काठमाडौं- ट्वान्टी–२० विश्वकप छनोटको तयारीका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार मैत्रीपूर्ण खेलमा हिमाञ्चल प्रदेशलाई ५ विकेटले हराएको छ। धर्मशाला क्रिकेट मैदानमा भएको ट्वान्टी–२० खेलमा १ सय ४४ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाएर प्राप्त गरेको थियो। ओपनर सुवास खकुरले र सागर पुनले पहिलो विकेटका लागि ५४ रनको साझेदारीका साथ नेपाललाई बलियो आधार दिलाएका थिए। त्यस्तै शरद भेषावकर र प्रदीप ऐरीले छैटौं विकेटका लागि ४७ रनको साझेदारी गरेपछि नेपालले प्रशिक्षणका दौरान भएको पहिलो मैत्रीपूर्ण खेल जितेको हो।
विकेट किपर समेत रहेका सुवासले २७ बलमा ५ चौकासहित सर्वाधिक २९ रन जोडे। अर्का ओपन सागरले २९ बलमा २३ रन बनाए। उनले ३ चौका प्रहार गरे। नेपाल विजयी हुँदा प्रदीप २३ र शरद १७ रनमा अविजित थिए। शरथले १३ बलमा १ छक्का र १ छक्का प्रहार गरे। १२ बल खेलेका प्रदीपले ३ चौका प्रहार गरे।
टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ले २१ बलमा १ चौकासहित १९ रन जोडे। हिमाञ्चलका आकाश शर्माले ज्ञानेन्द्रको सहित ३ विकेट लिए। उनले कप्तान पारस खड्का र विनोद भण्डारीको पनि विकेट लिएका थिए। पारस र विनोदले समान ७ रन बनाए।
त्यसअघि नेपालले टस जितेर हिमाञ्चललाई ब्याटिङ गर्न निम्तो दिएको थियो। हिमाञ्चलले ७ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो। टोलीका लागि सर्वाधिक ५४ रन बनाउने राघव धवनको सहित नेपाली अनुभवी स्पिनर बसन्त रेग्मीले ३ विकेट लिएका थिए। बसन्तले ४ ओभरमा २७ रन खर्चे। हिमाञ्चलका लागि दोस्रो सर्वाधिक रन बनाउने अभिमन्यु राना (२१) र तेस्रो सर्वाधिक रन बनाउने नकुल राज (२०) को विकेट पनि बसन्तले नै लिएका थिए। नेपाली बलरमा सोमपाल कामी सबैभन्दा किफायती रहे। ४ ओभरमा उनले १ मेडनसहित १२ रन खर्चेर १ विकेट लिए। अर्को विकेट जीतेन्द्र मुखियाले लिए। हिमाञ्चलका दुई खेलाडी रन आउट भएका थिए। टोलीका लागि अमित कुमारले १९, अमित ठाकुरले १२ रन बनाए भने बाँकी कुनै पनि खेलाडीले रन दोहोरो आँकडामा रन बटुल्न सकेनन्।
Source nagariknews.com