Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

कतारको श्रम कानुनमा सुधार : के-के फेरिए ?

जेठ १, काठमाडौँ । पश्चिमा मुलुकहरुको ब्यापक दबाबपछि कतारले श्रम कानुनलाई केही खुकुलो बनाउने तयारी गरेको छ । यसबाट त्यहाँ कार्यरत करिव ४ लाख नेपाली श्रमिकहरु लाभान्वित हुनेछन् ।
 
बुधबार दोहामा आयोजित पत्रकार सम्मेलनमा श्रम तथा आन्तरिक मन्त्रालयका बरिष्ठ अधिकारीहरुले प्रस्तावित सुधारका केही अंशबारे जानकारी दिएका छन् । सवैभन्दा बिबादित बनेको स्पोन्सरसीप (काफाला) र एक्जिट भिषा प्रणालीलाई खुकुलो बनाउने कतारले घोषणा गरेको छ । सरकारी अधिकारीले दिएको जानकारीलाई आधार मान्ने हो कतारले यी दुवै प्रणाली खारेज गरेको नभई सामान्य सुधार गरी यसको मर्मलाई बाँकी नै राखेको देखिन्छ ।
एक्जिट भिषा
नयाँ प्राबधानअनुसार स्पोन्सरसीपको सट्टा रोजगारदाता र कामदारवीच भएको सम्झौतापत्रलाई बैधानिकता दिइने छ भने एक्जिट भिषा दिने अख्तियारी आन्तरिक (गृह) मन्त्रालयलाई दिइएको छ । सम्झौतापत्रको समय सकिएपछि बिदेशी कामदारले आफु मुलुक फर्किनुभन्दा ७२ घण्टा पहिले आन्तरिक मन्त्रालयमा निबेदन दिन सक्नेछन् । मन्त्रालयको स्वचालित प्रणालीले त्यस्ता कामदारलाई स्वतः एक्जिट भिषा दिने छ ।
तर, आर्थिक अनियमितता वा अपराध गरेको खण्डमा त्यस्ता कामदारलाई रोक्ने अधिकार भने रोजगारदातासँग हुने छ । रोजगारदाताले कामदारलाई रोक्न दिएको निबेदनमाथि मन्त्रालयले जाँच गर्ने छ । एक्जिट भिसाको प्रावधान हटेपछि कतारमा कार्यरत कामदारले कम्तिमा दुई वर्षको करारअवधि सकिएपछि नेपाल फर्केर दुई वर्षसम्म बसेरमात्र पुनः जान पाउने प्रावधानको पनि अन्त्य भएको दोहा न्यूजले जनाएको छ ।
रोजगारदाता परिवर्तन
रोजगारदाता परिवर्तनका सवालमा खासै ठूलो परिवर्तन गरिएको छैन् । सम्झौतापत्रमा उल्लेखित मितिसम्म कामदारले काम गर्नैपर्ने हुन्छ । सो अबधि सकिएपछि नयाँ रोजगारदाता खोज्न अब मालिकको अनुमति कुर्नुपर्दैन् । सम्झौताको अबधि नतोकिएका कामदारको हकमा सम्झौतावाला मालिककहाँ कम्तीमा ५ बर्षसम्म काम गर्नुपर्ने हुन्छ । त्यसअघि नै परिवर्तन गर्न चाहेमा मालिकको अनुमति अनिवार्य नै हुने छ ।
सन् २०२२ मा बिश्वकप आयोजना गर्न लागेको कतारले पश्चिमा मुलुकहरुको ब्यापक दबाबपछि यस्तो परिवर्तन गर्न लागेको हो ।बुधबार दोहामा पत्रकार सम्मेलन गरी श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र आन्तरिक मन्त्रालयका अधिकारीहरुले सुधार योजनाबारे जानकारी दिएका छन् । नयाँ बन्न लागेको कानुन कहिलेदेखि लागू हुने भन्नेबारे उनीहरुले केही बताएका छैनन् ।
कामदारसँगको सम्झौताका लागि एउटा नमुना बनाई सवै रोजगारदातालाई उपलब्ध गराइने छ । कामदारले तलव पाएको सुनिश्चित गर्न रोजगारदाताले कामदारको खातामै तलव डिपोजिट गर्न अनिवार्य गरिएको छ । कामदार बस्ने होष्टलका लागि नयाँ मापदण्ड बनाइएको छ ।पत्रकार सम्मेलनमा जनाइएअनुसार अब बिदेशी कामदारले आफुले रोजगारदाता परिवर्तन गर्न वा स्वदेश फर्किन चाहेको खण्डमा सम्झौतापत्रमा उल्लेखित रोजगारदाताले अनिवार्यरुपमा अनुमति दिनुपर्ने छ ।
