको समूहले अर्को आपराधिक समूह काभ्रेली मानेर बियरका बोतल, ढुंगा र इँटा प्रहार गरे पनि प्रहरी भएको थाहा पाएपछि भाग्न बाध्य भएको थियो ।
उक्त घटनाको एक दशकपछि खनाल महाशाखाको प्रमुख बनेर आएको केही समय बित्न नपाउँदै घैंटे इन्काउन्टरमा मारिए । यसलाई केहीले खनालले बदलाको भावले काम गरेकोसम्म भनेका छन् । यद्यपि एसएसपी खनाल यसलाई ठाडै अस्वीकार गर्छन् । ‘तत्कालीन समयमा पनि मैले गुन्डागर्दी नियन्त्रणका निम्ति अनेकौं काम गरेको हो,’ खनालले भने– ‘पछि एसपी भएर आएँ, आफ्नो नियमित कार्यसूचीअनुरूप यी टोले गुन्डाहरूलाई नियन्त्रणमा राखें, बदला नै लिनु थियो भने त्यतिबेलै लिन्थें होला नि, कर्तव्यनिष्ठ भएर आफ्नो पेसामा लागेको व्यक्तिले एउटा गुन्डाको पछि लागेर त्यसलाई सिध्याउँछु भन्ने कल्पनासम्म गर्दैन ।’ खनालका अनुसार बजारमा डनका रूपमा चिनिएका सबै गुन्डालाई उनले आफ्नो जिम्मेवारीमा रहँदा आपराधिक क्रियाकलापमा संलग्न नहुन बारम्बार सम्झाएका हुन् तर सयौं व्यक्ति यी गुन्डाबाट हरेक दिन आहत भैरहेपछि उनीहरूलाई नियन्त्रण गर्न पनि प्रहरी अपरेसन चलाउनैपर्ने भएको खनाल बताउँछन् । खनाल भन्छन्– ‘जनतालाई अत्यधिक मात्रा सताउने, त्रास सिर्जना गर्ने, हप्ता असुली गर्ने गुन्डालाई केरकारका क्रममा अनुसन्धान गर्न जाँदा उसले हतियार चलाउने अनि प्रहरीले नमस्कार गरेर फर्कने काम गर्न सक्दैन । घैंटे प्रतिकारका क्रममा मारिएको हो । हाम्रो चाहना उसलाई मार्ने थिएन ।’
एक मानवअधिकारकर्मी भने प्रहरीले सुनियोजित तरिकाले घैंटेलाई सिध्याएको आरोप लगाउँछन् । राष्ट्रिय मानवअधिकार आयोगमा एक साताअघि मात्र घैंटेविरुद्ध कुनै आरोप, उजुरी वा मुद्दा नभएको तथा प्रहरीको खोजीमा समेत नरहेको भनेर पत्राचार गर्ने अनि त्यसको एक हप्ता नबित्दै इन्काउन्टरमा मारिएको बताउने प्रहरीको खेल बुझिनसक्नुको भएको उनको भनाइ छ । एक वर्षअघि चरी प्रकरणमा पनि पुलिसले नियतवश इन्काउन्टर गरेको ती अधिकारकर्मीको भनाइ छ ।
 
 
यसकारण इन्काउन्टर रहस्यमय भयो
गत वर्ष एमाले समर्थक गुन्डा मारिनु र यो वर्ष कांग्रेस समर्थक गुन्डा मारिनुले घटनालाई रहस्यमय बनाइदिएको छ । प्रारम्भमा आफूलाई कुनै जानकारी नभएको बताउने गृहमन्त्री वामदेव गौतमले पछि घैंटेलाई इन्काउन्टरमा मारेकोमा प्रहरीलाई धन्यवाद दिए । ‘कांग्रेसको हातमा गृहमन्त्रालय हुन्थ्यो भने सम्भवत: घैंटे मारिने थिएन,’ एक मानवअधिकारकर्मीले बताए– ‘यसमा केही न केही राजनीति छ ।’ कांग्रेसका नेताहरू गैरन्यायिक हत्या भनेर उफ्रिनु र गृहमन्त्रीलाई दोष दिनुका पछाडि पनि राजनैतिक तुष देखिन्छ । एमालेले प्रतिशोध लियो, –कांग्रेसका एक युवा नेता बताउँछन् । हुन त एक वर्षअघि एमालेकै गृहमन्त्री हुँदा नै दिनेश अधिकारी चरी इन्काउन्टरको सिकार भएका थिए । त्यतिबेला राजेन्द्र पाण्डे आदि एमाले नेताले चर्का कुरा गर्दै सदन अवरुद्ध गर्न खोजेका थिए । पाण्डे र गृहमन्त्री एमालेभित्र पनि फरक राजनैतिक समूहका भएकाले पनि त्यतिबेला यो विषय चर्किन खोजेको थियो । पूर्वप्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह चरी र घैंटे एक वर्षभित्र एकै समयमा मारिनुलाई संयोग मात्र मान्छन् । ‘इन्काउन्टर भन्ने कुरा पूर्वयोजनाअनुरूप र एकैपटक हुने भन्ने हुँदैन,’ शाह भन्छन्– ‘प्रहरीको पहिलो प्रयास गिरफ्तारी नै हो, प्रहरीसँगको उसको व्यवहारले इन्काउन्टरलाई निर्धारण गर्छ ।’ शाहले यसो भने पनि, गुन्डाहरूलाई बारम्बार गिरफ्तार गरे पनि राजनैतिक संरक्षणका कारण छुटिहाल्ने भएकाले प्रहरीले अन्तिम अस्त्रका रूपमा इन्काउन्टर गर्ने अपराधविज्ञहरू बताउँछन् ।
हुन त इन्काउन्टरको अन्तर्राष्ट्रिय ट्ेरन्ड हेर्दा यो जहिले पनि विवादास्पद देखिन्छ । इन्काउन्टरमा विश्व हल्लाएको भारतको प्रहरीले कुख्यात डाँका विरप्पनलाई इन्काउन्टर गर्दा होस् वा मुम्बईका डन मान्या सुर्बेलाई इन्काउन्टर गर्दा होस्, धेरै नै विवाद भएको थियो । नेपालमा पनि त्यही देखिएको छ । घैंटेले लगाएको पहिरन उनको इन्काउन्टरपछि परिवर्तन गरिएको परिवारले दाबी गरेको छ । सुरुमा टिसर्ट र हाफपाइन्टमा भएका घैंटे मृत्यु हुँदाको अवस्थामा पाइन्ट र वेस्टकोटमा देखिनुले शंका उत्पन्न गरेको छ । उनलाई पहिले नै मारेर पछि हवाई फायर गर्दै इन्काउन्टरको रूप दिइएको हुनुपर्छ भन्ने परिवारको दाबी छ ।
घैंटेलाई मारिएको घरको वातावरण हेर्दा उनको जीवनशैली सामान्यजस्तो देखिए पनि उनको व्यापारको साम्राज्य अर्बाैंको देखिन्छ । ‘क’ श्रेणीका ठेकेदार भनिएका घैंटेको मृत्युका पछाडि ठूलै आर्थिक चलखेलमा कुरा नमिल्नु प्रमुख कारण भएको एक सूत्रले बताएको छ । ‘यो राजनैतिक–आर्थिक लेनदेनको विषय हो, जसमा प्रहरीलाई पनि प्रयोग गरिएको थियो,’ मानवअधिकारको क्षेत्रमा कार्यरत उक्त सूत्र भन्छ– ‘यो डिलिङ मिलेको भए घैंटे सम्भवत: मारिँदैनथे, डिल नमिल्दा त्यही विषयलाई अपराधीकरण गरियो, अन्तत: घैंटेको सफाया नै उत्तम उपाय मानियो ।’ सूत्रका अनुसार यो लेनदेनको विषय केमा आधारित थियो भन्ने कुरा चाँडै नै सार्वजनिक हुनेछ । उच्चपदस्थ प्रहरीको कालो धन ठूला–ठूला व्यवसायमा लगानी हुन्छ भन्ने विषयमा गुन्डाहरू जानकार हुन्छन्, त्यसकारण पनि प्रहरी उनीहरूलाई सफाया गर्ने उत्तम अवसर खोजिरहेको हुन सक्छ सूत्र बताउँछ ।
नेताहरूसँगको सम्बन्धले पनि डनहरूलाई थप अप्ठ्यारोमा पुर्‍याएको छ । सरसर्ती हेर्दा राजनैतिक संरक्षणमा उनीहरू सहज रूपमा विचरण गर्न सक्ने भए पनि कतिपय विषयमा नेताहरूको सम्बन्ध नै उनीहरू समाप्त हुने आधार बनिदिन्छ । डनलाई नियन्त्रणमा लिन नसक्ने अवस्थामा नेताले नै उनीहरूलाई सिध्याइदिन्छन् । मुख्यत: चलखेल पैसाकै हुन्छ । मुलुकका सबै राजनैतिक दल, तिनका नेता तथा कार्यकताका निम्ति पैसा अति आवश्यक हुन्छ । गुन्डाले हप्ता असुलीका रूपमा उठाएको पैसा चलाउन सजिलो हुन्छ, त्यसैले उनीहरूको गुन्डासँग सम्बन्ध नजिकिएको हुन्छ । नेताहरूमा सत्तामा रहँदा मौन रहने र सत्ताबाहिर हुनेबित्तिकै चर्का कुरा गर्ने प्रवृत्ति देखिन्छ । सूत्र भन्छ– नेताहरू अब नेपालका नेताहरूले गुन्डा पाल्दा फाइदा मात्र होइन, अपजस पनि बेहोर्नुपर्छ भन्ने बुझ्नु आवश्यक छ ।
प्रहरीले पनि घैंटे प्रकरणको वास्तविकता उजागर गर्न चाहेको देखिँदैन । घैंटेको इन्काउन्टरपछाडिको मुख्य कारणका सम्बन्धमा प्रहरी प्रशासन जानकार छ । उच्च तहको ठेकेदार भनेर चिनिएको व्यक्तिको सबै आर्थिक विवरण र लगानीका बारेमा प्रहरीले अनुसन्धान गरिसकेको हुनुपर्छ । कुन लेभलको टर्न ओभर भैरहेको छ, त्यो पैसा कता जान्छ, त्यसका हिस्सेदार को–को छन् सबै कुरा प्रहरीले प्रष्ट पार्ने हो भने घैंटेको इन्काउन्टर जति रहस्यमय मानिएको छ, त्यो हँुदैनथ्यो । इन्काउन्टर गैरन्यायिक हत्या भएको भनेर मानवअधिकारकर्मीहरूले आपत्ति जनाए पनि घैंटेको वास्तविक गुन्डागर्दी र कालो धनको आधार सार्वजनिक भएको खन्डमा कोही बोल्न नसक्ने विश्लेषकहरू बताउँछन् ।
घैंटे मारिनुको अर्को कारण भनेको उसको सुध्रिन नसक्ने चरित्र नै भएको पूर्वप्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह बताउँछन् । चोर चोरेरै धनी भए पनि चोर्न छोड्दैन, घैंटेको पनि त्यही हो, उसले सामाजिक आवरणमा गुन्डागर्दी चलाइ नै रहयो, शाहले भने ।
को हुन् घैंटे ?
२०५८ सालमा गुन्डागर्दीमा संलग्न भएका कुमार श्रेष्ठले सुरुमा दीपक मनाङे र पछि मिलन चक्रे समूहमा रहेर काम गरेका थिए । नुवाकोट घर भएका घैंटेले गुन्डागर्दीका सबै कुरा बुझेपछि ०६० सालमा आफ्नै समूह तयार पारे । नुवाकोट कांग्रेसका नेताहरूको छत्रछायाँ पाएपछि उनको समूहले गति पायो । अझ ०६० सालमा झुक्किएर डिएसपी खनाललाई आक्रमण गरेपछि उनी थप चर्चित भए । निर्माण कार्य, ठेक्कापट्टा र हप्ता असुली उनका प्रमुख धन्दा थिए । महाशाखाका अनुसार घैंटेले पहिलो पटक ०६० साल साउनमा चाबहिलमा बस व्यवसायी संघको कार्यालय तोडफोड गरेका थिए । त्यतिबेला उनी सार्वजनिक अपराधमा धरौटीमा रिहा भएका थिए । घैंटे २०६२ असार १८ गते सामाखुसीस्थित भन्ज्याङ दोहोरी साँझमा कुमार मल्लमाथि कुटपिट गरेको अभियोगमा समातिएका थिए । उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । जेलबाट छुटेपछि पनि उनी सुध्रिएनन्, बरु अझ बढी अपराधमा उल्भिँmदै गए । उनी २०६३ साल असारमा फेरि समातिए । घैंटेले महानगरपालिका वडा नम्बर–१९ को सिद्धिगणेश मावि अगाडि प्रेम लामालाई धारिलो हतियार प्रहार गरेका थिए । लामा ट्याक्सीमा सवार थिए । घैंटेमाथि फेरि ज्यान मार्ने उद्योगमा मुद्दा चल्यो । त्यसपछि उनले भदौमा गोंगबुस्थित शो गर्ल रेस्टुराँअगाडि काभ्रेका विष्णु लामामाथि गोली प्रहार गरेका थिए । २०६३ कै चैतमा सामाखुसी गल्कोपाखामा सिंह थरका एक व्यक्तिलाई खुकुरी