घरेलु कामदार पनि समेटिने
हालसम्म घरेलु कामदारका लागि श्रम कानुन नलाग्ने गरेकोमा नयाँ प्रस्तावित कानुन घरेलु कामदारको हकमा पनि लागू हुने बताइएको छ । कतारमा हजारौंको संख्यामा नेपाली महिलाहरु घरेलु कामदारका रुपमा कार्यरत छन् । उनीहरुमाथि आर्थिक र शारिरिक शोषण हुने गरेका छन भने कतिपयले रोजगारदाताकहाँ ज्यानै गुमाउनु परेको छ ।
नाममात्रको सुधारः एम्नेष्टी
खाडी मुलुकमा रहेका बिदेशी कामदारको मानवअधिकारको पैरवी गर्दै आएको एम्नेष्टी इन्टरनेशनलले भने कतार सरकारको घोषाणालाई नाम मात्रको सुधार भनेको छ । ’सरकारले स्पोन्सरसीपको ब्यबस्था हटाउन लागेको दावी गरिरहेको छ तर त्यसको नाममात्र परिवर्तन गरेको तर अन्र्तयमा शोषणका संयन्त्रलाई कायमै राखेको देखिएको छ ।’ खाडी क्षेत्रमा आप्रवासी कामदारका अधिकारबारे समूह अनुसन्धानकर्ता जेम्स लिन्चले भने ।
एक्जिट भिषाको प्राबधानमा के परिवर्तन गरियो भन्ने कुरा अझै स्पष्ट नभएको भन्दै उनले भने-’कुनै न कुनै रुपमा अझै पनि कामदारलाई फर्किन नदिने अधिकार रोजगारदातामा राखिएको देखिएको छ ।’ स्पोन्सरसीप सिष्टमको नाम परिवर्तन गरेर कस्मेटिक परिवर्तन गर्नुभन्दा कतार सरकारले साँच्चिकै परितर्वनका लागि अग्रसरता देखाउनुपर्ने उनले बताए ।
ठूलो राहत मिल्छः ब्यबसायी
तर, बैदेशिक रोजगार ब्यबसायीले भने कतारको प्रस्तावित नयाँ नियमले नेपाली कामदारलाई ठूलो राहत मिल्ने बताए । ’नयाँ नियमले नेपाली कामदारलाई ठूलो राहत मिल्नेछ, दुईवर्षे करार सकिएपछि नेपाल नै फर्किनुपर्ने बाध्यता अन्त्य भएको छ’, बैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव कमल तामाङले अनलाइनखबरसँग भने, ‘करार अवधि सकिएपछि राम्रो काम पाएमा पहिलो कम्पनीबाट दोस्रो कम्पनीमा जान कामदारलाई बाटो खुलेको छ, यो नियमले नेपालीले कतारमा राम्रो काममा बढी अवसर पाउने छन् ।’
ब्यक्तिगत स्पोन्सरको सट्टा अब सम्झौतापत्र लागू हुने भएकाले कामदारलाई राहत हुने तामाङले दावी गरे । ‘स्पोन्सरसिप भिसामा गएका नेपालीले कतारमा सबैभन्दा बढी दुःख पाएका हुन्, कम्पनीको कामको भिसा पठाएर बगैँचा र घरभित्रको काममा तलबै नदिई लगाइँदा धेरै नेपाली ठगिएका छन्’, महासचिव तामाङले भने, ‘अब संस्थागत रुपमा मात्रै कामदार पठाउन पाइने भएकाले कतारमा नेपालीले बेरोजगार हुनुपर्ने र तलब नपाई खाली हात र्फकनुपर्ने बाध्यता बन्द हुनेछ ।’
कतारबाट आउने व्यक्तिगत स्पोन्सरसिप भिसालाई पनि मान्यता दिँदै नेपाल सरकारले श्रमस्वीकृति दिँदै आएको थियो । ‘नयाँ प्रावधानले वैदेशिक रोजगार कम्पनीमाथि लाग्दै आएको ठगीको आरोप पनि कम हुनेछ, संस्थागतरुपमा गएका कामदार ठगिएका छैनन्’, महासचिव तामाङले भने, ‘स्पोन्सरसिप भिसामा कतार गएका धेरै नेपाली नारकीय जीवन जिउन बाध्य थिए, अब त्यो अन्त्य हुनेछ ।’कतार सरकारको यो निर्णयपछि अब भने वैदेशिक रोजगार कम्पनीमा आउने मागका आधारमामात्रै संस्थागत बाटोबाट रोजगारीका लागि कतार जान पाइने तामाङले बताए।
समाचार news.bluzog.com बाट
Ą
https://www.flickr.com/photos/spklg/15211044551/