हाने र पक्राउ पनि परे । उक्त घटनामा घैंटे धरौटीमा रिहा भए । २०६५ कात्तिकमा दरबारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाइते बनाएर फरार भएपछि उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चल्यो । उक्त मुद्दामा उनलाई खोज्दै गरेको प्रहरीले लाजिम्पाटको एउटा होटलमा स्वीमिङ गरिरहेका बेला गोली हानेर घाइते बनाई घैंटेलाई पक्राउ गरेको थियो । प्रहरीले उनलाई तिघ्रामा गोली हानेको थियो । त्यो बेला उनी पेस्तोलसहित समातिएका थिए । हातहतियार मुद्दा र पुरानो ज्यान मार्ने उद्योगमा पक्राउ परेका घंैटे त्यतिबेला पनि रिहा भए ।
 
रियल डन हामी हो
सर्वेन्द्र खनाल एसएसपी
इन्काउन्टर गरेर हिरो बन्न खोज्नुभयो भन्ने आरोप छ नि ?
यो विषयलाई अतिरन्जित बनाउन खोजिएको मात्र हो । घैंटेको आपराधिक क्रियाकलापका कारण सयौं मानिस रोएर बसेका छन् । धेरै पीडितले मलाई राम्रो काम गर्नुभयो भन्नुभएको छ । समाजसेवाको खोलमा उसले मच्चाएको बर्बर आतंक टुलुटुलु हेरेर बस्ने त ? अनुसन्धानका क्रममा केरकार गर्दा हतियार उठाएपछि हामीले चाहिँ तपाईंलाई राजनैतिक संरक्षण प्राप्त छ भनेर नमस्ते गर्नु ? डिसिप्लेन इन्चार्ज राख्ने भनेर हरेक संस्थामा आफ्ना मान्छे भर्ति गर्ने र पैसा असुल्ने काम बढिरहेको थियो । मानिसहरूलाई दुख दिएर हप्ता असुली गर्ने अनि समाजसेवामा त्यो पैसा खर्च गर्‍यो भनेर उसलाई समाजसेवी भन्नुपर्ने । हामी गिरफ्तार गर्न गएका हौं, तर उसले फायरिङ खोलेपछि जवाफी कारबाहीमा मारियो ।
जनकपुरमा ५ वटा इन्काउन्टर गरेर आएको जोशमा इन्काउन्टरलाई प्राथमिकता दिँदै हुनुहुन्छ रे ?
म कर्तव्यनिष्ठ प्रहरीका रूपमा पेसा निर्वाह गर्दै आएको व्यक्ति हुँ । म माथि कसैले औंला ठड्याउँछ भने प्रमाण जुटाओस् म त्यसको सामना गर्न तयार छु तर सामाजिक खोल ओढेर गुन्डागर्दी गर्ने टोले गुन्डालाई केही नगरि बस्नुहोस् भन्दा चुप लाग्न सकिँदैन । यहाँ दुनियाँ मरेका छन्, एउटा घटनामा प्रहरीका एसएसपी मारिए, कोही बोल्दैनन्, गुन्डा मर्दा हल्ला र संरक्षणका कुरा आउँछन् । घैंटसँगको जवाफी कारवाहीमा प्रहरीतर्फ ३ जना घाइते भएका छन् ।
गैरन्यायिक हत्याको सट्टा कानुनी उपचार उपयुक्त होइन र ?
मैले डिएसपी हुँदादेखि नै उनीहरूलाई गिरफ्तार गर्ने, कानुनी कारबाही गर्ने, सम्झाउने सबै काम गर्दै आएको छु । मेरो लक्ष्य समाजमा हुने अपराधिक क्रियाकलाप निर्मुल गर्ने हो । पछि एसपी हँुदा संविधानसभाको निर्वाचनताका पनि गुन्डागर्दी नियन्त्रणका निम्ति काम गरे । मेरो धारणा गैरन्यायिक हत्या हुनुपर्छ भन्ने होइन्, गुन्डाले हतियार खोलेपछि प्रहरीले के गर्ने भन्ने प्रश्न मात्र हो ? घैंटे इन्काउन्टरमा मारिएपछि त्यसलाई प्रतिशोध लिएको भन्ने जस्ता कुरा आएछन्, अत्यन्तै लाजमर्दो कुरा हो यो ।
नेपालमा डनहरूको नेक्सस गतिलो देखिएको छ, यसलाई नियन्त्रण गर्न कत्तिको सजिलो छ त ?
डन भन्ने शब्द सकारात्मक रूपमा पनि बुझिन्छ, यसअर्थमा ति टोले गुन्डालाई डन नभनेकै राम्रो । सकारात्मक रुपमा बुझ्ने हो भनें समाजका डन हामी हौं, जसले बिनास्वार्थ आम नागरिकको सुरक्षाको जिम्मेवारी लिएका हुन्छौं । होटल, हस्पिटल, स्कुल, कलेज, ट्राभल र तरकारी बजारमा समेत जर्बजस्ती पैसा उठाउनेहरूलाई डन भन्ने ? प्रहरी यस्ता गुन्डालाई तह लगाउन सक्षम छ तर त्यसका लागि सबैको सहयोगचाहिँ आवश्यक हुन्छ ।
 
घैंटे र राजनीति

‘भूकम्पपछिको नयाँ जीवन । नयाँ सोच, नयाँ जोसका साथ अब बाँकी भएको जिन्दगी, यो मेरो देशका लागि,’ घैंटेले केही अघि फेसबुक स्टाटस लेखेका थिए । एक वर्षअघि अपराध महाशाखामा वरिष्ठ प्रहरी उपरीक्षक पुष्कर कार्की हुँदा एमाले निकट अर्का गुन्डा चरी भनिने दिनेश अधिकारी इन्काउन्टरमा मारिएका थिए । चरीपछि प्रहरी इन्काउन्टरको सूचीमा अरू गुन्डासमेत रहेको खबर फैलिएसँगै घैंटे भागेर मलेसिया पुगेका थिए । लामो समय मलेसिया बसेर उनी भारतमा कंग्रेस आईका स्थानीय नेताको संरक्षणमा केही समय बसेपछि सुरक्षित महसुस गर्दै नेपाल आएका थिए । भूकम्पपछि बदलिएको राजनैतिक–सामाजिक परिवेशमा उनले आफूलाई सुरक्षित मानेका थिए ।
रोचक कुरा त के भने वैशाख १२ को भूकम्पपछि भूकम्पपीडितलाई सहयोग गर्न नेपाली कांग्रेसले बनाएको संयन्त्रमा उनी उपसंयोजक थिए । बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले घैंटेलगायतलाई जिम्मेवारी सुम्पिएर पठाएका थिए । घैंटे कांग्रेसको खेलकुद विभागको भूकम्पपीडित सहयोग स्वयंसेवक टोलीको उपसंयोजक भएर भूकम्प प्रभावित स्थलमा गएका थिए ।
एकातर्फ गुन्डागर्दी गरेर, मानिसहरू तर्साएर पैसा उठाउने अनि अर्कातर्फ समाजसेवाको खोल ओढ्ने गर्ने ? खनालले भने– ‘मानिसहरू यति आक्रान्त भैसकेका थिए, घैंटेलाई पैसा नदिऊँ ज्यान मार्ला भन्ने डर थियो, उसलाई प्राप्त उच्च राजनैतिक संरक्षणका आधारमा उसका आपराधिक क्रियाकलापमा प्रहरी आँखा चिम्लिएर बस्न सक्ने स्थिति थिएन ।’
एसएलसी उत्तीर्ण भएका विद्यार्थीको सम्मानमा घैंटेद्वारा आयोजित एक कार्यक्रम शिक्षामन्त्री चित्रलेखा यादव प्रमुख अतिथिका रूपमा निम्त्याइएकी थिइन् । घैंटेको पक्षमा कांग्रेस नेताहरू अर्जुननरसिंह केसी, जगदीशनरसिंह केसी, भीमसेनदास प्रधान, गगन थापा आदि देखिनुले पनि उनी बलियो राजनैतिक संरक्षणमा थिए भन्ने बुझिन्छ । डिभिजन–४ तथा दक्षिण अमेरिकी देश बर्मुडामा सम्पन्न डिभिजन–३ को छनौट पार गरेको नेपाली क्रिकेट टिमलाई सम्मान गर्न नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई भव्य बनाउन पार्टीका खेलकुद प्रमुख धनराज गुरुङले घैंटेको सहारा लिएपछि त्यसको आलोचना पनि भएको थियो ।
प्रहरीले अनुशासन पालना गर्नुपर्छ
मोहना अन्सारी
सदस्य राष्ट्रिय मानवअधिकार आयोग
घैंटे मारिएको विषयमा आयोगमा उजुरी परेको छ, के भन्नुहुन्छ ?
यो गैरन्यायिक हत्या हो, घैंटेले ज्यान सुरक्षा पाउँm भनेर आवेदन दिएपछि प्रहरीसँग आयोगले पत्राचार गरेर बुझेको पनि हो । एक हप्ता अघि कुनै चार्जसिट नभएको भन्ने अनि पछि इन्काउन्टरमा मारिने विरोधाभास कुरा छन् । यस विषयमा आयोगको एउटा टिम अनुसन्धानरत छ, विस्तृत कुरा प्रतिवेदन आएपछि थाहा हुनेछ ।
 
इन्काउन्टरको प्राक्टिसका सम्बन्धमा के भन्नुहुन्छ ?
पहिलो कुरा जिम्मेवार तहमा रहेका सबै व्यक्ति एवं संस्था अनुशासित रहनुपर्छ । प्रहरीले पनि त्यो अनुशासन पालना गर्नुपर्छ । हाम्रो समाजमा अपराधीकरणको त्यति धेरै विकास भैसकेको छैन, जसका कारण गैरन्यायिक हत्याको पक्षपोषण गर्नुपरोस् । अहिलेको समयमा कसैले अपराधीका बारेमा बोल्न नसक्ने भन्ने पनि छैन् । सबै खुल्न सक्नुपर्छ । आयोग पनि त्यसलाई सहयोग गर्न तयार छ तर लहरो तान्दा पहरो थर्किन्छ भनेर मानिस मार्ने काम बन्द गरौं । इन्काउन्टरको अभ्यास गर्नुपुर्व आयोगले नै यि व्यक्ति दोषी हुन् यिनलाई कानुनी कारबाही गर्नुपर्छ भनेर सिफारिश गर्दा पनि प्रहरी प्रशासन मौन हुनुको कारण हामीले बुझेका छैनौं । केही कारण हुनुपर्छ जसका कारण प्रहरी प्रशासन मूल कुरा लुकाइरहेको छ ।
एक वर्षअघि चरिको केस र अहिलेको घैंटेको केसको प्रकृति उस्तै देखिन्छ, आयोगले अहिलेसम्म चरि प्रकरणमा कुनै धारणा व्यक्त गरेको छैन नि ?
दिनेश अधिकारी चरिको इन्काउन्टरपछि उजुरी आएको हो । पहिले नै मारेर इन्काउन्टर भनिएको भन्ने देखि पहिरन परिवर्तनसम्मका कुरा मिलेका छन् । अब यी दुवै केसलाई लिंकअप गरेर अनुसन्धान हुँदैछ । यस विषयमा हामी आफ्नो कुरा प्रष्ट पार्नेछौं ।
प्रकाशित: भाद्र ११, २०७२

यस कथामा थप


इन्काउन्टरका निम्ति छिमेकी मुलुक भारत विश्वमै अग्रपंक्तिमा छ । नेपालको अर्को छिमेकी मुलुक चीनमा फाँसीको सजाय भएकाले तुलनात्मक रूपमा कम इन्काउन्टर हुन्छ। विकसित मुलुकहरूमा पनि इन्काउन्टरको ट्ेरन्ड उत्तिकै छ ।
भारतमा सन् १९८२ जनवरी ११ मा मारिएका मुम्बईका चर्चित डन मान्या (मनोहर) सुर्बेमाथि पहिलो प्रहरी इन्काउन्टर भएको मानिन्छ । यद्यपि हालै एक प्रतिवेदनले सन् १९८० अक्टोबर १४ मै लुइस जोसेफ डिसुजालाई इन्काउन्टर गरिएको देखाएको छ । भारतमा इन्काउन्टरको प्रभाव कतिसम्म छ भने ८० को उत्तरार्ध र ९० को दशकमा बनेका थुप्रै हिन्दी चलचित्रमा इन्काउन्टरका दृश्य देख्न सकिन्थ्यो । पछि आएर इन्काउन्टरमा मारिएका डनहरूको विषयमा नै चलचित्र बने । सुटआउट एट बडाला मुम्बई डन मान्या सुर्वेमा आधारित चलचित्र थियो, जसमा मान्याको भूमिका अभिनेता जोन अब्राहमले निर्वाह गरेका थिए । हप्ता असुली र ग्यांगस्टरमा चर्चा कमाएका मान्याले २२ जनाको बलात्कार गरेको आरोप थियो । हरेक बलात्कारको केसमा उनी सहजै तारेखमा छुट्थे, दबाबका कारण गुन्डालाई लामो समय जेलमा राख्न नसक्ने भएपछि पुलिस मान्यालाई इन्काउन्टर गर्ने निष्कर्षमा पुगेको थियो ।
इन्काउन्टर गर्ने पुलिस अफिसरको चर्चा पनि उत्तिकै हुन्छ । मुम्बई पुलिसका सब इन्स्पेक्टर दयानायकको चरित्रमा चलचित्र आधारित अबतक छप्पन पनि चर्चामा रह्यो । दुईवटा सिक्वेलमा बनेको अबतक छप्पनको पहिलो संस्करण ब्लकबस्टर हिट बन्यो । साधु आगासे बनेका नानाको जर्बजस्त अभिनयले पनि यो चलचित्रलाई सफल तुल्याएको थियो । त्यसो त दयानायकको चरित्रमा अन्य चलचित्र पनि बनेका छन् । इन्काउन्टर द किलिङ, खाकी, सुटआउट एट लोखन्डवाला, डिपार्टमेन्ट, शार्गिद, रेज, रिक्स, म्याक्सिमम, तमिल चलचित्र काखा–काखा आदि इन्काउन्टरकै बेसमा बनेका सफल चलचित्र हुन् ।
मान्या सुर्बेको इन्काउन्टर पछि मुम्बई पुलिसले संदिग्ध अपराधी मार्ने समूह डिटेक्सन युनिट नै खडा गर्‍यो । मानव अधिकार उल्लंघन, निर्दोषको हत्या तथा आपराधिक ग्याङसँगै पैसा लिएर प्रतिस्पर्धी ग्याङका सदस्य मारेको भनेर बदनाम भएपछि सन् २००६ मा यसको विघटन भयो । त्यतिबेलासम्म डिटेक्सन युनिटले १ हजार २ सयभन्दा बढी इन्काउन्टर गरिसकेको थियो । भारतका केही चर्चित इन्काउन्टर स्पेसलिस्टको सूची विकिपिडियामा उपलब्ध छ जसअनुसार इन्सपेक्टर प्रदीप शर्माको नाममा १ सय ४, सब इन्सपेक्टर दयानायकको नाममा ८३, इन्सपेक्टर प्रफुल भोसले ७७, इन्सपेक्टर रवीन्द्रनाथ आङ्ग्रे ५४, एसिस्टेन्ट इन्स्पेक्टर सचिन वेज ६३, इन्स्पेक्टर विजय सालस्करले ६१ जनालाई इन्काउन्टरमा सिध्याएका छन् । प्रहरी र अपराधीबीचको दोहोरो मुठभेड इन्काउन्टर भए पनि प्रहरीले अपराधी पक्रिएर इन्काउन्टरका नाममा सिध्याउने खेल बढेपछि भारतमा त्यसको विरोध भयो ।
महाराष्ट्रका अतिरिक्त गुजरात तथा पन्जाबमा पनि इन्काउन्टर केस बढे । इन्काउन्टरका नाममा गैरन्यायिक हत्या बढेपछि अहिले भने यसको स्वरूपमा केही परिवर्तन गरिएको छ तर भारतमा इन्काउन्टरका घटना चलिरहेकै छन् ।
गैरन्यायिक हत्या गरेका कारण बदनाम हुनुपर्नेमा भारतका इन्काउन्टर स्पेसलिस्टहरूका क्रियाकलापमा चलचित्र बने । चलचित्रका इन्काउन्टर स्पेसलिस्ट हिरो भए । उनीहरूलाई मिडियामा पनि हिरो बनाइयो । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी यसको प्रभाव नेपालमा पनि परेको बताउँछिन् । कतै प्रहरी अफिसरहरू हिरो हुने नाममा त इन्काउन्टरतर्फ अग्रसर भैरहेका त होइनन् भन्ने शंका पनि उत्पन्न भएको छ ।
मुम्बईको डिटेक्सन युनिटले सुरुमा इमान्दारीपूर्वक काम गरे पनि १९९३ को बम विस्फोट पछि दाउद इब्राहिमको समूहबाट छोटा राजन ग्याङ अलग्गियो । उनीहरू हिन्दू मुस्लिम ग्याङका रुपमा छुट्टिए । त्यसपछि युनिटका सदस्यहरू प्रतिस्पर्धी ग्याङको पैसा खाएर धमाधम इन्काउन्टरमा अग्रसर भएका थिए ।
कानुनी रूपमा हेर्दा भारत र बंगलादेशमा कारबाहीका क्रममा प्रहरीलाई गोली हान्न सक्ने अधिकार छ । त्यही प्रावधानलाई आधार बनाएर इन्काउन्टर अभियान प्रारम्भ भएको थियो । नेपालमा त्यस्तो कानुन छैन् । मुलुकी ऐनको ज्यान मार्ने महलमा सुरक्षाकर्मीलाई आफ्नो ज्यान जोखिममा पर्दा आत्मरक्षाका लागि मार्न पाउने सुविधा छ । नेपालको हकमा इन्काउन्टरको केसमा प्रहरी दन्डित हुनसक्छ । त्यसैले भोलि कर्तव्यनिष्ठ प्रहरी अधिकारी छानबिनका क्रममा बलिको बोको बन्न सक्ने कानुनविद्हरू बताउँछन् ।
अमेरिकामा इन्काउन्टरका केही सफल केस छन् तर जापान र इटालीमा फैलिएको माफियागिरी इन्काउन्टरमार्फत नियन्त्रण गर्न खोज्दा त्यहाँको प्रहरी प्रशासन असफल भएको थियो । याकुजाको अपराध कर्म इन्काउन्टर पछि पनि नियन्त्रण हुन नसकेको त्यसको एउटा उदाहरण हो । एक विज्ञका अनुसार सरकार कडा रूपमा प्रस्तुत भएपछि उनीहरू पनि अत्यन्तै गोप्य तरिकाले आफ्नो सञ्जाल सञ्चालन गर्छन्, जुन बढी खर्चिलो हुन्छ र त्यो खर्च उठाउन उनीहरूले अपराधकर्मको शुल्क थप बढाउँछन् ।
भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहमाथि पनि दुईवटा गैरन्यायिक हत्याका आरोप छन् । गुजरातको गृहमन्त्री रहँदा शाहले दिएको आदेशका कारण इन्काउन्टर भएको आरोप छ । इन्काउन्टर गर्ने प्रहरीहरू पनि भारतीय कानुनको सिकार भए । इन्सपेक्टर प्रदीप शर्मा, प्रफुल भोसले, सचिन वेज अभियुक्त बन्न पुगे । यस्तै बिजय सालस्करको सन् २००८ मा ताज होटलमा आतंककारीको आक्रमणमा मृत्यु भयो । इन्काउन्टरमा रहने प्रहरी अधिकारीहरू आफैं पनि सुरक्षित नरहने अन्सारी बताउँछिन् ।
भारतका कुख्यात डाँका विरप्पनको इन्काउन्टर पनि उत्तिकै विवादास्पद रहयो । भनिन्छ, विरप्पनले २ हजार हात्ती मारेका थिए । ७० वटा अपराधिक क्रियाकलाप, ४० व्यक्तिको हत्या, अनेकौं अपहरण जस्ता थुप्रै विषयमा उनी आरोपी थिए । विरप्पनले वन अधिकारी तथा प्रहरीहरूलाई मारेका थिए । आफ्नी बहिनी मारी तथा भाइ अर्जुनको हत्याको जिम्मेवार प्रहरी प्रशासन भएको भन्दै उनले धेरैको हत्या गरेका थिए । सन् २००४ इन्काउन्टरमा मारिएपछि विरप्पनका केही गोप्य कुरा खुलासा भएका थिए । उनले प्रशिक्षित गरेका कुकुर र बाँदरले विरप्पन हत्याका सम्बन्धमा साक्षीका रूपमा बयान दिएका थिए । विरप्पनकी श्रीमतीका अनुसार उनलाई केही दिनअघि गिरफ्तार गरेर मारिएको थियो । विरप्पनले प्रहरीलाई यदि कुनै विषयमा आफूलाई फसाइए हरेक प्रहरी अधिकृतको इमान्दारितामा औंला उठाउन सक्ने भनेर चेतावनी दिएका कारण उनको हत्या गरिएको बताइन्छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/